शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि
साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक २०.६१ अकंले बढेको छ। बीमा तथा विकास ब्यांक समूहमा लगानीकर्ता आकर्षित हुँदा नेप्से परिसूचक बढेर १ हजार ५७१ विन्दुमा पुगेको हो।
बिहीबार सबैभन्दा धेरै निर्जीवन बीमा समूह ४.३१ प्रतिशतले बढेको छ । विकास ब्यांक समूह ३.४८ प्रतिशतले बढेको छ। जलविद्युत र म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचक सकारात्मक भएका छन्।
बिहीबार रू. २ अर्ब ८० करोड मूल्य बराबरका शेयर किनबेच भए। कारोबार भएकामध्ये १२१ कम्पनीका लगानीकर्ताले नाफा कमाए भने ४३ कम्पनीका लगानीकर्ताले गुमाए। ५ कम्पनीको शेयर मूल्य यथावत रह्यो।
सप्तकोशी विकास ब्यांकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। कामना सेवा विकास ब्यांक, मल्टीपर्पोज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट ब्यांक लगायतका कम्पनीका लगानीकर्ताले पनि झण्डै १० प्रतिशत नाफा कमाउन सफल भए।
तर, माउन्टेन हाइड्रो, पन्चकन्या माई जलविद्युत, हिमालयन ऊर्जा विकास, युनिर्भसल पावर लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाए। सबैभन्दा धेरै माउन्टेन हाइड्रोका लगानीकर्ताले झण्डै १० प्रतिशत नोक्सान बेहोरे।