के थारु अशुध्द उच्चारण गर्ने जाति हो ?
मुनि थोप्ला राखिने वर्ण ‘ड’ र ‘ढ’ को उच्चारण थारु भाषामा ‘र’ हुन्छ। नेपाली भाषामा अभ्यस्त भएका र रमाएकाले मात्र ‘ड’ र ‘ढ’ नै उच्चारण गर्छन्। थारु जिब्रोले ‘सडक’लाई ‘सरक’ भन्छ। त्यसैले संस्कृत भाषा मूल भएकाहरुले थारुहरुलाई ‘अशुद्ध उच्चारण गर्ने जाति’ भन्छन्।
कथ्य थारु भाषा लेख्य रुपमा आउन थालेको धेरै भएको छैन। हजारौँ थारु श्लोक मुखाग्र गाउने लोकगायकहरुले आपूmले जानेका लोककाव्य अझै पनि आफैँ लेख्दैनन्। लोकभाषाप्रति पहिलो अन्याय यहीँबाट शुरु हुन्छ। उनीहरुले उच्चारण गरेको वर्णविन्यासलाई हामी औपचारिक शिक्षा पढेका थारुहरुले बुझ्दैनौँ। अनि त नेपाली वर्णविन्यासमा लेख्नुपर्छ।
पुर्खाहरुले हामीलाई प्राकृत उच्चारणयुक्त थारु भाषा सिकाएका हुन्। हामीले पनि त्यही रुपमा आउँदो पुस्तालाई सुम्पनुपर्ने हो। थारु भाषामा लेख्ने भनेर तत्सम शब्दको ओइरो लगाउँदा मात्र थारु भाषा बन्दैन। कथ्य भाषालाई नै आधार बनाएर झर्रो लेखाइमा केही थारु भाषाका लेखकहरु लाग्नुभएको छ।
झर्रो भाषाको बहस थारु भाषामा मात्र भएको होइन। २०१३ सालमा डा.तारानाथ शर्मा, कोशराज रेग्मी, चुडामणी रेग्मी, गणेश भण्डारी, बल्लभमणि दाहाल, बालकृष्ण पोखरेलले झर्रोवादी आन्दोलन शुरु गरे। सो आन्दोलन कतिपयलाई टर्रो लाग्दा पनि प्रतिष्ठित भयो। यो आन्दोलनको सकारात्मक प्रभाव अरु भाषाले पनि सिक्नुपर्छ।
जस्तो जिब्रो उस्तै भाषा
भाषाको प्रकृति नबुझेर बोलियो, लेखियो या पढियो भने अनर्थ हुन्छ। थारु लोकजिब्रोले ‘ट’ वर्गको मूर्धन्य वर्णहरुको मात्र उच्चारण गर्छ। ‘त’ वर्गको दन्त्य वर्णहरु उच्चारण गर्दैन। थारुहरुमा नेपाली भाषाको प्रभावमा परेर दन्त्य वर्णको उच्चारण र प्रयोग अत्यधिक र अस्वाभाविक रुपमा बढेको छ।
थारु अभिभावकले आफ्ना छोराछोरीसँग नेपालीमा कुरा गर्ने अभ्यासले थारु भाषामा डढेलो लागेको छ। थारु बोल्दा पनि बीचबीचमा मिसाइने नेपाली शब्दले भाषा कुरुप बनाएको छ। त्यसैले थारु पहिचान जोगाइराख्न ठेट भाषाको प्रयोग गर्नैपर्छ।
यो पङ्तिकारले आफ्नो शिक्षण अवधिमा माथिल्लो कक्षाका थारु छात्र‒छात्राहरुले विभिन्न विषयको उत्तरमा थारु लोकजिब्रोको स्वभाव अनुसार शब्द लेखेको भेटेको थियो। उनीहरुले कथिनाइ (कठिनाइ), धिलाइ (ढिलाइ), बोतबिरुवा (बोटबिरुवा), दम्फु (डम्फु), नातक (नाटक), क्रेटा (क्रेता), असिमिट (असिमित), निर्नय (निणर्य), ढरती (धरती) लेखेको भेट्दा मन छटपटाउँथ्यो। तर, हामीहरुले भाषाशास्त्रको आधारमा यसको अध्ययन गर्यौँ भने मात्र यथार्थ बुझ्न सकिन्छ।
मैले भेटेका ती विद्यार्थीको लेखाइभन्दा ठीक विपरित अचेल थारु भाषाका पत्रपत्रिका, पुस्तक, सञ्चारमाध्यम र बोलचालमा दन्त्य वर्णको प्रयोग बढिरहेको छ। तर र अनि जस्ता नेपाली शब्दको प्रयोग पनि बढेको छ। यहीकारण ठेट भाषा बिग्रँदै गएको छ।
भाषा शुद्ध, सरल तथा बुझिने हुनुपर्छ। तसर्थ कथ्य भाषामा सुनिने वर्ण र ठेट शब्दको प्रयोग गरेमा बालमस्तिष्कलाई सजिलो हुन्छ। भाषाको शब्द सामर्थ्य पनि बढ्छ। अन्य भाषामा पनि आगन्तुक शब्दलाई बिगारेर प्रयोग गरिएको छ। जस्तो अङ्ग्रेजीको बोटल नेपालीमा बोतल हुन्छ। अंग्रेजीको क्याप्टेन नेपालीमा कप्तान, अंग्रेजीको टोबाको नेपालीमा तम्बाकु भएका छन्। संस्कृतमा दन्त्य रहेका हिज्जे ‘खात’, ‘स्थूल’ र ‘तहलनम्’ नेपालीमा मूर्धन्य वर्णका ‘खाल्टो’, ‘ठूलो’ र ‘टहल्नु’ भए।
भाषा शुद्ध, सरल तथा बुझिने हुनुपर्छ। तसर्थ कथ्य भाषामा सुनिने वर्ण र ठेट शब्दको प्रयोग गरेमा बालमस्तिष्कलाई सजिलो हुन्छ। भाषाको शब्द सामर्थ्य पनि बढ्छ। अन्य भाषामा पनि आगन्तुक शब्दलाई बिगारेर प्रयोग गरिएको छ।
यी शब्द ध्वनिको परिवर्तनको प्रश्नमा मात्र नभएर अहिले झर्रोवादी र आधुनिकतावादी थारुबीच भएको मूर्धन्य ‘ट’ र दन्त्य ‘त’ मा भएका परिवर्तनको उदाहरण पनि हुन्। अंग्रेजीको ‘ट’ र ‘ड’ दन्त्य ‘त’ र ‘द’ मा र संस्कृतको ‘त’ नेपालीमा ‘ट’ मा किन परिवर्तित भयो? झर्रोवादी र आधुनिकतावादी थारुबीचको भाषा विवादको उत्तर यसैमा छ।
प्रत्येक भाषामा आ‒आफ्नै ढंगका ध्वनि, वर्ण र व्याकरण हुन्छन्। ‘नेपाली सरल व्याकरण’लाई अगाडि राखेर ‘थारु लिरौसी व्याकरण’ लेखेर थारु व्याकरण सरल बन्दैन। प्रत्येक मातृभाषीले दोस्रो भाषाबाट सापटी लिएको शब्दको हिज्जे आफ्नै भाषाको व्याकरण (जिब्रो) अनुरुप गरेको पाइन्छ। कुनै पनि भाषा दोस्रो भाषाको ध्वनिबाट प्रभावित हुँदैन।
भाषाविदहरुका लागि साहित्यिक भाषाभन्दा ग्रामीण बोलीले महत्व राख्छ। थारुले बोल्ने ‘पिट्टर’, ग्रीकमा बोलिने ‘पाटर’ र संस्कृतमा बोलिने ‘पितृ’को उच्चारणमा भिन्नता छ।
दक्षिणी अप्रभंश भाषामा ‘ष’ को उच्चारण ‘ख’ या ‘क्ख’ हुन्छ। ऋषिलाई थारु भाषामा रिखि भनिएको कारण त्यही हो। पूर्वी अप्रभंश भाषामा ‘य’ को उच्चारण ‘ज’ तथा ‘क्ष’ को उच्चारण ‘ख’ या ‘क्ख’ हुन्छ। ‘यक्षिणी’लाई थारु भाषामा ‘जाख्नी’ र ‘योगी’लाई ‘जोग्या’ भनेको कारण पनि यही हो।
मुनि थोप्ला राखिने वर्ण ‘ड’ र ‘ढ’ र उच्चारण थारु भाषामा ‘र’ हुन्छ। नेपाली भाषामा अभ्यस्त भएका र रमाएकाले मात्र ‘ड’ र ‘ढ’ नै उच्चारण गर्छन्। थारु र नेपाली भाषाबीच यस्ता धेरै फरक छन्। संस्कृत र नेपाली भाषाको युधिष्ठिरलाई थारु भाषामा जुढिष्ठिल, कुन्तीलाई कोटारिन माइ, दूर्योधनलाई जिरिजोढन किन भनियो? यहाँ कुन भाषिक सिद्धान्तले यो परिवर्तन ल्यायो? यस्ता विवाद समाधानका लागि थारुहरुबीच धेरै पटक औपचारिक गोष्ठी भएकै हुन्।
२०५५ सालमा ‘गुर्बाबा थारु शब्दकोश’ निर्माण गर्दा काठमाण्डौमा र मंसीर २०५९ मा दाङदेखि कन्चनपुरसम्म ६ जिल्लाका थारुहरु भेला भएका थिए। जसमा नेपाली र हिन्दी सिक्नका लागि थारु भाषामा ‘त’ वर्ण समावेश गर्नुपर्ने तर्क आएको थियो। अन्य भाषा सिक्न थारु भाषाका वर्ण, व्याकरण र हिज्जे विगार्ने तर्क कुनै हालतमा स्वीकार्य हुन सक्दैन। थारुहरुले आफ्नो भाषा बोल्दा नेपाली वर्ण र शब्द मिसाएर खिचडी बनाउन उपयुक्त हुँदैन।
२०६५ सालमा थारु लोकवार्ता तथा लोकजीवनबारे एक वर्षे अनुसन्धान गर्दा डङ्गौरा थारु बोलीमा २९ ओटा व्यञ्जन र आठ ओटा वर्ण प्रयोगमा आएको भेटिएको थियो। तर, अन्य वर्ण नआउनुको कारण शिक्षित थारुहरुले नै अन्तर्वार्तामा थारु बोल्दा नेपाली शब्द र नेपाली बोल्दा थारु शब्द मिसाउनु हो। यस्तो बानीलाई भाषाशास्त्रमा ‘कोड स्विचिङ’ र ‘कोड मिक्सिङ’ भनिन्छ।
माधवप्रसाद पोखरेलका अनुसार कुनै पनि भाषाका वर्ण सीमित हुन्छन्। (थारु र) नेवारी भाषीका लागि ‘ट्’ वर्गका वर्ण हुन् भने ‘त्’ वर्गका संवर्ण हुन्। भाषाका वक्ताहरुले वर्णको फरक थाहा पाउँछन् तर, संवर्णको फरक थाहा पाउँदैनन्। वर्णहरु वर्णमालामा लेखिन्छन्, संवर्णहरु लेखिदैनन्।
जस्तो, नेपालीका ‘क्’ र ‘ख्’ अंग्रेजी भाषीले समान सुन्छन्। नेपाली भाषाको ‘अ’ अंग्रेजी भाषीले बेग्लै सुन्छन्। भाषाका वक्ताहरुले आफ्नो भाषा लेख्ता वा बोल्दा आफ्नो भाषाका वर्णहरुको आलेखनमा गल्ती गर्दैनन्, संवर्णको या आफ्नो भाषाको संवर्णमा पनि नभएका ध्वनिहरुको आलेखनमा गल्ती गर्छन्। थारुहरुले गरिरहेको गल्ती यही हो।
धेरै परिवारमा आफ्ना सन्तानलाई मातृभाषा सिकाउनुको साटो नेपाली भाषा सिकाउने बढ्दो प्रवृत्तिले मातृभाषाहरु लोप हुँदै गएको डा. माधवप्रसाद पोखरेलले उल्लेख गरेका छन्। बूढो पुस्ताको थारुको जिब्रोको कथ्य भाषालाई लेख्य रुप दिनुपर्ने उनको भनाइ छ। तर, नेपालीमा जस्तै गर्न नहुने बताउँछन्।
नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको नेपाली भाषा अधिगोष्ठी‒०३३ को प्रतिवेदनमा डा. हर्क गुरुङ (०३३ः१०) लेख्छन्, “कुनै जातिको इतिहास बुझ्न जातीय, स्थानीय भाषामा बोलिने शब्दहरु बडा लाभदायक हुन्छन्। अतः आमजनता छेउ पुगेर भाषाको प्रयोग गर्नुपर्छ।” यस उद्गार अनुसार जनबोलीमा इतिहास रहेकोले कथ्य भाषालाई लेख्य रुप दिनु पर्छ।
प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति सूर्यविक्रम, तत्कालिन उप‒कुलपति लैनसिंह वाङदेल लगायतले पनि भाषाको इतिहास लेख्न पुर्खाको जिब्रोले बोलेका शब्द र उच्चारणलाई स्वीकार्नु पर्ने बताएका छन्। त्यसकारण थारु शब्दमा विकृति ल्याएर भाषिक इतिहास मास्न र अर्काको नक्कल गर्न हुँदैन।
उहिले अशोक सम्राटले पनि जनभाषालाई नै राजकीय भाषा बनाएर जनबोलीको सम्मान गरेका थिए। सन्त कबीर दास र विद्यापतिले भारतमा लोकभाषाकै वकालत गर्दै उच्च स्तरीय लोक साहित्य रचेका थिए। बुद्धिसागरको कर्नाली ब्लुजभित्र छुट्टिदैथेँ, आको हुम् (पृ.८) फोटा, बा, आइमाई, बाज्या, डाक्दर, मरिगया सप्पै, कालिकोटाँ, हेलिकप्टराँ सिट पाइन्या छ कि? (पृ.१०), गाथिस् (पृ.१५) जस्ता अनगिन्ती शब्दहरु छन्। कर्नाली ब्लुजलाई यस्तै शब्दहरुले पनि उचाइमा पु¥याएका हुन्।
भाषा कसरी मर्छ ?
बहुसंख्यकले बोल्ने भाषाका कारया मातृभाषा कसरी लोप हुन्छ भन्ने नजिर विश्वका अन्य देशमा पनि पाइन्छ। अस्टे«लियाको उत्तरी तटीय क्षेत्रका प्याट्रिक नदुजुलु आदिवासीमध्ये तीन जनामा एक जनाले मात्र स्थानीय ‘माटिके’ भाषा बोल्छन्। अङ्ग्रेजी लगायत मुख्य भाषाका कारण सबै देशमा यो समस्या देखिएको छ। मूल भाषा पनि शुद्ध बोल्न नसक्ने स्थिति कयौँ देशमा छ।
वास्तवमा अङ्ग्रेजीले धेरै भाषाको अस्तित्व मेटाएको छ। तर अङ्ग्रेजी आफैँले आफ्नो पहिचान खोजिरहेको छ। ल्याटिन फ्रेन्च र जर्मनीलगायत भाषाको बढी संमिश्रणले ठेट अङ्ग्रेजी अनौठो लाग्छ। लेखक मार्क एब्लीको शब्दमा यस्तो अभ्यासले मौलिकता गुम्छ।
एक दशक अघि एब्लीले भाषा कसरी शब्द–शब्द गरेर गुम्छ भन्ने बारे अध्ययन थालेका थिए। उनले क्यानाडाको क्युबेकस्थित एक बूढी महिलाबाट अध्ययन शुरु गरे। ती महिलाले स्थानीय अमेरिकीहरुलाई अबेन्की भाषा सिकाउँदा उनको भाषामा अर्थ बुझाउनु परेकोले आफ्नो मातृभाषा बिर्सिएको एब्लीको टिप्पणी छ (कान्तिपुर, ८माघ०६१)।
१८औँ शताब्दितिर दक्षिण अफ्रिकाबाट आएका मोरिससका हब्सीहरुमा राज्यको प्रमुख भाषा सिक्ने होडबाजी नै चल्यो। परिणामतः उनीहरुको मातृभाषा लोप भयो र नयाँ विकृत ‘फ्रेञ्च क्रिओल’ भाषा विकसित भयो। अहिलेसम्म पनि उनीहरुको सम्पर्क भाषा क्रिओल नै भएको छ।
नरेशप्रसाद भोक्ताका अनुसार भारतमा हिन्दीको प्रभाव सन् १८५० पछि देखियो, जसको कारक तत्व अंग्रेज शासन थियो। बिहारको मिथिला क्षेत्रमा मगही, भोजपुरी, अवधी र ब्रज भाषा लेख्न कैथी र तिरहुती लिपिको साथसाथै देवनागरी लिपिको प्रयोग हुन्थ्यो। राजस्व सदर बोर्डले सन् १८५२ मा सरकारी प्रशासक, पटवारीहरुलाई प्रपत्रहरु कैथी लिपिमा नलेखेर नागरी लिपिमा लेख्न कडा निर्देशन दियो।
माधवप्रसाद पोखरेलका अनुसार जातिगत भाषिक तत्वलाई महत्व नदिएर शक्तिशाली भाषाको प्रभावमा परेका कमजोर भाषाभाषीले आफ्नो नैसर्गिक प्रवृति बिर्सन थाल्छन्। बिस्तारै उनीहरुको मातृभाषा लोप हुन थाल्छ।
सन् १८६० मा सरकारद्वारा पाठ्यपुस्तक लगायत सम्पूर्ण सरकारी अभिलेख देवनागरीमा लेख्न अनिवार्य गरियो। त्यसपछि मैथिली, मगही, भोजपुरी, अवधी, बघेली, छत्तिसगढी, ब्रज, कन्नौजी, बुन्देली भाषीहरुले आफ्नो भाषिक अस्मिता बिर्सेर लोकभाषाको सट्टामा शिष्ट भाषा स्वीकार गरे (‘दायित्वबोध’बाट नेपालीमा अनुवाद)।
माधवप्रसाद पोखरेलका अनुसार जातिगत भाषिक तत्वलाई महत्व नदिएर शक्तिशाली भाषाको प्रभावमा परेका कमजोर भाषाभाषीले आफ्नो नैसर्गिक प्रवृति बिर्सन थाल्छन्। बिस्तारै उनीहरुको मातृभाषा लोप हुन थाल्छ।
दाङको नवलपुरका प्रेमबहादुर कुसुन्डाले १०‒१२बर्षको उमेरमा वन छोडे। मगर्नीसँग बिहे गरे। आफ्नो मातृभाषा बोल्ने मान्छे नपाउँदा नेपालीमा कुरा गर्न थाले। २०५३ सालमा उनले ३६ प्रतिशत कुसुन्डा भाषा बिर्सिएको पाइयो। चार वर्षपछि पुनः भेटेको वेला कुसुन्डा भाषाका शब्द सोद्धा उनले निकै बेर घोरिएर सम्झिनु परेको पोखरेलले उल्लेख गरेका छन् (२८ वैशाख २०६१, कान्तिपुर)। हेटौडाका ३० प्रतिशतल चेपाङहरुले मात्र मातृभाषा बोल्छन्।
यी उदाहरणहरुले थारुहरुलाई ‘नदुजुलु’ बनेर आफ्नो भाषालाई ‘माटिके’ र ‘अबेन्की’ मा रुपान्तरण नगर्न र थारु शब्दहरुको अस्मिता नबिर्सन सङ्केत गर्छ। कतिपय थारुहरु आधुनिकताको दौडमा “बुढा मरे, भाषा सरे” जस्ता उखान अर्थको अनर्थ लगाएर थारु भाषालाई अन्य भाषाको आडमा टिकेको प्रमाणित गर्न लागेका छन्। यहीकारण डा. रामविक्रम सिजापती लेख्छन्, “थारुहरुको आफ्नै भाषा भए पनि ठाउँ अनुसारको भाषाको प्रभावमा परेर यिनीहरुको आफ्नो भाषामा विकृति आएको छ।” (भाषा प्रतिवेदन, ने.रा.प्र.प्र.)
यसरी विकृति आएका उदाहरण धेरै छन्। रामभरोस कापडी भ्रमर फागुन २०६१ को गरिमा मासिकमा लेख्छन्, “सङ्ग्रहमा आएका थारु लोकगीतमा अधिकांश मैथिली लोकगीत नै देखिन्छन्। मिथिलाञ्चलका थारुहरुको कुनै छुट्टै भाषा हुन्छ भन्नेमा विद्वानहरु एक मत छैनन्। पश्चिम नेपालका थारुहरुको भाषा बुझ्न अलि अप्ठेरो हुने गर्छ।”
स्वतन्त्र भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले आफ्नो पुस्तक ‘चम्पारन मेँ महात्मा गान्धी’ मा पनि थारुहरुले भोजपुरीजस्तो बोलेको उल्लेख गरेका छन्। घना बस्ती भएको चम्पारनका थारुहरुको भाषा भोजपुरी नभए पनि उस्तै सुनिने उनले लेखेका छन्।
झर्रोवादी सङ्घ¥याहरु! युनेस्कोले हरेक समुदायको ‘भाषा सहितको मौखिक परम्परा’लाई ‘अमूर्त सांस्कृतिक सम्पदा’ परिभाषित गरेको छ। नेपाल यस महासन्धिको पक्ष राष्ट्र बनेर राष्ट्रिय संस्कृति नीति‒२०६७’ जारी गरिसकेको छ। आईएलओ‒१६९ ले भाषासहितको मौखिक परम्परालाई स्वपहिचानको पहिलो तत्व मानेको थियो।
त्यसैले आफ्नो जिब्रोलाई मातृभाषामा अभ्यस्त गरौँ। आफ्ना सन्तानसँग मातृभाषामा कुरा गर्न थाल्यौँ। थारु भाषा बोल्दा अन्य भाषाका शब्द घुसाएर ‘कुरुप’ नबोलौँ। यसैले भाषालाई पुस्तान्तर गर्न सघाउने छ।