काठमाडौं–तराई द्रुतमार्गको सुरुङ निर्माण गर्न दुई दर्जन कम्पनीको प्रस्ताव
नेपाल सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं तराई द्रुत मार्गमा प्रस्तावित सुरुङ निर्माणका लागि ठेकेदार छनौटको प्रकृया शुरु भएको छ। सुरुङमार्ग निर्माणका लागि प्याकेज १ र २ को प्रि–क्वालिफिकेसनसम्बन्धी बोलपत्र खोल्ने काम सम्पन्न भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ। तर, यसमा कुन–कुन कम्पनीले बोलपत्र बुझाए भन्ने सेनाले उल्लेख गरेको छैन।
द्रुतमार्गमा पर्ने छोक्रेडाँडादेखि धेद्रेखोलासम्म र धेद्रेखोलादेखि लेनडाँडासम्मको दुई सुरुङमार्गको निर्माणका लागि क्रमशः २१ र २२ वटा कम्पनीले बोलपत्र दाखिला गरेका छन्। मूल्यांकन समितिले यी बोलपत्रको मूल्यांकन गरी योग्य कम्पनी छनौट गर्छ। छानिएका कम्पनीले सुरुङमार्गको निर्माण गर्नेछ।
२०७४ वैशाखमा सरकारले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनालाई द्रुतमार्ग निर्माणको जिम्मा दिएको थियो। सेनाले सुरुङ र पुलबाहेकका क्षेत्रमा ठेकेदारमार्फत सडकमार्गको आधारभूत काम गरिरहेपनि सुरुङ र पुल निर्माणको लागि ठेकेदार छनौटको प्रकृया बल्ल शुरु गरेको हो।