यस्तो छ नामै नसुनिएको कम्पनीले २ करोड ५० लाख कोरोना भ्याक्सिन ल्याउने ‘कथा’
दर्ता हुनुपर्ने ठाउँमा दर्ता नभएको, स्वीकृति लिनुपर्ने ठाउँबाट स्वीकृति पनि नलिएको ‘ट्रिनिटी फर्मास्युटिकल्स’ नामक कम्पनीको सत्यतथ्य के हो ? अनि यसले कसरी गर्यो रुसबाट २ करोड ५० लाख कोरोना भ्याक्सिन ल्याउने सहमति ?
मंगलबार रुसको सार्वभौम सम्पत्ति कोषसम्बन्धी निकाय ‘रसियन डिरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ)’ र नेपालमा रहेको भनिएको कम्पनी, ट्रिनिटी फर्मास्युटिकल्सबीच रुसले उत्पादन गरेको कोरोनाभाइरस विरुद्धको २ करोड ५० लाख भायल भ्याक्सिन नेपाल भित्र्याउने सहमति भएको खबर सार्वजनिक भयो।
आरडीआईएफद्वारा मंगलबार जारी प्रेस विज्ञप्ति अनुसार यी दुई पक्षबीच नेपालमा कोरोना विरुद्धको ‘स्पुट्निक–भी’ भ्याक्सिन भित्र्याउनेबारे सहमति भएको थियो ।
आरडीआईएफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरिल दिमित्रिभ र ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीबीच उक्त भ्याक्सिन नेपालमा भित्र्याउनेबारे सहमति भएको थियो।
यो सहमतिबारे बेलायती समाचार संस्था, रोयटर्सले समाचार प्रवाह गरेपछि त्यसले नेपालसँगै धेरैतिर चर्चा पायो। कोरोना महामारीले नेपालसँगै संसार नै आकुलव्याकुल रहेका बेला यस विरुद्धको भ्याक्सिन आउने कुराले तत्काल सबैतिर तरंगित पार्नु अस्वाभाविक थिएन।
तर, नेपालमा भ्याक्सिन भित्र्याउन लागेको भनिएको कम्पनीको नाम सार्वजनिक भएसँगै यसबारे खोजबिन पनि शुरु भयो। फर्मास्युटिकल्स भनिए पनि यो कस्तो कम्पनी हो ? कसले चलाएको कम्पनी हो ? यसले पहिले औषधि उत्पादनको काम गर्थ्याे वा गर्दैनथ्याे ? उत्पादन नगर्ने भए यसको नाम कसरी फर्मास्युटिकल्स रह्यो ? अनि औषधि उत्पादन नगर्ने भए यसले गर्थ्यो चाहिं के काम ? यी र यस्ता विषयमा खोजबिन गर्दा हामीले केही रोचक तथ्य फेला पार्यौं।
कम्पनीको रोचक कथा
यो समाचार सार्वजनिक भएलगत्तै हिमालखबर ले भ्याक्सिन भित्र्याउन लागेको भनिएको कम्पनी, ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। लामो प्रयासपछि सम्पर्कमा आएका उनले ट्रिनिटी फर्मास्युटिकल्समार्फत आफूहरूले करीब १२ वर्षदेखि भ्याक्सिन आपूर्तिको काम गर्दै आइरहेको दाबी गरे। उनले भने, “हामीले पोलियो, रेबिज, टिटानस लगायतका भ्याक्सिन आयात गरेर स्वास्थ्य मन्त्रालयलाई बिक्री गर्दै आएका छौं।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, डा. जागेश्वर गौतमले मन्त्रालयलाई अरु भ्याक्सिन आपूर्ति गरेको भन्ने आधारमा अहिले कोरोनाको भ्याक्सिन ल्याउन लागेको भन्ने तर्क गर्नुको औचित्य नभएको बताए। उनले ट्रिनिटी फर्मास्युटिकल्स नामको कम्पनीले यसअघि स्वास्थ्य मन्त्रालयलाई अन्य भ्याक्सिन आपूर्ति गरेको हो कि होइन भन्नेबारे भने आफूलाई जानकारी नभएको बताए।
हामीलाई प्राप्त विवरण अनुसार यो कम्पनीको कार्यालय काठमाडौंको सीतापाइलामा छ। तर, कम्पनीको कुनै वेबसाइट छैन। अधिकारीले यो औषधि आयात गरेर बिक्री गर्ने प्रयोजनका लागि दर्ता भएको कम्पनी भएको बताए। र, यो कम्पनीको सञ्चालक आफू मात्र रहेको उल्लेख गरे। तर, कम्पनी रजिष्टारको कार्यालयमा ‘ट्रिनिटी फर्मास्युटिकल्स’ नामको कम्पनी दर्ता भएको अभिलेख भेटिंदैन।
अधिकारीले यो ‘प्राइभेट लिमिटेड’ कम्पनी नभएकाले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गर्नु नपरेको बताए। “कम्पनी वाणिज्य विभाग अन्तर्गत दर्ता भएर सञ्चालनमा छ”, उनले भने ।
हामीले यसबारे वाणिज्य विभागमा सम्पर्क गर्यौं। वाणिज्य विभागले ‘ट्रिनिटी फर्मास्युटिकल्स’ नामको कम्पनी विभागमा दर्ता भएको नदेखिएको जानकारी दिएको छ। वाणिज्य विभागका निर्देशक शिवराज सेढाईंले विभागमा ‘ट्रिनिटी फर्मास्युटिकल्स’ नामको कम्पनी दर्ता नभएको हिमालखबर लाई बताए।
बरु, ‘ट्रिनिटी फर्मास्युटिकल्स’ औषधि व्यवस्था विभागमा थोक बिक्रेताको सूचीमा दर्ता भएको चाहिं देखिन्छ।
औषधि व्यवस्था विभागमा ‘ट्रिनिटी फर्मास्युटिकल्स’ नाममा थोक बिक्रेताको रुपमा दर्ता भएको यो कम्पनीको ठेगाना नागार्जुन नगरपालिका–४ मा रहेको उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री औषधि दर्ता नियमावली २०३८ अनुसार औषधिको थोक बिक्री गर्ने प्रमाणपत्रका आधारमा मात्र कुनै पनि औषधिको पैठारीको काम गर्न नपाइने बताउँछन् । क्षेत्री भन्छन्, “हरेक पटक विदेशबाट औषधि आयात गर्ने क्रममा विभागबाट उत्पादन दर्ताको अनुमति लिनुपर्छ । यसपछि बल्ल औषधि पैठारी गर्न पाइन्छ।”
तर, यो सहमति गर्दा औषधि व्यवस्था विभागबाट कुनै अनुमति नलिइएको विभागले जानकारी दिएको छ।
अर्को रोचक तथ्य के देखिएको छ भने यो कम्पनीका धनी अर्थात् सञ्चालक विराटनगर–१३ का सिन्धु अर्याल हुन्। औषधि व्यवस्था विभागमा रहेको अभिलेख हेर्दा अर्यालसँगै यसमा कर्मचारीका रुपमा असिस्टेन्ट फर्मासिस्ट जनक शाही रहेको देखिन्छ।
औषधि व्यवस्था विभागको अभिलेख अनुसार यो कम्पनी औषधिको थोक आयातकर्ता र बिक्रेताका रुपमा सूचीकृत छ। तर, विभागमा रहेको अभिलेखमा कम्पनीको सञ्चालकमा किशोर अधिकारीको नाम भने देखिंदैन।
विभागका प्रवक्ता सन्तोष केसीले पनि रुसबाट २ करोड ५० लाख भ्याक्सिन ल्याउने सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्सको सञ्चालकमा किशोर अधिकारीको नाम अभिलेखमा नदेखिएको हिमालखबर लाई बताए।
मंगलबार रसियन डिरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ)ले जारी गरेको विज्ञप्तिमा ट्रिनिटी फर्मास्युटिकल्स नेपालकै ठूलो औषधि वितरक कम्पनी भएको उल्लेख थियो।
प्रायः आफ्नो नाममा फर्मास्युटिकल्स उल्लेख गर्ने कम्पनी औषधि उत्पादक कम्पनी हुन्छन्। नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले औषधि उत्पादक कम्पनीको सूचीमा ट्रिनिटी फर्मास्युटिकल्स नामको कम्पनी दर्ता भएको नदेखिएको बताए।
आरडीआईएफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल दिमित्रिभ र ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीबीच मंगलबारको भर्चुअल बैठकबाट नेपालमा उक्त भ्याक्सिन भित्र्याउने सहमति भएको थियो। यो खबर सार्वजनिक भए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले यसबारे आफूहरुलाई थाहै नभएको बताएका थिए।
बुधबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँगको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय विश्व स्वास्थ्य संगठनले मान्यता दिएपछि कोरोनाभाइरस विरुद्धको उपचारमा उपयोग हुनसक्ने जुनसुकै भ्याक्सिन ल्याउन तयार रहेको, तर उक्त प्रक्रिया पूरा नगर्दै त्यस्ता भ्याक्सिन ल्याउने प्रक्रियामा मन्त्रालय सहभागी नहुने बताएका छन्।
अधिकारीको तर्क– ‘सरकारबाट अनुमति लिनुपर्दैन’
ट्रिनिटीका निर्देशक भनिएका अधिकारीले आफूहरूले रुसबाट भ्याक्सिन ल्याउने विषयमा सहमति गर्ने क्रममा कुनै पनि सरकारी निकाय संलग्न नभएको, सरकारी निकायबाट अनुमति नलिएको र लिन आवश्यक पनि नभएको दाबी गरे। “भ्याक्सिनको तेस्रो चरणको ट्रायल सकिएर प्रयोग गर्न हुने प्रमाणित भएपछि र नेपाल सरकारले अनुमति दिएपछि मात्र हामीले भ्याक्सिन ल्याउने हो”, उनले भने।
अधिकारीले अरू मुलुकहरूले पनि रुसबाट भ्याक्सिन लैजानका लागि बुकिङ शुरु गरेकाले आफूहरूले पनि त्यसै क्रममा पहिल्यै बुकिङ गरेर राखेको बताए। अधिकारीको भनाइले यसमा नेपालस्थित रुसी दूतावाससमेत संलग्न रहेको देखाउँछ। उनले नेपालस्थित रुसी दूतावासमा आफूहरूले नेपालमा भ्याक्सिन सप्लाई गरेको अनुभवसहितको प्रमाणपत्र पेश गरेको र त्यसकै आधारमा दूतावासले कम्पनीसँग सम्पर्क गराइदिएको बताए।
रुसबाट भ्याक्सिन ल्याउन भएको यो सहमतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ठूला स्वास्थ्य उपकरण व्यवसायी विशाल पण्डित पनि संलग्न रहेको बताइन्छ। यसबारे प्रश्न गर्दा ट्रिनिटीका निर्देशक अधिकारीले भने, “विशालजीले हामीलाई पहिलेदेखि नै गाइड गर्दै आउनुभएको छ। तर, उहाँ ट्रिनिटी फर्मास्युटिकल्समा लगानीकर्ताको रुपमा हुनुहुन्न।”
पण्डितले भने आफूले ट्रिनिटी फर्मास्युटिकल्सका सञ्चालकलाई चिनेको, तर आफू ट्रिनिटीमा संलग्न नरहेको बताए।