६ महीनापछि अनुमति पाउँदा पनि उडेन सौर्य एअरलाइन्स
कोभिड-१९ का कारण थलिएका वायुसेवा सरकारले अनुमति नदिँदासम्म कहिले उडान गर्ने भनेर हतारिए। सरकारले अनुमति दिएपछि प्राय: सबै कम्पनीले उडान थालेपनि सौर्य एअरले भने भएकै जहाज तयार गर्न सकेन। १० दिन उडान गरेको सिम्रिक एअरले पनि अर्को १० दिनलाई जहाज ग्राउन्डेड गर्दा आन्तरिक वायुसेवामा दुईवटा कम्पनीको उडान अहिले ठप्प छ।
कोभिड-१९ का कारण थलिएको वायुसेवा कम्पनी कहिले सरकारले अनुमति दिन्छ र उडान गरौंला भनेर बसेको थिए। ११ चैतदेखि उडान गर्न नपाएका आन्तरिक वायुसेवालाई सरकारले ५ असोजदेखि उडान अनुमित दियो।
सरकारले पहिलो चरणमा बन्दाबन्दी अगाडिको तुलनामा २५ प्रतिशत मात्रै उडान खुला गर्दा सौर्य एअरको भागमा दैनिक एउटा उडान परेको थियो।
बन्दाबन्दीकै बीचमा एक जहाज थप गरेर तीनवटा पुर्याएको सौर्य एअर भने सरकारले स्वीकृति दिएको दैनिक एक उडान गर्न पनि तयार भएन। सरकारले १५ असोजदेखि आन्तरिक वायुसेवको उडान तालिका ५० प्रतिशतसम्म स्वीकृति दियो। यो उडानमा सौर्यले एउटै पनि अनुमति लिएन।
‘‘उडान तालिका स्वीकृत गराएर राखिएको छ। आवश्यक प्रकृया पनि पूरा गरेका छाैं तर, जहाज नै तयार नभएका कारण उडान गर्न सकिएन’’, सौर्य एअरका प्रबन्ध निर्देशक गोपाल भट्टराई भन्छन्।
‘बन्दाबन्दीकै बीचमा एकवटा जहाज थप गरेको यो वायुसेवाको अन्य दुई जहाज भने प्राविधिक समस्याका कारण ग्राउण्डेड छन्। अमेरिकादेखि ल्याउनुपर्ने सामान आइनपुगेकोले मर्मत गर्न नपाएर जहाज थन्किएको भट्टराईले बताए।
‘‘आन्तरिक उडान खुला भएकोले हामीलाई पनि उडान गर्न हतार भएको छ तर, एउटा जहाज मात्रै उडाउँदा सानोतिनो समस्या आउँदा पनि ठप्प नै हुने भएकोले कम्तिमा दुईवटा जहाज तयार गरेर मात्रै उडान तयारी गर्दैछाैं’’, सौर्य एअरका प्रवन्ध निर्देशक भट्टराईले भने।
एउटा जहाज नयाँ भएपनि अर्को एउटा तयार पार्ने समय लागेकोले तत्कालै उडान हुन नसकेको उनी बताउँछन्। भट्टराईका अनुसार कम्पनीले सकेसम्म दशैंलाई नै उडान गर्ने गरी तयारी गरिरहेको छ। दशैंमा केहीगरी नभ्याएको अवस्थामा तिहारलाई भने नियमित उडान गर्ने उनको भनाइ छ।
जहाज मर्मतको आवश्यक सामान आएको ३/४ दिनमै उडान गर्न सकिने उनल बताए। साैर्यसँग सीआरजे नामका ५० सिट क्षमतका तीन वटा जहाज छन्।
अर्को आन्तरिक उडानको वायुसेवा कम्पनी सिम्रिकका पनि अहिले दुईवटै जहाज ग्राउन्डेड छन्। जहाजमा प्रविधिक समस्या आएको र कोपाइलट व्यवस्थापन नहुँदा उडान रोक्नुपरेको सिम्रिक एअरलाइन्सले बताएको छ।
यो वायुसेवाले असोज ५ देखि उडान शुरू गरेको भएपनि १५ असोजपछि थप उडान अनुमति पनि लिएको छ। तर, उडान गरेको छैन। सिम्रिकका बजार निर्देशक प्रज्वल थापाका अनुसार उडान शुरू भइरहेको भएपनि जहाजको सामान आउन ढिलो भएकोले २४ असोजदेखि मात्रै नियमित उडान शुरू गरिनेछ।