थाइ एअर र एअर इण्डियाको ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिइँदै
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एअर र एअर इण्डियालाई दिएको ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एअरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिकरणले थाइ र एअर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी गरेको हो।
बिहीबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफैं गर्ने गरेका थाइ एअर र एअर इण्डियाको अनुमति फिर्ता लिने बताए।
अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरूसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरि अनुमति फिर्ता दिइने पाेरखेलले बताए। ‘‘अब थाइ एअर र एअर इण्डियालाई ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौ। अहिले कोभिडको बेला छ। उहाँहरू आएपछि छलफल गरेर तपाईंहरूले सेल्फ ग्राउण्डिङ गर्न पाउनुहुन्न, तपाईंहरूको क्राइट एरिया मिट गर्दैन भन्छौं’’, पोखरेलले भने, ‘‘अब हाम्रो ग्राउण्ड ह्याण्डिलिङ सेवा दिने प्रदायक नेपाल वायु सेवा निगम मात्रै हो। यो कुरामा भ्रममा नपर्न अनुरोध छ।’’
उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि बताए। हिमालय एअरलाइन्सलई नियमाअनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने उनको भनाइ छ।