अहिंसाको अर्थ
अहिंसाका प्रतीक मानिने गौतम बुद्धको दर्शनको आलोकमा हेर्ने हो भने महात्मा गान्धीले अहिंसा नभएर ‘हिंसात्मक’ जीवन बाँचे ।
अहिंसा के हो ? हिंसा के हो ? वर्षको एक दिन भए पनि घोत्लिने दिन आज हो।
आज अन्तर्राष्ट्रिय अहिंसा दिवस हो।
संयुक्त राष्ट्रसंघले सन् २००७ देखि प्रत्येक २ अक्टोबर अर्थात् भारतका राष्ट्रपिता ‘महात्मा गान्धी’ को जन्मदिनको अवसर पारेर ‘अन्तर्राष्ट्रिय अहिंसा दिवस’ मनाउन थालेको हो।
गान्धीले अहिंसात्मक आन्दोलनकै बलमा बेलायती साम्राज्यलाई घुँडा टेकाएको र यो सफलता विश्वकै राजनीतिका लागि महान् उपलब्धि भएको तर्क गरिन्छ। यही आदर्शका लागि गान्धी पुजिन्छन्।
त्यसो त भारतमा एक जमात गान्धी र गौतम बुद्धलाई एकसाथ, एकरूपमा हेर्न चाहन्छ। गान्धीले पनि बुद्धले जस्तै अहिंसालाई जोड दिएको बुझाइ अनुसार यसको प्रचारप्रसार पनि गरिन्छ। गान्धीलाई अहिंसाका आधुनिक ‘ब्राण्ड’ बनाउन बजार पनि लागेको छ।
तर, के बुद्धको अहिंसा र गान्धीको अहिंसाको सार एउटै हो ? चिन्तन र व्यवहार एउटै हो ? यसमा सघन बहस अत्यावश्यक देखिन्छ।
बुद्धको अहिंसा
बौद्ध समाजमा सर्वसाधारणले समेत दैनिक जीवनमा पालना गर्नुपर्ने ‘पञ्चशील’ को पहिलो शील कुनै पनि प्राणीको हत्या–हिंसाबाट विरक्त हुनु हो। यहाँ हिंसाको तात्पर्य मानवलगायत कुनै पनि प्राणीलाई चोटपटक पुर्याउनु वा ज्यान लिनु मात्रै होइन।
बुद्धको हिंसाको अर्थ काय, वाक् र चित्तबाट हुने तीन प्रकारका हिंसा हुन्। बुद्धले यी सबै प्रकारका हिंसालाई अकुशल कर्मअन्तर्गत राखेका छन् र यस्तो अकुशल कर्मले आफ्नै पनि हानि गर्दछ।
भलै त्यसका लागि कुनै प्रयास नगरेको होस् तर कसैको अहित चिताउने, मनमा त्यस्तो भावनालाई ठाउँ दिनु पनि हिंसा नै मानिन्छ। पञ्चशीलभित्रका झूटो नबोल्ने, व्यभिचार नगर्ने लगायतका शीलहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अहिंसासँग नै सम्बन्धित छन्।
बुद्धको मूल ध्येय युद्ध रोक्नु वा टार्नु नभएर युद्धका कारक तत्वलाई पहिल्याउने र तिनको निर्मूल गर्ने हो। यसको अर्थ पहिले व्यक्ति परिवर्तन र त्यसपछि मात्र समाज परिवर्तन मान्न सकिन्छ। जीवन र जगतसम्बन्धी बुद्धको दार्शनिक उद्देश्य प्राप्तिमा ‘अहिंसा’ को अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ।
बुद्ध मध्यमार्गी थिए। बाटोमा कीराफट्याङ्ग्रा कुल्चिएला वा श्वासप्रश्वासका क्रममा नाकबाट ससाना कीरा पसेर मर्लान् र हिंसाको भागिदार होइएला भनेर हिंड्दै नहिंड्नु वा नाकमुखमा पट्टी बाँधेर हिंड्नु अतिवादी सोचाइ हो। औषधिले शरीरका कीटाणु मारिएला र हिंसाको दोष लाग्ला भन्ने दृष्टिकोण पनि बौद्ध अनुकूल होइन।
बुद्धकै अनुयायी रहेका राजा महाराजाहरू पनि युद्धमा भाग लिन्थे। यति मात्र होइन, व्यावहारिक जीवनमा शत्रुपक्षको आक्रमण विरुद्ध उचित कारबाहीका लागि हतियार उठाउन पनि बौद्ध धर्मले निषेध गरेको छैन।
बुद्धको मूल ध्येय युद्ध रोक्नु वा टार्नु नभएर युद्धका कारक तत्वलाई पहिल्याउने र तिनको निर्मूल गर्ने हो। यसको अर्थ पहिले व्यक्ति परिवर्तन र त्यसपछि मात्र समाज परिवर्तन मान्न सकिन्छ। जीवन र जगतसम्बन्धी बुद्धको दार्शनिक उद्देश्य प्राप्तिमा ‘अहिंसा’ को अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ।
तर, यति भन्दाभन्दै पनि बुद्ध मात्रको अहिंसाको दृष्टिकोण अन्तिम होइन, हुनसक्तैन। अहिंसालाई सबैजसो धर्मले अथ्र्याएका छन्। त्यसैले बुद्धलाई मात्र अहिंसाको प्रतीक भन्दै प्रशंसा गर्ने प्रवृत्तिले न उनलाई बुझ्न सकिन्छ न अहिंसाका सवालमा ठोस निष्कर्ष नै निकाल्न सकिन्छ।
गान्धीको अहिंसा
आमरूपमा गान्धीको सत्याग्रहको सफलताकै कारण भारत स्वतन्त्र भएको स्वीकारोक्ति छ। तर, भारतभित्रै कतिपय आलोचकहरू भने गान्धीको अहिंसामै सन्देह गर्छन्।
के गान्धीले अपनाएको अहिंसा सम्पूर्ण अहिंसा थियो ? के ‘अहिंसा’ लाई गान्धीको भाष्यमा मात्र बुुझ्नु पर्याप्त हुनेछ ? अहिंसालाई समग्रतामा बुझ्ने हो भने गान्धी मात्रको बुझाइले हामीले धेरै कुरा गुमाउनेछौं। किनकि बौद्ध दर्शनको चश्मा लगाएर हेर्ने हो भने गान्धीले अहिंसा नभएर हिंसात्मक जीवन बाँचे।
गान्धीको अहिंसाको बुझाइ सतही र साँघुरो देखिन्छ। लाग्छ, अहिंसा उनका लागि राजनीतिक शिल्प मात्र थियो।
गान्धी दर्शनको क्षेत्रमा पनि तत्वदर्शी, सिद्ध वा आध्यात्मिक साधक लाग्दैनन्। अफ्रिकामा जेलमा कालासँग बस्नुपर्दा उनी क्षुब्ध थिए। जेलबाट लेखिएका उनका चिठीपत्रहरूमा नश्लवादी टिप्पणी पाइन्छन्।
अंग्रेज विरुद्धको आन्दोलनका क्रममा गान्धीले अपनाएको दृष्टिकोणलाई पनि जातिवादको पृष्ठपोषण भन्न सकिन्छ। जातिवादकै कुरामा डा. भीमराव अम्बेडकरसँग गान्धीको तनावपूर्ण सम्बन्ध थियो।
लण्डनमा भएको द्वितीय गोलमेच सम्मेलनमा अम्बेडकरले ब्रिटिशसँग अस्पृश्य वर्गका निम्ति पृथक् मताधिकार मागेका थिए, जुन पूरा गर्न अंग्रेज सरकार तयार भएको थियो। १६ अगस्ट १९३२ को यो दिन ब्रिटिश सरकारले पृथक् निर्वाचन मण्डल घोषणा गरेको थियो, जसबाट भारतीयहरूको सार्वभौम बालिग मताधिकार र पृथक् निर्वाचन मण्डलबाट सामुदायिक प्रतिनिधित्वको अधिकारलाई सैद्धान्तिक मञ्जुरी प्राप्त भएको हो। मुस्लिम र शिखजस्तै अस्पृश्यलाई पनि हिन्दूभन्दा पृथक् पहिचानको मान्यता प्राप्त भएको हो।
गान्धीलाई यो कुरा पचेन। र, उनले यस विरुद्ध २० सेप्टेम्बर १९३२ मा पुनाको यरवादा जेलमा आमरण अनशन शुरू गरे। अन्ततः अस्पृश्य वर्गले आफ्नो अधिकार गुमाउनु पर्यो। गान्धीको जीवन रक्षाका लागि मानवताको आवाज सुन्न अम्बेडकर बाध्य हुनुपर्यो।
गान्धी अस्पृश्य भनिएकाहरूलाई ‘हरिजन’ शब्द प्रयोग गर्थे र यसो गरेर हजारौं वर्षदेखि जातीय विभेदमा पिल्सिएकालाई सम्मान गरेको मान्थे। तर, यो मनुवादी विचारधाराकै अर्को संस्करण थियो। गान्धीको ‘हरिजन’ प्रेमलाई अम्बेडकर पाखण्ड र धूत्र्याइँ भन्थे। उनी दलित वर्गका लागि कहिल्यै महात्मा बनेनन्।
अहिंसाको अपव्याख्या
मानव जातिको इतिहासलाई हिंसाको वृत्तान्त मान्ने हो भने, यसको औचित्य पुष्टि गर्न अनेक आस्था, विश्वास वा तर्कमार्फत ‘अहिंसा’ शब्दको दुरुपयोग हुँदै आएका छन्।
महाभारत युद्धमा भगवान कृष्ण अर्जुनलाई युद्धबाट विमुख नहुन, विपक्षी विरुद्ध बाण चलाउन प्रेरित गर्छन्। आत्मा र परमात्माको व्याख्या गर्छन्। युद्ध हुन्छ, मान्छे मारिन्छन्। तर, कृष्णको व्याख्यामा यो सत्यको जीतका लागि आवश्यक कर्म हो। अर्थात् हिंसा कतै होइन।
‘अहिंसा परमो धर्म’।
जानी–नजानी कुनै पनि जीवको हत्या हुनुलाई हिंसा मानी त्यसबाट पाप लाग्ने आदर्श महावीरको जैन धर्ममा पाइन्छ। जैन धर्ममा अहिंसाको यस्तो आदर्श हुँदाहुँदै पनि ‘कायोत्सर्ग’ भनिने अभ्यास पनि पाइन्छ, जसअनुसार साधकले आफ्नो शरीरलाई दुःख दिन सुकाउने गर्छन् र मृत्युवरण गर्छन्। गौतम बुद्धका अनुसार, कायोत्सर्ग पनि एक प्रकारको हिंसा नै हो, यो त आत्महत्या बराबर हो।
समस्याको जड बुझेर सही समाधान निकाल्नुको साटो पीडितको मागलाई बलजफ्ती दबाएर ‘शान्तिको सुव्यवस्था गरी अमनचयन कायम राख्ने’ कतिपय सरकारी प्रपञ्च पनि बौद्ध दर्शनअनुसार हिंसा नै हो। यस्तो हिंसाले निकट भविष्यमा अर्को हिंसा निम्त्याउने जोखिम हुन्छ।
महाभारत युद्धमा भगवान कृष्ण अर्जुनलाई युद्धबाट विमुख नहुन, विपक्षी विरुद्ध बाण चलाउन प्रेरित गर्छन्। आत्मा र परमात्माको व्याख्या गर्छन्। युद्ध हुन्छ, मान्छे मारिन्छन्। तर, कृष्णको व्याख्यामा यो सत्यको जीतका लागि आवश्यक कर्म हो। अर्थात् हिंसा कतै होइन।
समाज र राजनीतिमा पनि प्रतीक वा विम्बहरूको निर्माणले ठूलो भूमिका खेल्दछ। मोहनदास करमचन्द गान्धीमा ‘महात्मा’ र ‘अहिंसा’ बिम्ब, विशेषणले पनि अहिलेको भारतमा ठूलो प्रभाव पारेको छ। यस्ता बिम्ब विघटन हुनसक्ने कतिपय उनका चारित्रिक दोष पनि समय समयमा सार्वजनिक हुने गरेका छन्, जसलाई गौण ठान्ने गरिन्छ।
त्यसैले जयन्तीको यो अवसरमा हामीले गान्धीको अहिंसाका आधार बारे निर्मम समीक्षा गर्नुपर्छ। यो दिवसलाई गान्धी मात्रको अहिंसाको व्याख्यानमा नभई अहिंसाको वास्तविक र विहंगम अर्थलाई बुझ्नुपर्ने देखिन्छ।