राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रदेश-५ सरकारको निर्णय, प्रदेश सभामा प्रस्ताव पेश
प्रदेश-५ को राजधानी दाङको भालुवाङमा बनाउने प्रदेश सरकारले निर्णय गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको हो।
दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्रलाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले बताए।
सरकारले गरेको निर्णयानुसार आन्तरिक मामिला तथा कानूनमन्त्री केसीले शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पेश गरेका छन्। प्रदेश सभाको छैटाैं अधिवेशनको २९औँ बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश भएको हो।
उक्त प्रस्तावमा प्रदेश सभाको अर्को बैठकमा छलफल हुने भएको छ। सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको अर्को बैठक आउँदो १९ असोज दिउँसो १२ बजे बस्नेगरी आजलाई स्थगित गरेका छन्।
केही सांसदले सरकारले एकलौटी निर्णय गरेर पेश गरेको भन्दै विरोध जनाएका थिए। तर, सभामुख घर्तीले अर्को बैठक बस्नुभन्दा एक घण्टा अगावै प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव पेश गर्न भन्दै छलफल अघि बढाएनन्।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललबीच भालुवाङमा राजधानी बनाउन सहमति जुटेको थियो। उनीहरूले लिखितरूपमा नै प्रदेश सरकारलाई भालुवाङ राधानी बनाउन निर्देशन दिएको बताइएको छ।
केही समय पहिले प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले नाम र राजधानीको विषय टुंग्याइदिन नेकपाको शीर्ष नेतृत्वलाई आग्रह गरेका थिए। बागमती प्रदेशको नाम र राजधानीका विषयमा पनि नेपाको केन्द्रीय सचिवालय बैठकले नै निर्णय गरेको थियो।
देशका सात प्रदेशमध्ये प्रदेश-१, २ र ५ ले राजधानी र नाम टुंगाे लगाउन बाँकी छ।