हवाई उड्डयन क्षेत्र सामान्य अवस्थामा फर्कंदै, दैनिक हुनथाले १५० उडान गतिविधि
अन्तर्राष्ट्रिय उडान दैनिक १३ देखि १५ वटा र आन्तरिक उडान ७५ वटासम्मलाई स्वीकृति दिएसँगै अब विमानस्थलमा हुने उडान तथा अवतरणको गतिविधि दैनिक १५० वटा भन्दा बढी हुन पुगेको छ।
कोरोना महामारीका कारण ६ महीनादेखि ठप्प हवाइ उड्डयन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। सरकारले १६ भदौदेखि अन्तर्राष्ट्रिय र ५ असोजदेखि आन्तरिक उडानलाई नियमित तालिकामा खुला गर्न थालेसँगै विमानस्थलमा चापसमेत बढ्न थालेकाे छ।
सरकारले अन्तर्राष्ट्रिय उडानका वायुसेवलाई मागेजति उडान अनुमति दिन थालेको छ भने आन्तरिक उडानका वायुसेवाको पनि उडान तालिका कोभिड अगाडिको तुलनामा २५ प्रतिशतबाट शुरू गरिएको १० दिन पछि नै करीब ५० प्रतिशतसम्म पुर्याउन दिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडान दैनिक १३ देखि १५ वटा र आन्तरिक उडान ७५ वटासम्मलाई स्वीकृति दिइएको छ। प्राधिकरणले १५ असोजदेखि दिएको नयाँ उडान तालिकाबाट यात्रुको चलहपलह बढेको छ भने वायुसेवाले पनि आश्यकता अनुसार उडान तालिका बढाउन थालेका छन्।
यस्तो उडानमा केही उडान नहुने र केही काठमाडाै बाहिरबाट हुने भएकाेले काठमाडाैबाट मात्रै हुने उडान तथा अवतरणको तालिका अनुसार विमानस्थलबाट नियमित उडान तथा अवतरण मात्रै करीब १५० भन्दा बढी हुन थालेको छ। अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड उडानपनि हुँदा विमानस्थको चाप थप बढ्ने छ।
प्राधिकरणले १५ असोजदेखि दिएको नयाँ उडान तालिकाबाट यात्रुको चलहपलह बढेको छ भने वायुसेवाले पनि आश्यकता अनुसार उडान तालिका बढाउन थालेका छन्।
प्राधिकरणका अनुसार आन्तरिक उडानका वायुसेवाले १५ असोज (बिहीबार) देखि दैनिक ७३ वटा र अन्तर्राष्ट्रिय उडान दैनिक १५ वटा उडान गर्न थालेको छ। यस्तो उडानमा दैनिक १० देशका १४ वटा अन्तर्राष्ट्रिय वायुसेवाको उडान भइरहेको छ।
आन्तरिकतर्फ भने ७ वटा वायुसेवा कम्पनीले दैनिक ७३ वटा उडान तालिका स्वीकृत गराएका छन्। यो तालिका काठमाडौबाट हुने उडानको लागि हो। काठमाडौं बाहिरबाट हुने उडानको तालिका पनि जोड्ने हो भने दैनिक ७५ भन्दा बढी आन्तरिक उडान हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ।
आन्तरिक वायुसेवामा बुद्ध एअरले दैनिक १७ बाट ३० उडान, यतीले १० बाट १५, श्रीले ८ बाट १५, सिम्रिकले दैनिक एक बाट दुईवटा उडान गर्न शुरू गरेका छन्।
दुर्गम क्षेत्रमा उडान गर्ने ताराले दैनिक ६ वटा र सीताले दैनिक तीन वटा र समिटको काठमाडौंबाट दैनिक दुई र जोमसोममा भने साताको पाँच वटा उडान गर्ने गरी प्राधिकरणले उडान तालिका स्वीकृति दिएको छ।
प्राधिकरणले स्वीकृति दिएको तालिकाअनुसार वायुसेवाले उडान गर्न शुरू गरेकोले पनि हवाई उडान सामान्य अवस्थातर्फ फर्किन शुरू भएको प्राधिकरणका प्रवक्ता क्षेत्री बताउँछन्।