महामारीमा कार्यालयको भीडभाड घटाउन कपिलवस्तुमा प्रशासनको घुमफिर सेवा
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले घुमफिर सेवा प्रणाली लागू गरेको छ। कोरोनाभाइरस संक्रमण महामारीको यो वेला सेवाग्राहीको सहजताका लागि यस्तो सेवा शुरु गरेको हो।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार, जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन्। कोरोना जोखिमबाट बच्न र बढी भीडभाड हुन नदिन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो।
प्रशासनका अनुसार, आइतबार र बुधबार बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउनेछन्। सोमबार र बिहीबार महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका सेवाग्राहीलाई समय तोकिएको छ भने शुद्धोधन र यशोधरा गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार र शुक्रबार समय तोकिएको छ।
जिल्लामा इलाका प्रशासन कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट पनि सेवा प्रवाह भइरहेको छ।