स्वास्थ्य समस्या नै नभएका अरविन्दको अनुभव- ‘मृत्युको मुखबाट मुश्किलले फर्किएँ, कोरोनालाई हल्का नठानौं’
वीरगञ्ज निवासी शिक्षक, सामाजिक कार्यकर्ता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अरविन्द सिंह (४३) कोरोनाभाइरस संक्रमण भएर झन्डै दुई महीनाको उपचारपछि निको भएका छन्। ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका उनलाई स्वास्थ्य स्थिति जटिल बनेपछि हेलिकप्टरबाट २० साउनमा काठमाडौं ल्याएर पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भयो। पाटन कोभिड अस्पतालको आईसीयूमा भर्ना भएका र करीब ५१ दिन अक्सिजनको सहारामा उपचार गराएका उनी ६ असोजमा डिस्चार्ज भए। सिंहले संक्रमित भएपछिको भोगाइ र अस्पताल बस्दाको अनुभव हिमालखबरसँग यसरी बताएः
पेशाले शिक्षक हुँ, सामाजिक कामहरूमा पनि सक्रिय रहँदै आएको छु। कहिल्यै बिरामी भएको थाहा छैन। हरेक तीन महीनामा रगत दिएर ६० पटकभन्दा बढी रक्तदान गरेको छु। नियमित जिम गर्थें, डेढ सय किलोसम्मको वेट उचाल्थें। यति कुरा किन भनेको हुँ भने, तन्दुरुस्त मानिसलाई पनि कोरोनाभाइरसले असाध्यै गाह्रो अवस्थामा पुर्याउँदो रहेछ।
साउनको १३/१४ गतेतिर घाँटी दुख्ने, ज्वरो आउने भयो। पीसीआर परीक्षण गराएँ। तर, रिपोर्ट आइसकेको थिएन। घरमै बसेर औषधि खाँदा ठीक नभएपछि कोभिड अस्पतालको आईसीयूमा भर्ना भएँ। अस्पताल पुगेपछि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आयो। १९ साउनको राति अर्को अस्पतालमा सारियो।
त्यसपछि त झन् निरन्तर खोकी लाग्यो, रगत पनि आउन थाल्यो। डाक्टरहरूले औषधि दिए पनि खोकी निको भएन। त्यो रात केहीबेरसम्म त बेडबाट बेसिनमा गएर रगत थुकें। तर, पछि त बेडबाट झर्नै सकिनँ। खोकीसँगै आएको रगत निल्दै बसेँ।
म अस्पतालमा भएको पर्यटन मन्त्री योगेश भट्टराईले थाहा पाएर भोलिपल्ट बिहानै फोन गर्नुभयो। हेलिकप्टर पठाइदिन्छु, काठमाडौं आउनु भन्नुभयो। तत्कालीन नेकपा एमालेको केन्द्रीय प्रचार विभागको उहाँ प्रमुख हुँदा म सदस्य भएकाले हामी निकट थियौं। काठमाडौं जानेबारे डाक्टरहरूलाई भन्दा उहाँहरूले जानु ठीक हो भन्नुभयो। त्यसपछि चाहिँ मेरो अवस्था गम्भीर रहेछ भनेर डर लाग्यो।
२० साउनमा हेलिकप्टरले काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्यायो। त्यहाँ बेड नभएपछि पाटन अस्पतालमा लगियो। तर, त्यो कोभिड अस्पताल भएकाले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भएकालाई भर्ना गरेन। मलाई अक्सिजन चाहिएकाले पाटनबाट नजिकैको मेडिसिटी लगेर आईसीयूमा राखिएछ। मेरो पीसीआर परीक्षण पनि गरे। तर, रिपोर्ट के आयो भनेनन्। अर्को ठाउँमा सिफ्ट गर्दैछौं मात्र भनेर पठाए। करीब ३० घण्टा मेडिसिटीको बसाइपछि २१ साउनको मध्यरातमा पाटन अस्पताल लगियो। त्यहाँ पुर्याएपछि पो कोरोना पोजिटिभ आएछ भन्ने थाहा भयो।
आईसीयूको पीडादायी बसाइ
पाटन कोभिड अस्पतालको आईसीयू कक्षमा बेड नम्बर २ मा मलाई राखियो। १४/१५ दिनको आईसीयू बसाइ पीडादायीसँगै डरलाग्दो भयो। अस्पताल जाने बित्तिकै नजिकैको बेडमा रातभर शव राखेको अवस्थामा बस्नुपर्यो। आईसीयूमा डाइलसिस गर्ने बिरामीहरूको चिच्याहटसँगै साढे चार वर्षे छोरीको यादले मन भत्भती पोल्थ्यो। सधैं अक्सिजन लगाइरहनुपर्ने तर कोभिडकै कारण आफन्त र चिनेजानेका कसैलाई छेउमा देख्न समेत नपाउनुको पीडा यसरी बस्ने बाहेकले कल्पनै गर्न सक्दैन।
म गएकै भोलिपल्ट मेरो छेउकै बेडमा रहेका एकजनाको मृत्यु भयो। रातभरि उसको शव त्यहीं राखियो। राति सेनाले शव लैजाँदो रहेनछ। पर्दाले मात्र बारेको बेडमा शव रहेको अवस्थामा रातभरि निदाउन सकिनँ।
मलाई पनि धेरै गाह्रो भइरहेको थियो। अर्धचेत र शिथिल अवस्थामा पुगिसकेकाले निराशा बढिरहेको थियो। अस्पतालको बाहिर भाइ (अखिलेश) थियो। उसलाई ‘म अब मर्छु होला, भाउजू, सानी छोरी र परिवारको हेरविचार राम्रोसँग गर्नू’ भनें। भाइ जहिले पनि अस्पतालको गेटमा हुन्थ्यो। सुत्ने बेला मात्र राति बागबजारको होटलमा जान्थ्यो।
भोलिपल्टदेखि भने मलाई अलि सहज जस्तो भयो। ३/४ दिन जतिपछि मोबाइल अलिअलि चलाउन सक्ने भएँ। सामाजिक सञ्जाल हेर्दा नसोचेको खबर देखेँ, विजय (राजकर्णिकार) दाइको निधन भएर श्रद्धाञ्जली दिइएको रहेछ। एकदम नजिकको विजय दाइ कोरोनाकै कारण गम्भीर बिरामी परेपछि एम्बुलेन्समा हालेर मैले नै काठमाडौं पठाएको थिएँ। पाटन अस्पतालमै भर्ना हुनुभएको थियो। आफैं बिरामी भएकाले उहाँको अवस्था बुझ्न पाएको थिइनँ। निको भएर घर गइसक्नुभयो भन्ने लागेको थियो।
उहाँको नाम लेखिएको फाइल र ट्वाइलेट चियर मेरो बेडकै छेउमा थियो। उहाँको मृत्यु भएकै बेडमा पो रहेछु म। कोभिड बिरामीको ‘हेल्थ फाइल’ घरमा नपठाएको होला भन्ने सोचिरहेको थिएँ।
अस्पताल जाने बित्तिकै नजिकैको बेडमा रातभर शव राखेको अवस्थामा बस्नुपर्यो। आईसीयूमा डाइलसिस गर्ने बिरामीहरुको चिच्याहटसँगै साढे चार वर्षे छोरीको यादले मन भत्भती पोल्थ्यो। सधैं अक्सिजन लगाइरहनुपर्ने तर कोेभिडकै कारण आफन्त र चिनेजानेका कसैलाई छेउमा देख्न समेत नपाउनुको पीडा यसरी बस्ने बाहेकले कल्पनै गर्न सक्दैन।
त्यो फाइल र ट्वाइलेट चियरमा लेखिएको नामले झन् तनाव हुन थाल्यो। नर्सहरुलाई कारण बताउँदै ती सामग्री हटाइदिन आग्रह गरें। तर, ‘अस्पतालको बेडमा मान्छे मरिहाल्छ नि’ भनेर जवाफ दिए, हटाएनन्। अर्को दिन डाक्टर राउण्डमा आएको बेला आग्रह गरेपछि बल्ल हटाइयो। भयो। तर दाइसँगको हरेक क्षणहरुको यादले भने निकै दिन सतायो।
संयोगले विजय दाइकै बेडमा भर्ना हुन पुगेको घटना मेरो लागि भने चिन्तासँगै डरको विषय बन्यो। दाइलाई पनि यसअघि कुनै स्वास्थ्य समस्या थिएन। कोभिडले दीर्घ रोगी र बूढाबूढीलाई बढी असर गर्छ भन्थे, तर युवा र स्वस्थलाई पनि मार्दोरहेछ, अब मेरो पनि दिन यत्ति नै रहेछ भन्ने लागिरह्यो।
छोरीलाई सम्झिएर झन् पीर लाग्न थाल्यो। मेरो चिन्ता नै छोरीको भविष्यप्रति थियो। हामी सामान्य परिवारको मान्छे, श्रीमतीले बच्चा हुर्काउनै जागिर छोडेर बसेकी छिन्। उनले छोरीलाई कसरी हुर्काउलिन्, पढाउलिन् भन्ने लाग्यो। मनमा यिनै तर्कना खेलेर रातभरि निदाउन सक्दिनथें।
अर्को घटना देखेका कारण पनि राति ननिदाउने हरसम्भव कोसिस गर्थें। आईसीयूका बिरामीहरुलाई लगाइने अक्सिजनको सबै स्क्रीन स्वास्थ्यकर्मीहरु बस्ने स्टेशनमा फर्काइएको हुन्छ। तर, केही नफर्किएका पनि हुँदारहेछन्। मैले देख्दादेख्दै राति नजिकैको एउटा बेडका बिरामी निदाएको बेला अक्सिजन मास्क झर्यो। मैले नर्सहरूलाई भनिदिएँ। उनीहरू आएर लगाइदिए, तर ती व्यक्ति मास्क लगाउँदा लगाउँदै बिते। हुन त उनलाई अरु थप समस्या पनि थियो होला। तर त्यस्तो देखेपछि राति निदायो भने त मास्क हट्ने रहेछ भनेर सकेसम्म ननिदाउने प्रयास गरेँ।
भेन्टिलेटरको ठूलो आवाजले पनि सुत्नै नसकिने हुन्थ्यो। त्यस्तै, मिर्गौला रोगी कोरोनाका बिरामीहरुलाई आईसीयूू बेडमै डायलसिस गरिन्थ्यो। डाइलसिसको क्रममा पीडाले झण्डै ३/४ घण्टा उनीहरु कराउँथे।
१५/१६ दिन आईसीयूमा बस्दा दोहोरिरहने पीडादायी क्षण चाहिँ दैनिक एक–दुई जना मर्ने, र शव तत्काल नउठाइने। साँझतिर मान्छे मरे पनि रातभरि शव त्यहीँ हुन्थ्यो। त्यो देख्दा छेउका बिरामीलाई झन् डर लाग्नु स्वाभाविकै हो। त्यसैले मान्छे मरेपछि शव तत्कालै निकाल्ने व्यवस्था गर्नुपर्छ भन्न चाहन्छु।
शून्य मनोपरामर्श
अस्पतालमा कोभिडका बिरामीलाई सबैभन्दा आवश्यक पर्ने काउन्सिलिङ (मनोपरामर्श) हो। तर, त्यो शून्य छ। पाटन अस्पतालमा डाक्टर र नर्सले दिने सेवा राम्रो भए पनि मनोपरामर्श पनि भए बिरामीलाई थप ऊर्जा थप्न सकिन्थ्यो। थोरै समय दिएर ‘तिम्रो अवस्थामा सुधार आइरहेको छ, तिमी जस्ता धेरै बिरामी छन्, तिमीलाई हेर्ने हामी छौं चिन्ता नगर’ जस्ता कुरा भन्दिने हो भने मनोबल बढ्थ्यो। यसैले अस्पतालहरुले काउन्सिलिङको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्यो।
अस्पतालमा मनोपरामर्शको व्यवस्था पनि भए बिरामीलाई थप ऊर्जा थप्न सकिन्थ्यो। थोरै समय दिएर ‘तिम्रो अवस्थामा सुधार आइरहेको छ, तिमी जस्ता धेरै बिरामी छन्, तिमीलाई हेर्ने हामी छौं चिन्ता नगर’ जस्ता कुरा भन्दिने हो भने मनोबल बढ्थ्यो। यसैले अस्पतालहरुले काउन्सिलिङको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्यो।
मैले कोभिडबाट पार पाउन प्रतिबन्धित औषधि पनि लिएँ। कोरोनाका बिरामीलाई लाभदायक हुने रेमडीसीभीर औषधि त्यतिबेला नेपालमा प्रतिबन्धित थियो। तर, मलाई भने विदेशमा रहेका साथीहरुले त्यो औषधि पठाइदिएछन्। एक डोजको रु. ५० हजार पर्ने औषधिको पाँच डोज नवनित अग्रवालले किन्दिए र काठमाडौंमा निषेधाज्ञा भएको बेला सुदीप लामाले मोटरसाइकलमा ल्याइदिए।
त्यो औषधि पाएपछि डाक्टरहरूलाई भनेँ। प्रतिबन्धित औषधि नचलाउने भन्न पनि सक्थे, तर मलाई औषधि चलाएर ठूलो सहयोग गरे। पहिले पाँच डोज र पछि दुई डोज थपेको औषधिले पनि मलाई बचाउन सहयोग पुग्यो होला। पाँच वटाले पुग्दैन भनेर थप दुईवटा संविधानसभा सदस्य विचारी यादवले व्यवस्थापन गरिदिनुभएछ।
जनरल वार्डमा सरेपछि पनि उस्तै तनाव
१५/१६ दिनको आईसीयू बसाइपछि जनरल वार्डमा सारिएपछि अलि ढुक्क भएँ। कोरोना रिपोर्ट पनि नेगेटिभ भइसकेको थियो। तर, त्यहाँ त कोरोना पोजिटिभहरुसँगै राखिँदो रहेछ। हात धुने बेसिन पनि साझा नै थियो। यसले गर्दा फेरि पोजिटिभ हुन्छु भनेर तनाव हुन थाल्यो।
मैले अक्सिजन लगाइरहनु परेको थियो। ५/६ दिन जनरल वार्डको बेडमा बस्दा राउण्डमा आउने डाक्टरहरु फरक–फरक हुन्थे। कसैले जतिसक्दो अक्सिजन नलगाई बस्नू भन्थे, कोहीले चाहिं आधा घण्टा लगाउनू आधा घण्टा खोल्नू भन्थे। त्यसले अलमल हुन्थ्यो।
त्यत्तिकैमा दोस्रो परीक्षण हुँदा पनि रिपोर्ट नेगेटिभ आयो। कोभिड बिरामी भएको ठाउँमा बस्दा झन् जोखिम हुन्छ भनेर अन्य बेड वा क्याबिनमा सार्दिनु भनेँ। बल्लतल्ल क्याबिन पाइयो। क्याबिनमा गएपछि भाइ सँगै हुन्थ्यो। धेरै सजिलो भयो। बिस्तारै सुधार हुँदैछ भन्ने लाग्थ्यो। तर ३०/३५ दिनसम्म पनि ट्वाइलेट जाँदा समेत अक्सिजन छोड्न नमिल्ने भइराख्यो।
एकदिन एक रेसिडेन्सियल डाक्टरले एउटा ईसीजी गरौं भनेपछि गरें। इको पनि गरौं भने, २५ भदौमा इको पनि गरे। इको गर्दैगर्दा ‘तपाईंको मुटुमा गम्भीर समस्या छ, भल्ब नै फेर्नुपर्छ, कसरी यति दिनसम्म बाँच्न सक्नुभयो’ भनेर अचम्म पो मान्न थाले। अर्को तनाव थपियो।
सुजित दाइ (पत्रकार सुजित महत) मार्फत गंगालाल अस्पतालका डा. रामेश कोइरालासँग कुरा गरेँ। इकोको रिपोर्ट ह्वाट्सएपबाट पठाएँ। उहाँले ‘सिबियर भइसकेछ, तुरुन्तै आएर भर्ना हुनू’ भन्नुभयो। २६ भदौ (शुक्रबार) मा भर्ना भएँ। तीन दिनपछि सोमबार अप्रेसन गर्ने भनिएकोमा बिहीबार सारियो। रगत जाँच्दा इन्फेक्सन (न्यूट्रोफिल्स) देखियो भनेर फेरि अप्रेसन सर्यो।
डाक्टरहरुको टीम नै बसेर ठूलो मनिटरमा हेर्दा भल्बको सानो भनेको प्वाल बढेर सामान्यतया हुनुपर्नेको हाराहारीमै पुगेछ। त्यसपछि अहिले अप्रेसन नगरे हुने, औषधिले काम गर्छ भनेर औषधि दिइयो। शनिबारदेखि अक्सिजन पनि हटाइयो। ५५ दिनको अस्पताल बसाइमा ५१ दिन त अक्सिजन नै लगाएर बस्नुपर्यो।
तर, औषधिको असरले हो कि, फेरि खोकी बढ्यो र ज्वरो पनि आयो। एकपटक कोरोना परीक्षण गर्न भनेँ। आइतबार परीक्षण गर्दा भोलिपल्ट नेगेटिभ रिपोर्ट आएपछि गंगालाल अस्पताल भर्ना भएको १२औं दिन ६ असोजमा डिस्चार्ज भएँ। त्यसपछि डेढ साता जति एक होटलमा बसेर १४ असोजमा घर पुगेको छु। दुई महीनाको अन्तरालमा छोरीसँग रमाउन पाउँदाको खुशी अवर्णनीय छ।
निको भएर घर फर्केपछि खुशियालीमा केक काटेर श्रीमती, छोरी र आफन्तसँग रमाउँदै अरविन्द । काखमा छोरी ।
कोभिड अगाडि म एकदम स्वस्थ थिएँ। स्वास्थ्य समस्या भएर अस्पताल जानुपरेको थिएन र जाँच पनि गराएको थिइनँ। अहिले मुटुमा समस्या देखियो, यसका लागि ६ महीना औषधि खानुपर्ने भएको छ। कोरोनाभाइरसका कारण फोक्सोमा टाटो बनेको छ, जुन बिस्तारै हट्ने कुरा डाक्टरले बताएका छन्। यही बेला प्रोस्टेट ग्लाण्डमा पनि समस्या देखियो।
मुटुमा समस्या देखिएकोबारे डाक्टरहरू पनि अचम्ममा परेका छन्। यदि मलाई पहिले मुटुमा समस्या थियो भने स्वाँस्वाँ हुनुपर्ने, जिम गर्न नसक्नुपर्ने भन्छन्। जटिल खालको भाइरसले मल्टिपल असर गरेको हुनसक्ने भने पनि यसबारे अध्ययन नभइ बताउन नसकिने उनीहरूको भनाइ थियो।
सहयोगी र शुभचिन्तक धेरै पाएँ
कोरोनाभाइरस संक्रमित भएपछि मैले धेरै सहयोगी पाएँ। म पहिले विद्यार्थी नेता र पूर्व एमालेमा आबद्ध र सामाजिक अभियन्ता पनि भएकाले यति धेरै साथ–सहयोग मिलेको होला।
वीरगञ्जको नर्सिङ क्याम्पस पढेर विभिन्न देशमा पुगेका नर्स बहिनीहरुले आर्थिक सहयोग जुटाउन समूह बनाउनुभएछ। अमेरिका, अष्ट्रेलिया, क्यानडामा पनि शुभचिन्तक र सहयोगीहरुले सपोर्ट ग्रुप नै बनाएर आर्थिक सहयोगको पहल गर्नुभयो।
नेपालमै पनि किरण दाइ (किरण नेपाल), प्रशान्त दाइ (प्रशान्त अर्याल) लगायतले आर्थिक सहयोगको पहल गरिरहनुभएको पाएँ। मलाई बचाउन यति धेरै जना लागेर नै म बाँच्न सकेँ जस्तो लाग्छ।
म मृत्युको मुखबाट फर्किएर आएको हुँ। त्यसैले कोभिडलाई सामान्य रुपमा नलिऔं भनेर आफ्नो अनुभव सार्वजनिक गरेको हुँ। म ४३ वर्षको स्वस्थ मान्छे थिएँ। तर, टन्सिल र सामान्य ज्वरोबाट शुरु भएर अहिले मुटु, फोक्सोदेखि विभिन्न अंगमा असर परेको छ। ८० केजीको मान्छे, अस्पतालमा ५४/५५ केजीको भएँ। महीना दिन अस्पतालमा बसेर सयौं जनाको अवस्था देखेर यो कुरा भन्दैछु, कोभिडलाई सामान्य रुपमा लिँदै नलिऔं।
कोभिड नेगेटिभ हुँदाको खर्च आफैंले बेहोर्नुपर्छ। खर्चको सबै हिसाब त गरेको छैन, तर १०/११ लाख त नाघ्यो होला। मेडिसिटीमा ३० घण्टा बसेको नै करीब डेढ लाख रुपैयाँ तिरेको बिल रहेछ। मलाई सबैले सहयोग गर्नुभयो र यति उपचार पाउन सकें। अन्यथा यस्तो उपचार सुविधा सबैले पाउँछन् भन्ने लाग्दैन।
सहयोग गर्ने ती सबैलाई यो नयाँ जीवनका लागि धेरै आभार !
प्रस्तुतिः लक्ष्मी बस्नेत