कोरोना कहरकै बीच छायांकन शुरु गरी पूरा भयो फिल्म
बलिउडमा कोरोनाभाइरस संक्रमण महामारीकै बीच फिल्मको छायांकन शुरु गरी सम्पन्न गरिएको छ। अक्षय कुमारको फिल्म 'बेल बटम' ले छायांकन पूरा गरेको हो। यससँगै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ।
महामारीको असहज समयमा बन्दाबन्दीकै बीचमा फिल्म निर्माण टोलीले छायांकनको काम फत्ते गरेर कोरोना सँगसँगै अगाडि बढ्नुपर्ने उदाहरण प्रस्तुत गरेको छ। अक्षयले फिल्मको पोस्टर इन्स्टाग्राममा शेयर गरेका छन्।
पछिल्लो समय यो फिल्मका कलाकार र निर्माण टोली बेलायत गएको थियो। त्यहाँ अगस्टदेखि सेप्टेम्बरको बीचमा छायांकन गरिएको थियो। महामारीको दौरान काम पूरा गर्नेमा अक्षयको यो फिल्मका साथै हलिउडका फिल्म टम क्रूजको 'मिसन इम्पोसिबल ७' र 'जुरासिक पार्क डोमिनियन' पनि पर्छन्।
कोरोना-कालमा काम गरे पनि 'बेल बटम' निर्माणमा जोडिएका कुनै सदस्यलाई पनि कोरोना संक्रमण नभएको बताइएको छ। रञ्जीत एम तिवारीले निर्देशन गरेको फिल्ममा अक्षयसँगै वाणी कपूर र लारा दत्ताको पनि अभिनय छ।
फिल्मको प्रदर्शन २ अप्रिल २०२१ मा हुने तय गरिएको छ। बन्दाबन्दीका बेला भारतमा बन्द गरिएका सिनेमाहल यही १५ अक्टोबरदेखि खुला गरिने त्यहाँको सरकारले निर्णय गरिसकेको छ।