बाबरी मस्जिद घटना : सीबीआईको विशेष अदालतले आडवाणीसहित ३२ अभियुक्तलाई दियो सफाइ
भारतको सीबीआईको विशेष अदालतले आज बाबरी मस्जिद विध्वंस मामिलामा आफ्नो फैसला सुनाउँदै सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ।
अदालतले उक्त विध्वंस सुनियोजित नभएको र आरोप लगाइएका व्यक्तिका विरूद्ध कुनै ठोस प्रमाण पनि नभएको भन्दै सबैलाई सफाइ दिने फैसला सुनाएको हो।
यो मुद्दामा सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को मार्गदर्शक मंडलका प्रमुख नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, पूर्वकेन्द्रीय मन्त्री उमा भारती लगायत ३२ जनालाई अभियुक्त बनाइएको थियो।
विशेष अदालतको फैसलापछि प्रतिक्रिया दिँदै आडवाणीले भने, "अदालतले ऐतिहासिक फैसला दिएको छ। आज धेरै खुशीको दिन हो। फैसलाले अयोध्यामा भएको उक्त घटनामा कुनै षडयन्त्र थिएन, अचानक भएको थियो भन्ने सिद्ध गरेको छ।"
सफाइ पाएपछि बीजेपीका अर्का नेता मुरली मनोहर जोशीले पनि अदालतले ऐतिहासिक फैसला दिएको बताए। उनले राम मन्दिरको निर्माण देशको महत्वपूर्ण आन्दोलनको रूपमा रहेको र त्यसको उद्देश्य अब पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरे।
मुगल बादशाह बाबरको पालामा १६औं शताब्दीमा बनेको बाबरी मस्जिदलाई ६ डिसेम्बर १९९२ मा कार सेवकको भीडले ध्वस्त पारेको थियो। त्यसपछि पूरै भारतभरी सांप्रदायिक दङ्गा भड्किएको थियो। दङ्गामा परी सयौं मानिसले ज्यान गुमाएका थिए।
त्यसपछि उक्त घटनासँग सम्बन्धित दुईवटा उजुरी दर्ता भएका थिए। पहिलो उजुरी मस्जिद ध्वस्त पार्ने कार सेवकको विरूद्ध थियो भने अर्को उजुरी विश्व हिन्दू परिषद्, बजरङ्ग दल तथा आरएसएससँग सम्बन्धित आठ जनाका विरूद्ध थियो, जसले रामकथा पार्कमा आयोजित मन्चमा मस्जिद ध्वस्त पार्न उक्साउने भाषण दिएका थिए। जसमा बीजेपी नेता आडवाणी,वीएचपीका तत्कालीन महासिचव अशोक सिंघल, बरजंग दलका नेता विनय कटियार, उमा भारती, साध्वी ऋतंभरा, मुरली मनोहर जोशी, गिरिराज किशोर र विष्णुहरी डलमिया थिए।
सीबीआईले विस्तृत अनुसन्धानपश्चात ४९ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको भए पनि मुद्दाको अन्तिम फैसला आउन्जेल ३२ जना मात्रै जीवित रहेका थिए।