अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भएपछि संसारभरिको शेयर बजारमा गिरावट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संसारभरिका ठूला शेयर बजार तथा अमेरिकी स्टक फ्युचर्समा गिरावट आएको छ।
सीएनएनका अनुसार, डाव फ्युचर्स ३७० अंक (१.३ प्रतिशत) ले खस्किएको छ। राष्ट्रपति ट्रम्पले आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्विट गरेपछि डाव फ्युचर्स परिसूचक ४५० अंकले तल झरेको थियो। त्यस्तै, एसएण्डपी ५०० फ्युचर्स परिसूचक १.३ प्रतिशतले ओरालो झरेको थियो। त्यस्तै, अर्को बजार परिसूचक नास्डाक १.६ प्रतिशतले घटेको थियो।
सीएनएनका अनुसार, राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको खबरको असर एशियाका शेयर बजारहरुमा पनि परेको छ। जापानको निक्केई २२५ परिसूचक ०.७ प्रतिशतले घटेको छ। त्यस्तै, अष्ट्रेलियाको एसएण्डपी/एएसएक्स २०० परिसूचक १.४ प्रतिशलते घटेको छ। सार्वजनिक विदाका कारण हङकङ, चीन, दक्षिण कोरियाका शेयर बजार भने बन्द छन्।
त्यसैगरी, युरोपिन शेयर बजार पनि घटेर शुरु भएका छन्। बेलायतको एफटीएसई १०० परिसूचक ०.७ प्रतिशतले घटेको छ। जर्मनको डीएक्स पनि १.१ प्रतिशतले घटेको छ।
त्यस्तै, कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ। अमेरिकाको कच्चा तेलको फर्युचर २.८ प्रतिशतले घटेर प्रति ब्यारेल ३७.६२ डलरमा ओर्लिएको छ। तेलको बेन्चमार्क मानिने ब्रेन्टको मूल्य २.८ प्रतिशत घटेर ३९.७९ प्रतिब्यारेलमा झरेको छ।
राष्ट्रपति ट्रम्पको स्वास्थले निम्त्याउने अन्यौलताको असर लगानीकर्तालाई परेकाले संसारभरिको शेयर बजार ओरालो लागेको बताइएको छ।