व्यवस्थित महानगर बनाउन ललितपुरले शुरू गर्यो साइकल गस्ती (तस्वीरहरू)
ललितपुर महानगरपालिकाले व्यवस्थित महानगर बनाउन साइकल गस्ती शुरू गरेको छ। नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती शुरू गरेको हो।
साइकलमा गस्ती गर्ने नगर प्रहरीले निषेधित क्षेत्रमा राखिएको सामग्री, ब्यानर, पम्प्लेट हटाउने, सडकपेटीमा व्यापार गर्न नदिने, सडकमा राखिने निर्माण सामग्रीका समान हटाउन सम्बन्धित व्यक्ति अथवा संस्थालाई अनुरोध गर्ने काम गर्नेछ।
यसैगरी, सडकमा अप्ठ्यारो अवस्थामा रहेका जनताको तत्काल उद्धार गर्न समेत साइकल गस्ती नगर प्रहरीलाई सहज हुने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन्।
“महानगर व्यवस्थित गर्नको लागि हाम्रो साइकल गस्ती शुरू भएको हो। ललितपुर जस्तो शहरमा उपयोगी साधन भनेको नै साइकल हो। सानो गल्ली, कुनाकाप्चामा साइकलबाट सहजै र छिटो पुग्न सकिन्छ”, हाछेथु भन्छन्।
उनका अनुसार १० वटा साइकलमा १० जना नगर प्रहरी एउटा क्यामेरासहित बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म तैनाथ हुनेछन्। हाछेथुले भने, “हामीले अबदेखि दैनिक १० जना ऊर्जावान नगर प्रहरी नगरवासीको सेवाका लागि खटाउँछौं। उहाँहरू साइकलबाट गस्ती गर्नुहुन्छ। कोही पनि जनतालाई तँ वा तिमी भन्नुहुने छैन।”
साइकल गस्तीले खानेपानीको पाइप, ढल फुटेको, भत्केको सडकको फोटो तथा भिडिओ खिचेर नगरमा बुझाउने काम गर्छ। त्यसपश्चात् महानगरले आफ्नो दायित्वको भए आफैंले र नभए सम्बन्धित निकायमा समस्या समाधानका लागि विवरण पठाउने गर्छ।
मानिसको व्यवहार बोलीले पनि फरक पार्ने भएकोले नम्र बोली बोल्न, जनताको सहयोग गर्न नगर प्रहरी तयार भएको हाछेथुले बताए। महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई साइकल सिटी बनाउनका लागि गरिरहेको प्रयासमध्ये यो पनि एक भएको नगर प्रहरी प्रमुख हाछेथुले बताए।
ललितपुर महानगरलाई साइकल सिटी बनाउने नगरप्रमुख महर्जनले बताउँदै आएका छन्। साइकल प्रयोगकर्ताको लागि लतिलपुरका विभिन्न स्थानमा साइकल लेनका चिन्हहरू कोरिएका छन्। नगर प्रहरीमा अहिले ७२ जना युवा कार्यरत छन्।