रानीपोखरीको बालगोपालेश्वरमा राखियो ३३ तोला सुनको जलपसहितको चाँदीको गजुर (तस्वीरहरू)
रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको हो। यसअघि गुम्बज शैलीमा बनाइएको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ।
ताम्रपत्रमा सुनको लेपन लगाएर निर्माण गरिएको मुख्य गजुरको उचाइ ६ फिट १० इन्च छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले मन्दिरमा राखिएका सबै गजुरमा गरी करीब ३२.८ तोला सुनको जलप लगाइएको बताए।
मन्दिरको गजुर १२३ किलो ताम्रपत्र प्रयोग गरी निर्माण गरिएको छ। मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ। गजुर निर्माणमा करीब रू. ३३ लाख खर्च भएको उनले बताए।
३ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकोमा यसको करीब पाँच वर्षपछि पुनर्निर्माणको काम सकिने चरणमा छ। प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटीकाको दिन मन्दिर खोल्ने गरी पुनर्निर्माणका सबै प्रक्रिया सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको बताए।