कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण भएको छ। प्रदेश प्रमुख कलौनीको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि कलौनीको पनि स्वाब परीक्षण गरिएको थियो। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी होम आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ।
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
यसैबीच, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण उपचाररत डा. सापकोटाको बिहीबार दिउँसो ३ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले बताए।
डा. सापकोटालाई ३० भदौमा कोरोना संक्रमण देखिएपछि सुर्खेतको कालागाउँस्थित् कोभिड अस्पताल भर्ना गरिएको थियो। पछि उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएकोमा बिहीबार मृत्यु भएको हो।