क्यानले राष्ट्रिय क्रिकेट खेलाडीहरुको पुनः वर्गीकरण गर्ने
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० का लागि खेलाडीको पुनः वर्गीकरण गर्ने भएको छ। यसअघि गरेको खेलाडी वर्गीकरण विवादमा परेपछि क्यानले पुनः वर्गीकरण गर्ने भएको हो।
क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै खलाडीको पुनः वर्गीकरण गर्ने जानकारी दिएको हो। त्यसका लागि खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गर्न पनि क्यानले निर्देशन दिएको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा समितिलाई पुनः वर्गीकरणका लागि सुझावसहितको प्रतिवेदन क्यानको आगामी बोर्ड बैठकमा पेश गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “उक्त वर्गीकरणमा केही महत्वपूर्ण खेलाडीहरुको नाम छुट्न गएको र वर्गीकरण न्यायोचित नभएको भनी खेलाडीहरुले गुनासो गर्दै संघमा निवेदन आएकोमा यसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ।”
यसअघि क्यानले खेलाडी वर्गीकरणका लागि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रीय समिति सदस्य अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य रहेको समिति बनाएको थियो। उक्त समितिको सिफारिशका आधारमा गएको ६ असोजमा चितवनमा बसेको बोर्ड बैठकले १८ पुरुष र १९ महिला खेलाडीको वर्गीकरण गरेको थियो।
तर, उक्त वर्गीकरणमा सन् २०१९ भरि राष्ट्रिय टोलीबाट खेलेका ललितनारायण राजवंशी पुरुष खेलाडीको सूचीमा परेका थिएनन्। महिला खेलाडीको सूचीमा भने राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडीलाई समावेश नगरेर खेल्नै छाडेकालाई राखेको भन्दै आलोचना भएको थियो।
वर्गीकरणमा खेलाडीको तलब बढाइएको जनाइए पनि जम्मा खेलाडीको संख्या घटाएर क्यानले पुरुष खेलाडीको तलबमा हुने खर्च कटौती गरेको थियो। यसअघि सन् २०१९ का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २२ खेलाडीलाई वर्गीकरण गरेको थियो। तर, क्यानले भने १८ जनालाई मात्र वर्गीकरणमा राखेको थियो।
क्यानको वर्गीकरणप्रति चित्त नबुझाएका राष्ट्रिय टोलीका खेलाडीले ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए। क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) ले पनि खेलाडी वर्गीकरणप्रति विरोध जनाउँदै ध्यानाकर्षणपत्र बुझाएको थियो। सिप्यानका सचिव पूर्वकप्तान तथा राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का हुन्।
यो पनि पढ्नुस्ः
नयाँ क्रिकेट संघ बनेको एक वर्ष बित्यो, अझै पूर्ण रूपमा हटेन आईसीसीको प्रतिबन्ध