तुलसीमेहेर श्रेष्ठलाई गान्धीको चिठी
चर्खाबाट खादी कपडा बुन्ने सीप सिक्न पाटनबाट भारतको गुजरातस्थित गान्धी आश्रम पुगेका तुलसीमेहेर श्रेष्ठले यस अतिरिक्त गान्धी परिवारको विशेष हेरविचार, भातभान्छा र भेटघाटको सहजीकरणको काम समेत गरे। त्यसैले उनलाई धेरैले रामभक्त हनुमानझैं ‘गान्धीभक्त हनुमान’ भनेर सम्मान र स्नेह दिने गर्दथे।
भारतको गुजरात प्रान्तको राजकोट गाउँमा सन् १८६९ अक्टुबर २ मा एक बालक जन्मिए। तिनै बालक कालान्तरमा एशिया महादेशका महान् दार्शनिक एवम् विचारकका रूपमा स्थापित बन्न पुगे। उनी थिए, मोहनदास कमरचन्द गान्धी।
पिता दिवानकरमचन्द र माता पुतलीबाईले उनलाई कानून अध्ययन गर्न बेलायत पठाए। घरबाट बिदा गर्दा माताले ‘म कुनै हालतमा पनि रक्सी, मासु र आइमाईलाई छुने छैन’ भनेर उनलाई प्रतिज्ञा गराएकी थिइन्। यही प्रतिज्ञा उनको जीवनलाई नयाँ मोड दिने कारकतŒव बन्न पुग्यो।
कानून व्यवसायीका रूपमा बेलायतमा रहँदा गान्धी काम विशेषले दक्षिण अफ्रिका पुगे। त्यहाँ काला जातिमाथि गोराहरूले गरेको अमानवीय व्यवहारबाट क्षुब्ध भए। उनले अङ्ग्रेज शासनका विरुद्धमा अफ्रिकामा सर्वप्रथम सत्याग्रह आन्दोलन सञ्चालन गरे। त्यसको सफलतापूर्वक प्रयोग र निरीक्षणपश्चात्् उनी सन् १९१४ मा अफ्रिकाबाट स्वतन्त्रताका लागि भारत फर्कने निर्णयमा पुगे।
सन् १९१५ मा स्वदेश फर्किएपछि उनै गान्धीले भारतलाई अङ्ग्रेज उपनिवेशबाट मुक्त गराउन अहिंसात्मक रूपले विविध प्रकारका आन्दोलनको सूत्रपात गरेका थिए। सन् १९२१ मा उनले अङ्ग्रेज शासकका विरुद्ध असहयोग आन्दोलनको अभियान चलाए। सन् १९३१ मा सविनय अवज्ञा आन्दोलन थालनी गरे। यसबीचमा उनले नमक सत्याग्रह र विदेशी सामान बहिष्कारको नीति अख्तियार गरे।
यी आन्दोलनहरूको सफलतापछि भारतबाट अङ्ग्रेजलाई अहिंसात्मक आन्दोलनबाट नै धपाउन सकिन्छ भन्ने निचोडमा गान्धी पुगे। तर हातहतियारले सुसज्जित इष्ट इण्डिया कम्पनी सरकारले क्रूरतापूर्वक सत्याग्रहीमाथि दमन र हिंसाको बाटो अवलम्बन गर्यो। हजारौं सत्याग्रही जेलमा थुनिए भने सयौंले बलिदान दिए। यद्यपि, गान्धीले हरेश खाएनन्। प्रतिकार गर्न हिंसाको बाटो कहिल्यै अपनाएनन्।
असहयोग, हड्ताल, सामाजिक बहिष्कार, धर्ना, सविनय अवज्ञा, हिजरत, उपवासपछि गान्धीले सन् १९४५ मा ‘भारत छोडो’ आन्दोलन चलाए। यो अन्दोलनमा पनि धेरैले ज्यान गुमाए। अन्ततोगत्वा सन् १९४७ को १५ अगस्तमा भारत स्वतन्त्र भएको घोषणा भारतका जनताबाट गरियो। संविधानसभाबाट नयाँ संविधान बनेपछि २६ जनवरी १९५० मा भारत पूर्णरूपले गणतन्त्रात्मक राज्य बनेको घोषणा गरियो।
विश्वमा कहिल्यै घाम नअस्ताउने विशाल राज्यका रूपमा रहेको ग्रेट ब्रिटेन र त्यसको सरकारलाई सत्य, अहिंसा तथा सविनय अवज्ञाका माध्यमले परास्त गरी भारतलाई स्वतन्त्र बनाउन सफल महात्मा गान्धीलाई भारतीयहरूले मात्र होइन विश्वकै राजनेता र राजनीतिशास्त्रीहरूले समेत एक सफल राजनीतिक चिन्तक र दार्शनिकको कोटिमा राखे। भर्खरै स्वतन्त्र भएको भारत सरकारले उनलाई राष्ट्रपिता घोषणा गर्यो।
नेपालमा सत्याग्रह
यस्ता यशस्वी व्यक्तित्वसँग थोरै नेपालीले भेट्ने र सहकार्य गर्ने अवसर प्राप्त गरेका थिए। उनको जीवनदर्शनलाई अँगालेर सत्याग्रहको प्रयोगबाट नेपालबाट राणाशासन समाप्त पार्ने उद्देश्य राखेर थुप्रै राजनीतिकर्मी पनि लागेका थिए। तीमध्ये मातृकाप्रसाद कोइराला, बीपी कोइराला, डा. डिल्लीरमण रेग्मी, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, रामहरि जोशी, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, केदारमान व्यथित आदि उल्लेख्य छन्। उनीहरू ‘भारत छोडो’ आन्दोलनदेखि नै सक्रिय थिए। केहीले त भारतका जेलमा बन्दी जीवनसमेत बिताउनुपरेको थियो।
व्यक्तिगत रूपमा पनि नेपालमा केही महत्वपूर्ण भद्र अवज्ञा गरिएका वा अनशन बसेको दृष्टान्त पनि छन्। सर्वप्रथम नेपालमा गान्धीका अनन्य भक्त समाजसेवी तुलसीमेहेर श्रेष्ठले वि.सं. १९८२ चैतमा भद्रकाली मन्दिरको पूर्वपट्टि एक महीना उपवाससहित चर्खा कातेर सविनय भद्र अवज्ञा गरेका थिए। त्यसपछि श्री ३ चन्द्रशमशेरले उनको माग पूरा गर्नुपरेको थियो।
अनशनकै कारण नेपालमा प्रधानमन्त्रीको खड्ग निसानाबाट ‘श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ नामको संस्था १९८३ वैशाख १ मा स्थापना हुन पुग्यो। यो संस्थाले गान्धीको स्वरोजगारको अभियानलाई आत्मसात् गरी चर्खाबाट खादी कपडा बुन्ने कार्यलाई प्राथमिकता दिएको थियो।
नेपाली राष्ट्रिय कांग्रेसले २००४ सालमा राणा शासकका विरुद्ध देशव्यापी रूपमा पहिलो पटक अहिंसात्मक रूपमा सविनय भद्र अवज्ञा आन्दोलन गरेको थियो।
२००५ सालमा बीपी कोइरालाले काठमाडौंको भद्रगोल जेलमै मोहनशमशेरको निरंकुशता विरुद्ध २९ दिने अनशन बसेका थिए। तत्कालीन सरकारले पारिवारिक दबाब दिएर अनशन तोडाउन खोजे पनि अन्ततोगत्वा महात्मा गान्धीसहित भारतका समाजवादी नेताहरूको कडा प्रतिक्रिया र दबाबका कारण उनलाई निःशर्त छाड्नुपरेको थियो।
अर्का क्रान्तिकारी सदानन्द सापकोटा पनि २००६ सालमा जेल सुधारका लागि भद्रगोल जेलमा लामो समय अनशन बसेका थिए। उनले ३२ दिन लामो अनशनसहित पटक–पटक गरी ९ पटक आमरण अनशन बसेर गान्धीको प्रयोग आत्मसात् गरेका थिए।
त्यस्तै २०१४ सालमा पनि राजा महेन्द्रको शासनकालमा संविधानसभाको निर्वाचनका लागि मूलतः तीन दल नेपाली कांग्रेस (बीपी), नेपाली राष्ट्रिय कांग्रेस (डा. डिल्लीरमण) र राष्ट्रिय प्रजापरिषद् (भद्रकाली)सहितको संयुक्त मोर्चाले सविनय भद्र अवज्ञा आन्दोलन गरेको थियो। सत्याग्रहकै कारण संविधानसभा नभए पनि २०१५ सालको आमनिर्वाचन सम्भव भएको हो।
बीपी स्वयंले पुनः २०१७ सालपछि थुनामा रहेका बेला राजनीतिक माग राखी २८ दिन लामो अनशन बसेका थिए।
२०४२ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाली कांग्रेसले पञ्चायती व्यवस्थाका विरुद्ध भद्र अवज्ञा आन्दोलन गरेको थियो। हजारौं कार्यकर्ताले गिरफ्तारी दिएका थिए।
तुलसीमेहेरको गान्धी–यात्रा
२१ पुस १९५३ मा ललितपुरको पाटनमा जन्मिएका तुलसीमेहेरले चन्द्रशमशेरको पालामा ‘मलामी गुठी पर्व’मा दण्डित हुनुपरेको थियो। सेवा कार्यमै सजाय पाएपछि तुलसीमेहेरले चन्द्रशमशेरलाई खादी कपडा बुन्न र सिलाई सिक्न गान्धी आश्रम जान पाऊँ भनेर बिन्ती चढाए। चन्द्रशमशेरको बल्लतल्लको अनुमतिपछि १९८७ सालमा तुलसीमेहेर अहमदावाद शहरमा रहेको सावरमती नदीको तटमा अवस्थित महात्मा गान्धीको आश्रम पुगे।
तुलसीमेहेरले झण्डै पाँचवर्ष गान्धीकै सान्निध्यमा काम गर्ने मौका पाए। सावरमती आश्रम गुजरातमा रहँदा गान्धीको सत्याग्रहमा भाग लिएवापत उनी जेल पनि परे।
आश्रममा उनले धागो धुलाइ, कताइ, बुनाइलगायतको सीप सिक्ने मौका पाए। झण्डै चार वर्ष सीप सिकेपछि उनले गान्धीको दस्तखत भएको यस्तो प्रमाणपत्र पाएका थिए।
प्रमाणपत्र: तुलसीमेहेरको
कानपुर
२९ दिसम्बर, १९२५
श्री तुलसीमेहेरजी सत्याग्रह आश्रम मे कम चार वर्षतक रहे है। उनका संयमने मेरे दिलपर बडा प्रभाव डाला है। वे बडी सादगी से आश्रममें रहते थे। उनका उद्यम भी स्तुत्य था। उन्होनें धुनना, कातना, बिनना सिख लिया है। और धुननेमें उनका पहला स्थान रहा है। आज भी मै उनको आश्रमवासी समझता हुँ।
मोहनदास गान्धी
(स्रोत: सम्पूर्ण गान्धी वाङमय, खण्ड उनन्तीस, जनवरी १९६९ (पौष १८९०)
सीप सिक्ने कार्यका अतिरिक्त तुलसीमेहेरले गान्धी परिवारको विशेष हेरविचार र भातभान्छा व्यवस्थापनको जिम्मेवारी पनि पाएका थिए। बाहिरबाट गान्धीलाई भेट्न आएका व्यक्तिहरूको सहजीकरण पनि उनी नै गर्दथे। गान्धीप्रतिको सेवाभाव देखेर भारतीय नेताहरू समेत तुलसीमेहेरलाई रामभक्त हनुमानझैं ‘गान्धीभक्त हनुमान’ भनेर सम्मान र स्नेह दिने गर्दथे।
तुलसीमेहेर गान्धीसँग आश्रममै जीवन बिताउन चाहन्थे। त्यसैले उनले नेपालमा रहेका परिवारलाई आफू दिवंगत भएको सूचना दिन चिठी लेखी सेतो धागोले बाहिर बाँधेर हुलाकबाट रजिस्ट्री चिठी पठाएका थिए। चिठी प्राप्त भएपछि परिवारजनले पाटनस्थित घरमा काजक्रिया समेत गरिसकेका थिए।
तर यसैबीच १९८२ सालमा बापु (गान्धी)ले उनलाई नेपाल फर्केर चर्खाको प्रचार गर्नु भन्ने निर्देशन दिए। गान्धीले दुई बन्डल कपास, केही चर्खा र काम गर्न चाहिने खर्च दिएर उनलाई फर्कने व्यवस्था पनि गरिदिए।
उनी सामान लिएर नेपाल त भित्रिए तर मरिसकेको खबर पठाइसकेकाले घर कसरी जाने भन्ने धर्मसङ्कट भने कायम थियो। बस्नका लागि उनीसँग ठाउँ पनि थिएन।
तुलसीमेहेर भद्रकाली मन्दिरको पूर्वपट्टि बाटो छेउमा चर्खा कातेर अनशन बस्न थाले। त्यसको झण्डै एक महीनापछि चन्द्रशमशेरले उनको माग बुझ्न आदेश दिए। तुलसीमेहेरले गान्धीले नेपालमा गएर चर्खाको प्रचार गर्नू र चर्खा चलाउन प्रशिक्षण दिनू भनेकाले त्यस कार्यको लागि अनुमतिका साथै बस्ने स्थान पनि दिनुपर्यो भन्ने माग गरे। चन्द्रशमशेरले पाटनको शङ्खमूलमा रहेको तीनवटा सत्तलमा उनको बस्ने व्यवस्था गरिदिए। त्यसपछि उनी त्यहीं बसेर चर्खा प्रशिक्षण दिन थाले।
तुलसीमेहेरले नेपालमा आफ्नो कार्यक्षेत्र बनाएपछि पनि गान्धीले बेलाबेलामा चिठी लेखेर उनको र नेपालको हालखबर बुझ्ने गर्दथे। कार्य प्रगति लेखेर पठाउन भनिरहन्थे। त्यसैले गान्धी र तुलसीमेहेर बीच बराबर पत्राचार भएको कुरा सम्पूर्ण गान्धी वाङ्मय का विभिन्न खण्डहरूमा प्रकाशित चिठीहरूमा पाइन्छ।
गान्धी र तुलसीमेहेरबीच ३५–४० वटा चिठी आदानप्रदान भएको भेटिन्छ। सबै चिठीलाई मूल भाषाबाट हिन्दीमा उतार गरिएको हो, जसलाई ‘तुलसीमेहेर श्रेष्ठ स्मृतिग्रन्थ २०६१’ बाट लिइएको हो।
चिठीको केही नमूनाः
दिल्ली
(२१ सितम्बर, १९२४)
चि. तुलसीमेहेर,
आश्रमका पत्र तुम्हारे नामपर भेजनेका निश्चय मैने कल ही किया था। आज तो तुम्हारा पत्र आ गया। तुम और दुसरे आश्रमबासियों से मेरी तो यही प्रार्थना है की सब सत्य और अहिंसाका सेवन करें। जगत् मे किसी प्राणीकी घृणा न करें, और क्षुधासे पीडित करोडों हिन्दबासियों युवा काते, बुने और उसीका प्रचार करें। अक्षरज्ञान अवश्य हासिल करे। मानसिक शक्ति में वृद्धि करे। प्रातः चरखाको प्रधान पद दे।
मे खुब आनन्दमे हूँ। मेरी थोडी सी भी चिन्ता न करें।
बापुके आशीर्वाद
तलको चिठीमा गान्धीले तुलसीमेहेरलाई आश्रमवासी मात्र होइन परिवारकै सदस्यका रूपमा लिने गर्दथे भन्ने कुराको दृष्टान्त मिल्दछ। साथै गान्धीले दूधको सेवन नगर्ने भएकाले तुलसीमेहेरले पनि यसको पालन गरेको स्मरण गराउन खोजेका छन्ः
कार्तिक सुदी ८ (२५ अक्तुबर, १९२५) २
चि. तुलसीमेहेर,
तुम्हे बुखार आनेकी बात मैने सुनी थी लेकिन मैने उसकी कोई चिन्ता नहीं की थी। अब भाइ किशोरलाल लिखते है कि तुम्हारा शरीर अत्यन्त दुर्बल हो गया है और सम्भल नही रहा है, फिर भी तुम दूधरहित आहार से चिपके हुए हो। उस पत्रके मिलनेपर मैने तुम्हें तार तो भेज ही दिया था। तुमने दूध सुरु कर दिया होगा। कोई व्रत तो नही लिया है न ? दूध छोड्नेको प्रयोग मुझे पसन्द है, लेकिन जबतक उस प्रयोगको मैने सफल नही बना सकता तबतक साथीयोंके आरोग्यको जोखिममे डाल देनेकी बातसे मै सहमत नही हो सकता। इसलिए तुम दुर्बल हो जानेके बाबजुद दूधके त्याग से चिपके रहो, यस बात बरदास्त नही की जा सकती। तुमने दूध सुरु न किया हो तो कर देना। अभी दूध और फलपर ही रहना। जैसे–जैसे शरीरमे ताकत आती जाये वैसे–वैसे गेहुँ, चावल आदि लेना। यदि दस्त ठीक तरह से न होता हो और जरुरत जान पढे तो किसी विशेष ठन्डे स्थानपर जाकर रहो।
मुझे बरोबर उत्तर देना। तुम्हें ईश्वर जल्दी स्वस्थ करे।
साथका पत्र शान्ति–मेनलीको देना। जबाव माण्डवी लिख भेजोगे तो मुझे मिल जायेगे। मै आज भुज छोड्नेवाला हूँ।
बापुके आशीर्वाद
तुलसीमेहेरले नेपालमा आफूले गरेको कार्यप्रगति गान्धीलाई लेखेर पठाउने गर्दथे र गान्धी पनि उनलाई निर्देशन दिने गर्दथे भन्ने कुरा तलको चिठ्ठीले पुष्टि गर्दछ।
आश्रम, सावरमती
शुक्रबार, श्रावण कृष्ण ४, (२७ अगस्त, १९२६)
भाइ तुलसीमेहेर,
तुम्हारा पत्र मिलनेसे आनन्द होता है। बहुत अच्छा काम कर रहे हो। जो कपडे वहाँ बुने जाते है उसका थोडा सा नमुना काटकर भेज देना। वहाँ चरखाकी किमत क्या लगती है ? लकडी कहाँसे आती है ? चाक वहीं बनती है क्या ? बनती है सो क्या दाम लगता है ? चरखे कितने चलते है ? कताइका दाम क्या दिया जाता है ? सुतका आङ्क कितना रहता है ? सुतकी मजबुती परीक्षा करनेका रिवाज अगर नहीं रखा है तो रखना।
बापुके आशीर्वाद
नेपालमा कति चर्खा चल्दछ र तुलसीमेहेरले चर्खाको प्रचारप्रसार के कति गरेका छन् भनेर गान्धी हरहमेसा सचेत रहेको कुरा तलको चिठीले दर्शाउँछः
आश्विन कृष्ण २, १९८२ (२३ अक्तुबर, १९२६)
चि. तुलसीमेहेर,
तुमारे खत आते रहते है। स्वास्थ्य अच्छा रहता है जानकर मुझको आनन्द होता है। यहाँ आजकल बिमारी ठीक रही है। वहाँकी आबोहवा कैसी रहती है ? सब मिलाकर कितने चर्खे चलते है ?
बापुके आशीर्वाद
तुलसीमेहेर पत्रमा व्यक्तिगत अनुभव, अनुभूति र सपनामा देखेका कुरासमेत गान्धीलाई बताउने गर्दथे। गान्धीले अध्यात्म र व्यावहारिक जीवन बारे प्रकाश पार्दै उनलाई सम्झाउने प्रयत्न गरेको एउटा चिठ्ठी।
कुमार पार्क, बगलोर
८ जून, १९२७
चि. तुलसीमेहेर,
तुम्हारा पत्र मिला। तबियत अच्छी हो गई है जानकर आनन्द हुआ। अब दूधको छोडनेकी कोई आवश्यकता न समझी जाय। शरीर जनताके लिये है और मोक्षका दबा बन सकता है ऐसा समझकर धर्मानुसार यथाशक्ति रक्षा करना प्रत्येक सेवक और मुमुक्षुका कर्तव्य है। बिमारी मे दुष्ट वासना प्रतिमारूप बनकर खडी हो गई और पिछे दैवी शक्ति ने भी ऐसा ही किया यह अनुभव ठीक है। परन्तु इतना समझ लिया जाय कि दोनों निजकी मानसिक कृति है। और अच्छा धर्म यह है कि ऐसा अनुभव होनेकी भी हम प्रतीक्षा न करे। ईश्वर साक्षात्कार कोई चमत्कार नहीं है परन्तु कठिन तपश्चर्याका यह शुभ फल है और उसका अनुभव आत्माका अविच्छिन्न आनन्द ही सच्ची बात है। दुसरी सब वस्तु मिथ्या मानी जाय। और यही निष्काम सेवाका सच्चा धर्म है। दुःखके समय दुःखकी निवारणकी प्रार्थना करना यद्यपि त्याज्य नहीं है तो भी दुःखकी तितिक्षासे बढकर है। हम सुखकी भी इच्छा क्यों करें ? दुःख मिलो या सुख मिलो सब हमारे लिए एक ही बात लेना चाहिये। हम न सुखके लिये कोसिस करे न दुःखका समान तैयार करें। प्रतिक्षण जो कर्तव्य हमारे सामने आ जाता है उसको किसी अवस्थामें करें।
पहले जो मैने पत्र लिखा वह मिला होगा। महाराजको तर्कसे और अन्य अधिकारी के तर्कसे जो मदद मिल रही है वह सन्तोषकी बात है।
गान्धीको चिठी बेलाबेलामा नआउँदा तुलसीमेहेर गुनासो गरेर पत्र लेख्ने गर्दथे। यो पत्रमा गान्धीले यसबारे सम्झाउने प्रयास गरेका छन्ः
आश्रम, वर्धा
दिसम्बर १३, १९२८
चि. तुलसीमेहेर
तुमारा पत्र मिला है। तुमको न मैं भुला हूँ न कोई भुला है। लिखनेका कोई अवसर नही था इसलिए नही लिखा है। लालाजीके लिए जो लिखते हो वह ठीक ही है। तुमको आनन्द रहता है और कार्यकी सफलताके लिए आशा बढती ही जाती है इस लिये मै तुम्हारे लिये निश्चिन्त रहता हूँ। वास्तवमे सफलता होती है या नहीं वह तो भगवान् हीं जानता है। हमारा धर्म तो विश्वास रखनेका ही है। आजकल मै वर्धा आश्रममे हूँ। साथमे वा इत्यादि है।
बापुके आशीर्वाद
गान्धी मेहरसँग आश्रमको सञ्चालन र आयव्ययको विवरण समेत माग्ने गर्दथे भन्ने कुराको भेद यस पत्रले खोलेको छः
११ दिसम्बर, १९३२
चि. तुलसीमेहेर,
तुमारे दो पत्र मिले। मुझे तुमारा हिसाब चाहिये। प्रतिवर्ष कितने चर्खे बढे, कितना खर्च हुआ, धुनकी कितनी हुई, कितना कपास धुना, कितना काता–बुना इ. सब जैसे कार्यालयोंमे हुआ करता है। तुमारा स्वास्थ्य अच्छा जानकर आनन्द हुआ।
बापुके आशीर्वाद
१९९० सालको महाभूकम्पमा नेपाल र भारत दुवै देशमा ठूलो क्षति भएको थियो। तुलसीमेहेर त्यसबेला बनेपामा उद्धार सेवामा जुटेका थिए। उनले यहाँको हालखबर पोस्टकार्डमा छोटकरीमा लेखेर पठाएका थिए। तर, गान्धी क्षतिको विस्तृत विवरण चाहन्थे।
२० फरबरी, १९३४
चि. तुलसीमेहेर,
यह कैसी बात। दो शब्दका पोस्ट कार्ड ही क्यों ? सब हाल क्यों नहीं दिये है ? वहाँ कितना नुकसान हुआ ? स्टेट क्या कर रहा है ? सब हाल दो। थोडे दिनों मे पटना जाना होगा।
बापुके आशीर्वाद
तुलसीमेहेरले नेपालमा खादी कपडाको उत्पादन र बिक्रीवितरण मात्र गरेका थिएनन् उनले नेपाली कागजको नमूना गान्धीलाई पठाई ‘मार्केटिङ’ समेत गरेका थिए। गान्धी पनि नेपाली कागज बेच्न तयार थिए भन्ने कुरा तलको चिठीले बताउँदछः
२० अगस्त, १९३५
चि. तुलसीमेहेर,
तुमने जो अनुभव पाया है उसका उपयोग वहाँ होता होगा। जितने वहाँके कागज भेज सकते हैं इतने भेजो। उसे बेच सकुगा। सब कुशल है।
बापुके आशीर्वाद
गान्धीलाई नेपाल बोलाउने सपना
सामान्य लेखपढ गरेका तुलसीमेहेरले गान्धीको संरक्षण र निर्देशनमा खादी कपडाका लागि धुलाइ, कताइ, बुनाइ सिके। गान्धीबाटै आश्रम चलाउने तरिका, स्वरोजगारको शिक्षा, राष्ट्रलाई बस्त्रमा आत्मनिर्भर बनाउने घरेलु सीपको शिक्षा र समग्रमा मानवधर्मको ज्ञान लिए।
सरकारबाट उच्च पदमा बस्न आग्रह आउँदा पनि उनले गान्धी झैं मानवसेवामा लाग्ने प्रण गरे। कम्तीमा पनि राष्ट्रलाई बस्त्रमा आत्मनिर्भर बनाउन उनले चाहे। यसका लागि उनले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, पाल्पा, पर्सा, धनुषा र मोरङसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरे। धनुषाको महेन्द्रनगर क्षेत्रमा १०० बिघा जमीन किनेर कपास खेती समेत गरे।
तुलसीमेहेर गान्धीको चर्खामा मात्र सीमित थिएनन्। २००२ मा र २००४ सालमा राणशासनविरोधी सत्याग्रह, धर्ना एवं जुलूसमा भाग लिएबापत पटकपटक हिरासतमा समेत परेका थिए।
तुलसीमेहेर चाहन्थे– पाँचहजार महिलाहरूलाई चर्खा चलाउने एवम् धुलाइ, कताइ र बुनाइको सीप सिकाएर काठमाडौं ल्याउने र टुँडिखेलमा सामूहिक प्रदर्शनी गर्ने। अनि प्रदर्शनी देखाउने गान्धीलाई नेपालमा निम्त्याउने। तर, सन् १९४८ मै गान्धीको हत्या भएपछि यो उनको यो सपना साकार हुन पाएन।
भारत स्वतन्त्र भएको खुशियालीमा उपत्यकाको तीन शहरमा निस्केको जुलूसमा तुलसीमेहेर पनि पक्राउ परी हनुमानढोकामा थुनिएका थिए। यसबीच गान्धीको हत्यापछि थुनाबाटै निवेदन लेखेर गान्धीको काजकिरिया गर्न पाऊँ भनेपछि राणा सरकारले उनलाई छाडिदिएको थियो।
तुलसीमेहेरले शङ्खमूलघाटमा कपाल मुण्डन गरी सेतो बस्त्र लगाएर १३ दिनको काजकिरियाको व्यवहार पूरा गरेर एउटा पुत्रले गर्ने कर्म गरेका थिए।
तुलसीमेहेरको गान्धीप्रतिको समर्पण र सेवाभाव देखेर हुनुपर्छ, सन् १९७७ मा भारत सरकारले उनलाई ‘नेहरू पुरस्कार’ दिने घोषणा गर्यो। बिरामी तुलसीमेहेर पुरस्कार लिन जान सकेनन्। सन् १९७८ सेप्टेम्बर ४ मा नेपालस्थित भारतीय दूतावासमा भारतका तत्कालीन शिक्षामन्त्री डा. सिके चन्दरबाट उक्त पुरस्कार समर्पण गरियो। १० असोज २०३५ सालमा तुलसीमेहेरको निधन भयो।
(लेखक कोइराला ‘तुलसीमेहेर श्रेष्ठ स्मृतिग्रन्थ–२०६१’ का सम्पादक समेत हुन्।)