विश्वभर पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु
विश्वभर पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमण भएका ६ हजार १८४ जनाको मृत्यु भएको छ। आठ दिनपछि पुनः एकैदिन मृत्यु हुनेको संख्या ६ हजार नाघेको हो।
बुधबार भारतमा सबैभन्दा बढी एक हजार १७९ जनाको मृत्यु भयो। त्यस्तै अमेरिकामा ९५३ र ब्राजिलमा ९५२ जनाको मृत्यु भयो। अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ७३८ र ब्राजिलमा एक लाख ४३ हजार ९६२ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ९८ हजार ७०८ पुगेको छ।
कोरोनाभाइरस संक्रमणबाट गएको १७ अप्रिलमा विश्वमा सबैभन्दा धेरै आठ हजार ५१३ जनाको मृत्यु भएको थियो। त्यसअघि १५ अप्रिलमा आठ हजार २४४ जनाको मृत्यु भएको थियो। यी दुई दिनबाहेक एकैदिन आठ हजारभन्दा बढीको मृत्यु भएको छैन।
तर, मृत्युदर भने घटबढ भइरहेको छ। मृत्यु सबैभन्दा उच्च विन्दुमा पुगेको दिन १७ अप्रिलपछि २४ मेमा सबैभन्दा कम तीन हजार २८६ र ८ जुनमा तीन हजार ३१२ संक्रमितको मृत्यु भएको थियो। तर, पछिल्लो आठ दिनमा गएको मंगलबार सबैभन्दा कम तीन हजार ८८३ जनाको मृत्यु भएको थियो।