भारत लैजाँदै गरिएका दुई युवतीको उद्धार, बलि दिन खोजिएको आशंकामा भिनाजुसहित दुई जना पक्राउ
बलिका लागि भारत लगिंदै गरिएको आशंकामा दुई युवतीलाई प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारत सीमाबाट बुधबार उद्धार गरेको छ। उनीहरुलाई लिएर हिंडेका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
सप्तरी घर भएका ती युवतीलाई सुनसरीको भण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट युवतीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए। उद्धार गरिएका युवती १९ र २२ वर्षका छन्।
युवतीसँगै रहेका दुई पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ। प्रहरीले सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका एकले आफू युवतीको आफन्त रहेको बयान प्रहरीलाई दिएका छन्। नाताले भिनाजु पर्ने ती व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको बयान प्रहरीलाई दिएका छन्।
आफूहरुलाई सीमापारि नजिकैको भारतीय बजार भीमनगरस्थित मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उँचाइसमेत नापिएको थियो। त्यसैगरी हातको रेखा हेरी ‘पूजाका लागि योग्य’ ठहर गरिएको थियो।
दुवै युवतीलाई सीमापारि नजिकैको कुनै एक मन्दिरमा साँझको वेला आयोजना हुने पूजामा ध्यानमा बसेवापत रु.२ लाख दिने भनिएको थियो। प्रहरी नायब उपरीक्षक कार्कीले भने, “चौधरी थर भएका युवतीहरु निकै सोझा रहेछन्।” घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।