कोरोना अपडेट: होम आइसोलेसनमा नै छन् १० हजारभन्दा बढी संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ असोजसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितहरूको संख्या ७७ हजार ८१७ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन्।
मुलुकमा बुधबारसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ भने कोरोनाबाट ५६ हजार ४२८ व्यक्ति निको भएका छन्। कोरोनाका कारण १४ असोजसम्ममा मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। हाल मुलुकमा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।
१४ असोजसम्ममा होम असोलेसनमा रहेका कोरोना संक्रमितको संख्या १० हजार ८०४ छ। संस्थागत आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या भने १० हजार ८७ छ।
यो तथ्यांक अनुसार संस्थागतभन्दा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या बढी देखिएको छ। होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या सबैभन्दा बढी वागमती प्रदेशमा ६ हजार ५५५ छ, भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा १४८ छ।
होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या प्रदेश–१ मा १ हजार ५०५, प्रदेश–२ मा ५७७, गण्डकी प्रदेशमा ४८९, प्रदेश–५ मा १ हजार २६५ र कर्णाली प्रदेशमा २६५ छ।