डा. केसीलाई सरकारको आग्रह : सबै माग पूरा हुने चरणमा छन्, अनशन फिर्ता लिनुस्
सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसिरहेका डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। केसीले राखेका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै अनशन तोड्न सरकारले आग्रह गरेको हो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनशनमा बसेका डा. केसीले राखेका चिकित्सा शिक्षा सुधारका सबै माग पूरा हुने चरणमा रहेको भन्दै अनशन तोड्न आग्रह गरे। डा. केसीले चिकित्सा क्षेत्रको माग गर्दै २९ भदौदेखि जुम्लाबाट अनशन शुरू गरेका थिए। अहिले उनी काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।
मन्त्री ज्ञवालीले डा. केसीले उठाएका मागहरू पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रहमा बस्नुपर्ने अवस्था नरहेको बताए। डा. केसीको माग अनुसार चिकित्सा शिक्षा सम्बन्धी ऐन बनाइ त्यसको आधारमा उच्चस्तरीय आयोग गठन गरिसकेको पनि मन्त्री ज्ञवालीले बताए।
त्यस्तै, चिकित्सा शिक्षाका लागि गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा आइसकेको मन्त्री ज्ञवालीले बताए। मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खोल्न राखेको माग अनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताए। अन्य विषयमा पनि सरकारले आफ्नो साधन–स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको मन्त्री ज्ञवालीले बताए।
पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाई हालसम्म १० लाख बढीको परीक्षण भइसकेकाले केभिडको महामारीको अवस्थामा पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन मन्त्री ज्ञवालीले डा. केसीलाई आग्रह गरे।