कोभिडपछि नेपालका निजी वायुसेवाको मासिक रू. ४ अर्ब आम्दानी गुम्यो
कोभिड-१९ कारण नेपालको हवाई क्षेत्रले मात्रै मासिक रू. चार अर्ब गुमाएको छ भने विश्वकै हवाई यातायात कोभिड अगाडिको सामान्य अवस्थामा फर्कन चार वर्ष लाग्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अनुमान छ।
कोभिड-१९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताएका छन्। पोखरेलले भने, ‘‘नीजि क्षेत्रको मात्रै रू.१ अर्ब लगानी रहेको हवाई क्षेत्रमा कोभिडका कारण मात्रै मासिक रू.चार अर्ब आय गुमेको छ।’’
कोभिडकै कारण नेपालको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले मात्रै आर्थिक वर्ष २०७६/७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको महानिर्देशक पोखरेलले बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बताए। आन्तरिक उडानतर्फ यो वर्ष ३६ देखि ३८ प्रतिशतले यात्रु संख्या घट्ने पनि उनको भनाइ छ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार हवाइ क्षेत्रमै काेभिडको सबैभन्दा बढी प्रभाव एशिया प्रशान्त क्षेत्रमा परेको छ।आइकाओका अनुसार गत वर्षको जनवरीदेखि अगष्ट २०२० सम्म वायुसेवा कम्पनीहरूले यात्रुबाट हुने आम्दानी ८६ प्रतिशतले गुमाएका छन्।
सन् २०२० को अन्तसम्म अघिल्लो वर्षको तुलनामा ७० देखि ७४ प्रतिशत अन्तर्राष्ट्रिय यात्रु घट्ने अनुमान आइकाओले गरेको छ। अन्तर्राष्ट्रिय हवाई यातायात संघले हवाई क्षेत्र कोभिडपूर्वको अवस्थामा फर्किन सन् २०२४ सम्म कुर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ।