उपत्यकाका तीन ठूला स्थानीय तहमध्ये ललितपुर महानगरको कोरोना परीक्षण दर बढी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बिहीबारसम्मको तथ्यांक अनुसार मुलुकभर कोरोना संक्रमित हुने व्यक्तिको कुल संख्या ७९ हजार ७२८ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा १ हजार ९११ व्यक्ति कोरोना संक्रमित संक्रमित भएका छन्।
बिहीबारसम्ममा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ, भने ५०९ जनाको मृत्यु भएको छ। यस्तै, कुल १० लाख ३३ हजार ९४७ जना व्यक्तिको पीसीआरमार्फत् कोरोना परीक्षण गरिएको छ।
संक्रमितमध्ये ५७ हजार ३८९ व्यक्ति कोरोनामुक्त भइसकेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर बढ्दो छ। बिहीबारसम्ममा कोरोनाका कुल संक्रमितको संख्या काठमाडौंमा २० हजार ३९२, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८६ छ।
स्वास्थ्य मन्त्रालयको यो तथ्यांकले काठमाडौंमा कोरोना संक्रमित हुनेहरूको संख्या अन्य दुई जिल्लाको तुलनामा उच्च रहेको देखाउँछ। काठमाडौं महानगरपालिकाको तथ्यांक अनुसार १५ असोजसम्ममा महानगरपालिकाले १४ हजार ८१९ जनाको पीसीआरमार्फत् कोरोना परीक्षण गरेको छ। यो संख्यामा व्यक्ति आफैंले वा महानगरबाहेक अन्य सरकारी निकायले गरेको पीसीआर परीक्षणको तथ्यांक जाडिएको छैन।
१३ वैशाख २०७७ बाट काठमाडौं महानगरले पीसीआर परीक्षण गर्न शुरू गरेको हो। काठमाडौं महानगरपालिका जनसंख्याका हिसाबले देशकै ठूलो स्थानीय तह हो, जहाँ ९ लाख ७५ हजार ७५३ जनसंख्या छ। र, यीमध्ये महानगरले अहिलेसम्म जम्मा १४ हजार ८१९ जनाको कोरोना परीक्षण गरेको हो।
यो तथ्यांक अनुसार काठमाडौं महानगरले कुल जनसंख्यामध्ये १.५१ प्रतिशतको मात्रै कोरोना परीक्षण गरेको देखाउँछ। यसबाट काठमाडौं महानगरले न्यून दरमा कोरोना परीक्षण गरेको देखिन्छ। जबकी महानगरमा संक्रमण दर बढ्दो छ। ललितपुर महानगरपालिकाले बिहीबारसम्ममा ८ हजार १७८ जनाको कोरोना परीक्षण गरेको छ। ललितपुरले २८ चैतदेखि पीसीआरमार्फत् कोरोना परीक्षण गरेको हो।
ललितपुर महानगरको कुल जनसंख्या २ लाख ८४ हजार ९२२ छ। र, यीमध्ये महानगरले अहिलेसम्म ८ हजार १७८ जनाको कोरोना परीक्षण गरेको हो। अर्थात् ललितपुर महानगरले कुल जनसंख्यामध्ये २.८७ प्रतिशतको कोरोना परीक्षण गरेको छ। ललितपुरको जनसंख्याका आधारमा पीसीआर परीक्षण दर काठमाडौं महानगरको तुलनामा झण्डै दोब्बरले बढी हो।
यस्तै, भक्तपुर नगरपालिकाले ३ जेठदेखि कट्याक्ट ट्रेसिङमार्फत् कोरोना परीक्षण शुरू गरेको थियो। भक्तपुर नगरपालिकाले १५ असोजसम्ममा १ हजार ९०० जनाको मात्र कोरोना परीक्षण गरेको छ। जबकी भक्तपुर नगरपालिकाको जनसंख्या ८३ हजार ६५८ छ। यो तथ्यांक अनुसार भक्तपुर महानगरपालिकाले कुल जनसंख्यामध्ये २.२७ प्रतिशतको कोरोना परीक्षण गरेको देखिन्छ।
कोरोना परीक्षण दरका आधारमा उपत्यकाका तीन ठूला स्थानीय तहमध्ये ललितपुर महानगरपालिका अघि छ। उपत्यकाका तीन वटा स्थानीय तहले गरेको कोरोना परीक्षणको संख्यामा अन्य सरकारी निकाय वा व्यक्तिगत तरवबाट गरिएको कोरोना परीक्षणको तथ्यांक भने जोडिएको छैन।
ललितपुर महानगरपालिकाका अनुसार जोखिममा रहेका समुदाय र व्यक्तिलाई प्रभावकारी ढंगबाट कट्याक्ट ट्रेसिङ गरेका कारण परीक्षण दर पनि तुलनात्मक रूपमा बढी देखिएको हो। महानगरपालिकाले कोरोना संक्रमित व्यक्ति भेटिएका ठाउँमा उनीहरूको सम्पर्कमा पुगेको शतप्रतिशतको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना परीक्षण गर्ने रणनीति लिएको जनाएको छ।