के थिए गान्धी ?
सद्भाव र सहिष्णुताका प्रतीक गान्धीको आजको भारतले धर्मान्धतालाई समाप्त पारिरहेको छ या बढाइरहेको छ ? आफूलाई उदार बनाइरहेको छ या अझ कट्टर बनाइरहेको छ ? प्रश्न अहं छ ।
३० जनवरी, १९४८ मा भारतको राजधानी दिल्लीस्थित आफ्नो आश्रममा साँझ प्रार्थना गर्न निस्किंदै गर्दा हिन्दू अतिवादी नाथुराम गोड्सेले चलाएको गोलीबाट मोहनदास करमचन्द गान्धीको निधन भयो । अहिंसालाई जीवन–दर्शनको रूपमा अँगालेका र कर्मले ‘महात्मा’ उपनाम पाएका गान्धी स्वयम् हिंसाकै शिकार भई मृत्युवरण गर्नु ठूलो विडम्बना थियो।
अहिंसा र सद्भाव, गान्धीको जीवनका सार थिए । तर, राजनीतिमा निरपेक्ष अहिंसा र सद्भाव कति सम्भव भन्नेमा दार्शनिक रूपमै गम्भीर मतभेद छन्।
किनभने, जब हामी राज्यको अवधारणामा जान्छौं, यो आफैंमा हिंसाको साधन हो । सेना, प्रहरी, बन्दूक, संविधान, ऐन, कानून, नियम, अड्डा–अदालत— सबै बल प्रयोगका साधन हुन्, राज्यलाई बल प्रयोग गर्ने वैधानिकता प्राप्त छ।
हिंसाको जन्म बल प्रयोगबाटै हुने हो । तर, यो बल प्रयोगलाई आधुनिक शासन प्रणालीले शिष्ट, सभ्य, मर्यादित र सीमायुक्त बनाएको छ । त्यसैले गान्धीको ‘रामराज्य’ को भौतिक रूपमा सम्भव नदेखिए पनि यसले एउटा आदर्शका रूपमा भने आफूलाई उभ्याएको छ । अर्थात् कल्पना नै सही, गान्धीले एउटा आदर्श राज्यको मानक छाडेर गएका छन्।
गान्धीको शक्ति
गान्धीका अनेक मत छन्, जोसँग सहमत हुन सकिन्न । तर, पनि उनी बीसौं शताब्दीका एक महान् व्यक्तित्व हुन्, जसले भारत जस्तो विविधता, जटिलता र संवेदनशीलता भएको मुलुकबाट अंग्रेजलाई रक्तपातविहीन आन्दोलनका माध्यमबाट हटाउने नेतृत्व गरे।
कुनै एक जाति, धर्म, समुदाय वा भौगोलिक अवस्था नरहेको भारतमा करोडौं मानिसलाई एकसाथ परिचालन गर्न सक्ने असाधारण नेताका रूपमा गान्धीलाई सम्भवतः कसैले प्रतिस्थापन गर्न सक्ने छैन।
वस्तुले चेतनाको निर्माण गर्दछ भनेझैं युगको ठोस अवस्था र त्यसलाई व्यवहारमा लागू गर्ने आवश्यकताले नै नेता जन्माउँछ । भारतमा आधिपत्य जमाएको अंग्रेजलाई लखेट्न जुन नेतृत्वको आवश्यकता थियो र परिस्थितिले जे माग गरेको थियो, त्यसैका लागि गान्धीको उदय भएको थियो ।
स्वतन्त्रता त अरू तरिकाबाट पनि प्राप्त हुन्थ्यो होला । तर, गान्धीले जुन प्रकारले शान्तिपूर्ण रूपमा भारतीयहरूलाई आन्दोलनका लागि जगाए, त्यसले विश्वमै नयाँ सन्देश र बाटो देखायो।
अंग्रेजका विरुद्ध ‘पूर्ण स्वराज’ को माग गर्दै गान्धी नेतृत्वको सत्याग्रह र अवज्ञाको अहिंसात्मक आन्दोलन कुनै तोप–गोलाभन्दा कम शक्तिशाली सावित भएन । परिणामतः कुनै समय संसारमा ‘घाम नअस्ताउने’ भनेर कहलिएको बेलायती साम्राज्यका साथै फ्रेन्च, डच, पोर्चुगिज आदि विशाल साम्राज्य आज इतिहास बनेका छन्।
त्यसैले पनि गान्धीलाई विश्वका साम्राज्यवाद विरोधी नेताहरूमध्ये अग्रणी स्थानमा राखेको छ । आज कुनै पनि प्रकारको वैदेशिक हस्तक्षेप र साम्राज्यवादी नीति विरुद्ध लड्न गान्धी सबैका प्रेरणा स्तम्भ बनेका छन्।
यतिसम्म कि पहिला फ्रान्सेली साम्राज्य र पछि अमेरिकीसँग सशस्त्र संघर्ष गरेर भियतनामलाई स्वतन्त्रता दिलाउने हो चि मिन्हले समेत गान्धीको खुलेर प्रशंसा गरेका छन्।
त्यसो त अर्को पक्ष कुन रूपमा प्रस्तुत हुन्छ भन्ने कुुराले पनि संघर्षको स्वरुप निर्धारण गर्दछ । सम्भवतः बेलायतमा विन्स्टन चर्चिल पराजित भएर लेबर पार्टी सत्तामा नआएको भए भारतीय स्वतन्त्रता आन्दोलन त्यति सजिलै सफलतामा पुग्ने थिएन कि भन्ने विश्लेषण पनि गरिन्छ।
अंग्रेजहरूका लागि एकीकृत भारतमा जति धेरै हुलदंगा, लडाइँ, मारकाट हुन्थ्यो, त्यति नै फाइदा हुन्थ्यो । भारतीयहरू आन्तरिक द्वन्द्वमा फँसून् र आफ्नो सत्ता सुरक्षित गर्न सकियोस् भन्ने उनीहरूको चाहना मात्र थिएन, रणनीति नै थियो।
हिन्दू र मुस्लिमबीच गहिरो विभाजन रहेको भारतमा अलिकति परिस्थिति भड्किनासाथ हिंसाले फणा उठाइहाल्थ्यो । मोहम्मद अलि जिन्नाहले मुस्लिम लिग खोलेर अल्पसंख्यक मुस्लिमहरूको मात्रै पार्टी बनाइरहेका बेला बहुसंख्यक हिन्दूहरू पनि उत्तेजित बनिरहेका थिए । त्यस्तो बेलामा जन्मले आफू हिन्दू हुँदाहुँदै पनि गान्धी धर्म र त्यसको राजनीतिबाट माथि उठे।
आफ्नो कुनै उपाय नलागेपछि धर्मकै आधारमा मुलुक विभाजन हुँदा पनि त्यसबाट कमभन्दा कम क्षति होस् भन्नेतर्फ गान्धीले हरप्रयत्न गरिरहे । मुलुक विभाजन नहुने हो भने मोहम्मद अलि जिन्नाहलाई भारतको प्रधानमन्त्री समेत बनाउन सकिन्छ भनेर उनैले भायसराय लर्ड माउन्टबेटनसमक्ष प्रस्ताव राखेका थिए।
तर, गान्धीले आफ्नो यो प्रस्तावमा जिन्नाह मात्र होइन, भारतीय राष्ट्रिय कंग्रेसलाई पनि मनाउन सकेनन् र भारत दुई देशमा विभाजन भयो । यसबाट के देखिन्छ भने हिन्दू–मुस्लिम मिलेर बनेको भारत यी दुवै मिलेर अघि बढ्दा मात्रै सफल हुन्छ भन्ने धारणा गान्धीमा रहेको थियो।
समानताका पक्षपाती
गान्धी आमूल परिवर्तनमा नभएर क्रमिक सुधारमा विश्वास राख्ने नेता थिए । क्रमशः पूरै समाज सुधार्न सकिन्छ भन्ने विश्वास अनुसार नै उनले आफूलाई अभ्यस्त गर्दै आएका थिए।
स्वदेशी वस्तुको प्रयोग उनका लागि लहड मात्र थिएन, भारतलाई आफ्नो खुट्टामा उभ्याउने अभियान थियो । महिला शिक्षामा गान्धीका प्रेरणादायी कामहरूले देशलाई समानताको दिशामा लैजान ‘कोसेढुंगा’ को काम गर्यो।
कलंकका रूपमा रहेको जातीय छुवाछूत हटाउन गान्धीका कतिपय कदम ऐतिहासिक छन् । उनले ‘अछूत’ भनिनेहरूलाई ‘हरिजन’ थरमा बदल्ने मात्र होइन, अन्य थुप्रै अभियान पनि चलाए । यद्यपि, गान्धीको यो तरिकासँग डा. भीमराव अम्बेडकर लगायतका नेताहरू सहमत भएनन् । तर पनि दलित आरक्षणको जुन व्यवस्था गरियो, त्यसको आधार गान्धी नै हुन् भन्दा फरक पर्दैन ।
सामाजिक सुधारका लागि गान्धीले चालेका कदमबाट भारत सबैको उत्तिकै अधिकार भएको साझा घर हो भन्ने सन्देश प्रवाह भएको थियो । जातीय, वर्गीय र लैंगिक आधारमा हुने शोषण, दमन र थिचोमिचो हटाउन गान्धी सदैव लागिपरे।
‘गान्धीः द इअर्स द्याट चेञ्ज द वर् (१९१४–१९४८)’ पुस्तकमा रामचन्द्र गुहाले लेखे जस्तै गान्धीको जीवनलाई सूत्रबद्ध गर्दा प्राप्त हुने निष्कर्ष हुन्ः सत्याग्रह, अन्तरधार्मिक सहिष्णुता, वातावरणीय उत्तरदायित्व, अंग्रेजी साम्राज्यको अत्य, छुवाछूतको अवैधानिकीकरण र धेरै मात्रामा सत्यको सफल परीक्षण । भिन्न सोच, भिन्न जीवनशैली र भिन्न अभ्यासका कारण मानिसहरूका मनमा भिन्न स्थान बनाउन सफल गान्धी एक यस्ता युगपुरुष हुन्, जसको नाम निकालिदिने हो भने भारतीय स्वतन्त्रता संग्रामको इतिहासको त कल्पना गर्न सकिन्न, शताब्दीकै प्रभावशाली व्यक्तिहरूको सूची पनि अपूरो हुन्छ।
नेपालमा जन्मिएका गौतम बुद्धपछि यस हिमाली उपमहाद्वीपबाट सम्भवतः विश्वमै बढी चिनिएका व्यक्ति हुन्, गान्धी।
अहिंसा र आजको भारत
संयुक्त राष्ट्रसंघले उनको जन्म दिन २ अक्टोबरलाई ‘अन्तर्राष्ट्रिय अहिंसा दिवस’ का रूपमा स्वीकार गरेर गान्धीको महत्वलाई विश्वसामु थप उजागर गरेको छ । यसले गान्धीलाई विश्वव्यापी नेताका रूपमा स्थापित गर्नुका साथै आजको पुस्तामा स्मरणीय बनाइरहन मद्दत पनि गरेको छ।
गान्धीलाई एकातिर भारतबाट अंग्रेज धपाउनु थियो भने अर्कातिर हिन्दू–मुस्लिम सौहार्दता कायम राख्नु थियो । हुनसक्छ यही उद्देश्य हासिल गर्न बीचको बाटो खोज्ने क्रममा उनलाई अहिंसात्मक आन्दोलनले तानेको हुनुपर्छ।
हजारौं स्वतन्त्रताप्रेमीको निर्मम हत्या गर्दै जरा गाडेर बसेको अंग्रेजी साम्राज्यलाई सशस्त्र प्रतिकार गरेरै भारतबाट लखेट्नुपर्छ भन्ने भावना भारतीयहरूमा नभएको होइन । सुवासचन्द्र बोसको ‘आजाद हिन्द फौज’ र भगत सिंहहरूले बलिदानी यत्तिकै दिएका थिएनन्।
यहाँनेर बुझ्नुपर्ने कुरा– संवेदनशील सामाजिक बनोट रहेको भारतमा आन्दोलन अलिकति हिंसात्मक हुने हो भने त्यसले कति चर्को मूल्य चुकाउनुपर्छ भन्ने अनुमान सम्भवतः गान्धीलाई अरूभन्दा बढी थियो । आन्दोलन अहिंसात्मक हुँदाहुँदै त भारत–पाकिस्तान विभाजनमा लाखौंले ज्यान गुमाएका र करोडौं घरबारविहीन भएका आँकडा छन् भने कल्पना गरौं– आन्दोलन सशस्त्र भएको भए स्थिति कति भयावह हुन्थ्यो होला!
आश्चर्य त १५ अगस्ट, १९४७ अर्थात् स्वतन्त्र भारत घोषणा भएको दिनका पुस्तकहरू पढ्दा, उपलब्ध सीमित दृश्य र पत्रपत्रिकाहरू केलाउँदा त्यस ऐतिहासिक क्षणमा स्वतन्त्रता आन्दोलनका प्रमुख हस्ती गान्धी भेटिन्नन् । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले दिल्लीको लालकिल्लामा तिरंगा फहराएर विश्वको मानचित्रमा फेरबदल ल्याएको त्यो घटनाको वर्णन पढिरहँदा मनमा खट्किन्छ– यति ठूलो समारोहमा गान्धी किन अनुपस्थित?
तर, इतिहासका पाना पल्टाउँदै जाँदा भने बडो सन्तोषजनक उत्तर भेटिन्छ– गान्धीका लागि त्यसभन्दा महत्वपूर्ण काम बाँकी नै रहेछ । बंगालमा भड्किएको हिन्दू–मुस्लिम दंगा रोक्न अनशनका लागि उनी कलकत्ता पुगेका थिए।
धर्मका आधारमा भारत र पाकिस्तान छुट्याउने घोषणा भएपछि त्यसले जन्माएको अस्तव्यस्तता, अराजकता र हिंसाबाट व्यथित गान्धी बंगाललाई शान्त बनाएर नफर्किंदै दिल्लीलाई पनि साम्प्रदायिक हिंसाको आगोले लपेटिसकेको थियो । एकातिर टाल्यो, अर्कोतिर चुहिने कहालिलाग्दो अवस्थालाई नैतिक बलका आधारमा नियन्त्रण गर्ने कोशिश गर्दागर्दै आफैं हिंसाकै शिकार भए।
गान्धीका विचार कति व्यावहारिक छन् र भारतमै कति अवलम्बन भइरहेका छन् ? आणविक शक्तिसम्पन्न राष्ट्र भइसकेको भारतले आफूभित्र सहिष्णुता, सद्भाव र विविधतालाई बढावा दिइरहेको छ या खुम्च्याइरहेको छ?
धर्मको आधारमा देश विभाजन भोगिसकेको भारतले आज धर्मान्धतालाई समाप्त पारिरहेको छ या बढाइरहेको छ ? सद्भाव र सहिष्णुताका प्रतीक गान्धीको भारतले आफूलाई उदार बनाउँदै लगिरहेको छ या थप कट्टर बनाइरहेको छ ?
गान्धी जयन्ती मनाइरहँदा भारतमै पनि यी प्रश्नहरूमाथि बहस भइरहेको छ, जसको सरोकार हामीलाई पनि छ, हाम्रो देशको राजनीति र समाजलाई पनि छ।