गान्धीको अहिंसक अर्थतन्त्रको आलोकमा नेपालका गाउँ
जीविकाको कमजोर आधार, शोषण र विभिन्न विभेदको धक्काले लर्खराएको गाउँको अर्थतन्त्र उकास्न महात्मा गान्धीले परिकल्पना गरेको अहिंसक समाजको सूत्र प्रभावकारी हुन सक्छ।
एकपटक महात्मा गान्धीलाई कसैले सोध्यो- 'भारतलाई पूर्ण स्वराज प्राप्त भएको कतिबेला मान्ने?' उनको जवाफ थियो, 'जब देशवासीले आफ्ना समस्याको आफ्नै प्रयासबाट समाधान गर्न र आफ्नो भाग्यलाई चाहे जसरी बनाउन सक्छौं भन्ने महसूस गर्न थाल्छन्।'
यस्तो लक्ष्य प्राप्तिका लागि गान्धीजीले सन् १९४० को दशकको शुरुआतमा १८ सूत्रीय 'रचनात्मक कार्यक्रम' मा आधारित अहिंसक समाजको परिकल्पना गरेका थिए। भारतीय स्वतन्त्रता आन्दोलनमा गान्धीको भूमिकाका दुई पाटो छन्। पहिलो, अहिंसक विरोधका लागि अपनाइएको विविध पद्धति। दोस्रो, आदर्श अहिंसक समाजको स्थापना हेतु रचनात्मक कार्यक्रमको सिर्जना।
गान्धी एक नवीन अहिंसक र बलियो समाज स्थापनाका लागि चिन्तित र प्रयोगशील थिए। उनी अहिंसालाई जीवनको नियम, प्रेरणा र परीक्षणलाई सँगै राखेर हेर्थे। अर्को, उनी गाउँलाई जहिले पनि विमर्श र परिवर्तनको केन्द्रमा राख्न चाहन्थे। उनी भारतीय ग्रामको सन्दर्भमा भन्थे, "भारत जति पुरानो हो, देहात त्यत्तिकै पुरानो हो। आज शहरहरूको बोलवाला छ, तिनैले गाउँको सम्पूर्ण धन तानेका छन्। जसका कारण गाउँ नाशिंदै गएको छ। गाउँको शोषण आफैंमा एउटा संगठित हिंसा हो। यदि हामीले स्वराजको रचना अहिंसाको खाँबोमाथि गर्नुछ भने गाउँलाई उसको उचित स्थान दिनैपर्छ।"
गान्धी भारतीय ग्रामको सन्दर्भमा भन्थे, "भारत जति पुरानो हो, देहात त्यत्तिकै पुरानो हो। आज शहरहरूको बोलवाला छ, तिनैले गाउँको सम्पूर्ण धन तानेका छन्। जसका कारण गाउँ नाशिंदै गएको छ। गाउँको शोषण आफैंमा एउटा संगठित हिंसा हो।"
गान्धीले भारतको सन्दर्भमा यो मत राखेका भए पनि त्यो नेपालका लागि पनि प्रासंगिक छ। नेपाल पनि मूलतः गाउँबाटै निर्मित छ र गाउँहरू यहाँका शहरहरू भन्दा निकै पुराना हुन्।
सानो नै सुन्दर र उपयुक्त प्रविधि
गान्धीजी अहिंसक अर्थ रचनामा जोड दिन्थे। यस दृष्टिले आर्थिक जीवन, उसका प्रक्रिया र विकासलाई समेत अहिंसाको परिधिभित्र त्यसको मापदण्डमा बुझ्ने प्रयत्न हुनुपर्छ। कुनै पनि मानवीय क्रियाशीलतालाई सामान्यतः त्यसको प्रयोजन, प्रक्रिया र परिणाम अर्थात् लाभको सन्दर्भमा बुझ्ने गरिन्छ। यस दृष्टिले आर्थिक क्रियाशीलतालाई समेत उक्त तीन कुरासँग जोडेर हेर्नुपर्छ, सँगै अहिंसाको प्रतिफललाई पनि।
आर्थिक क्रियाशीलताको सम्बन्ध उत्पादन, त्यसको प्रक्रिया र परिणामसँग जोडिन्छ। अर्थात् उत्पादनको प्रयोजन, त्यसको प्रक्रिया र त्यसबाट हुने लाभको वितरणको व्यवस्था कति हिंसक वा अहिंसक छ भनेर हेर्नुपर्ने हुन्छ। यदि त्यो हिंसातर्फ अधिक उन्मुख छ भने अहिंसक कसरी बनाउने भनेर पनि हेरिनुपर्छ।
विकास र खुशीको सही अर्थ नबुझी अहिंसक अर्थतन्त्रबारे विषय प्रवेश गर्दैन। किनभने अहिले जेलाई विकास भनिंदै आइयो, खुशी भनियो, त्यसलाई त कोरोनाभाइरस महाव्याधिको एकै झट्काले चौपट पारिदियो। जसलाई विकास भनियो, त्यो त एउटा अँध्यारो गोलचक्कर पो रहेछ, जहाँबाट निस्किने बाटो नै छैन।
यो विमर्शमा बुझ्नुपर्ने अर्को कुरा के छ भने, विकास र खुशीको सही अर्थ नबुझी अहिंसक अर्थतन्त्रबारे विषय प्रवेश गर्दैन। किनभने अहिले जेलाई विकास भनिंदै आइयो, खुशी भनियो, त्यसलाई त कोरोनाभाइरस महाव्याधिको एकै झट्काले चौपट पारिदियो। जसलाई विकास भनियो, त्यो त अविकास रहेछ। जेलाई खुशी मानियो, त्यो त मनको आनन्द रहेनछ। अहिले जसलाई विकास भनियो, त्यो त एउटा अँध्यारो गोलचक्कर पो रहेछ, जहाँबाट निस्किने बाटो नै छैन। यस प्रकारको विकासको पहिलो प्रहार नैतिक मूल्यहरूमाथि परेको छ।
तुलसीदासकृत अवधी भाषाको ‘रामचरितमानस’ मा एउटा प्रसंग छ, सुरसाको। कथा अनुसार रावणको लंकामा कैद सीतालाई रामको सन्देश दिन गइरहेका हनुमानको जम्काभेट सुरसासँग भयो। पहिला त सुरसाभन्दा दोब्बर आकार ग्रहण गरेर हनुमानले आफ्नो रवाफ देखाए, तर पार लागेन। हरेस खाएर ‘अति लघु रूप’ धारण गरेर नै सुरसासँग जोगिन सके।
अर्थशास्त्री ईएफ शूमाकरले आफ्नो प्रसिद्ध पुस्तक ‘स्मल इज ब्यूटीफूल’ मा ‘उपयुक्त प्रविधि’ (एप्रोप्रिएट टेक्नोलोजी) बारे सर्वप्रथम लेखेका थिए। बौद्ध अर्थशास्त्रको ‘मज्झिम निकाय’ यानि ‘मध्यमार्ग’ बाट प्रभावित र तत्कालीन बर्मा सरकारका आर्थिक सल्लाहकार रहेका शूमाकर लघुलाई सुन्दर मात्र होइन, प्रभावकारी समेत मान्थे। शूमाकरले आफ्नो विचार गान्धीबाट प्रभावित भएको स्वीकार गरेका थिए।
खासगरी नेपालमा २०४६ सालको जनआन्दोलनपछिको परिप्रेक्ष्यमा लघु र विशालबीचको द्वन्द्वमा 'विशाल' ले नै जित्दै आएको छ। जसले जुन कोणबाट 'समाजवाद' को व्याख्या गरे पनि व्यवहारमा त्यो दलाल पूँजीवादको नग्न अभ्यास हो। विश्व ब्याङ्कको अह्रनखटनमा मुलुक 'बिगेस्ट इन द वर्ल्ड’ तिर लम्कियो, परिणाम- पछिल्ला तीस वर्षमा मुलुकको हविगत कस्तो भयो भन्ने जगजाहेर नै छ। रोचक पक्ष के छ भने, अहिले पनि यो यथार्थ स्वीकार्न शासकहरु तयार छैनन्।
वर्तमान उत्पादन प्रक्रियाको एउटा अर्को हिंसक आयाम विस्थापन हो, जो आधुनिक विकासको आवश्यकताको नाममा गरिन्छ। यसप्रति चर्चा हुँदा वा प्रश्न उठाउँदा विकासको लागि केही मूल्य त चुकाउनैपर्छ भन्ने गरिन्छ। तर सवाल के छ भने, विस्थापनको मूल्य कुन क्षेत्र र तप्काका मान्छेले चुकाउनुपरेको छ ? के यो मूल्य चुकाउनेलाई नै त्यो विकासको लाभ प्राप्त हुनेछ ? वा कसैले चुकाएको मूल्यमा अरू नै लाभांश अपहरण गर्न आतुर छन् ? यदि कुनै समुदाय वा क्षेत्रको नाममा अरू कसैलाई लाभ पुर्याउने काममा स्वयं राज्य नै योजनाबद्ध रुपमा काम गरिरहेको छ भने त्यो 'आन्तरिक औपनिवेशीकरण' हो, जुन आफैंमा हिंसा हो। गान्धीले यसको जवाफमा 'सर्वोदय' को मन्त्र दिए, अर्थात् सबैको सबै आयाममा उदय।
गान्धीजी आजको औद्योगीकरणबारे उदासीन थिए भन्ने बुझाइ पनि छ, जुन त्रुटिपूर्ण हो। साँचो कुरा के हो भने, उनी उद्योगहरूको यन्त्रीकरणको विरोधी थिएनन्, उनी त उद्योगका कारण हुने शोषण, विभेद वा बेरोजगारीप्रति असहमति राख्थे। उनी गाउँका करोडौं मान्छेलाई रोजीरोटी दिनसक्ने साना यन्त्रहरूमा सुधार गर्न सकिने विषयका पक्षपाती थिए।
गान्धीजी आजको औद्योगीकरणबारे उदासीन थिए भन्ने बुझाइ पनि छ, जुन त्रुटिपूर्ण हो। साँचो कुरा के हो भने, उनी उद्योगहरूको यन्त्रीकरणको विरोधी थिएनन्, उनी त उद्योगका कारण हुने शोषण, विभेद वा बेरोजगारीप्रति असहमति राख्थे। उनी गाउँका करोडौं मान्छेलाई रोजीरोटी दिनसक्ने साना यन्त्रहरूमा सुधार गर्न सकिने विषयका पक्षपाती थिए। ठूला कारखानाहरूबाट एउटै ठाउँमा अधिक उत्पादन भन्दा गाउँघरमै रहेका करोडौं हातद्वारा अधिक उत्पादन हुनुलाई मन पराउँथे। उनी प्रत्येक व्यक्तिलाई रोजगारी दिन चाहन्थे। त्यसैले उनी खेती प्रणालीमा सुधारका साथै साना उद्योग-व्यवसायलाई फैलाउन चाहन्थे।
नेपालको गाउँ अहिले रित्तिंदै गएको छ। गाउँमा जीविकाको आधार छैन। छुवाछूत, महिला हिंसा, अन्धविश्वासले निरन्तरता पाइरहेकै छ। चर्को ब्याज असुल्ने साहुहरू छँदैछन्। दलाल, ठेकेदार, बिचौलियाहरू नव सम्भ्रान्तका रूपमा आए। ग्रामीण अर्थतन्त्रको लाभ अझै सीमित वर्गले नै बटुल्दैछन्। भूमिहीनता नयाँ ढंग र ढाँचामा देखा पर्दैछ। 'तुगलकी फरमान' जारी गर्ने पञ्चायत कायमै छ। यस्तोमा अहिंसात्मक ग्रामीण अर्थतन्त्रले आकार पाउन ज्यादै कठिन देखिन्छ।
यद्यपि यो असम्भव सपना होइन, बरू अपरिहार्य कार्य हो। आत्मनिर्भर नेपालका लागि आत्मनिर्भर गाउँ हुनैपर्छ। र गाउँलाई अहिंसक अर्थतन्त्रको गोरेटोमा हिंड्ने एक मौका कोरोना कहरले दिएको छ। हामीले एकुन्टा स्थानीय सरकारलाई यसको प्रयोग गर्न उत्प्रेरित गर्न सक्दैनौं र?