मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली सेनाको राष्ट्रसंघद्वारा प्रशंसा
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली सेनाले त्यहाँको हिंसात्मक विद्रोह नियन्त्रणमा खेलेको भूमिकाका लागि राष्ट्रसंघको प्रशंसा बटुलेको छ।
मध्य अफ्रिकी गणतन्त्रस्थित राष्ट्रसंघका फोर्स कमाण्डर, लेफ्टिनेन्ट जनरल ड्यानियल सिदिकी ट्राउरेले संवेदनशील क्षेत्रका तैनाथ नेपाली सेनाले वहन गरेको भूमिकाको प्रशंसा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यहाँ नेपाली सेनाको वटुकदल गण तैनाथ छ, जसको नेतृत्व प्रमुख सेनानी समुन्द्र थापाले गरेका छन्।
फोर्स कमाण्डर ट्राउरेले नेपाली सेनाले हतियारधारी समूहविरुद्ध गरेको कारवाहीबाट जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत मद्धत पुगेको उल्लेख गरेका छन्।
नेपाली सेनाले सञ्चालन गरेको अप्रेसनका क्रममा हिंसात्मक गतिविधि गरिरहेको समूहका प्रमुख नेतासहित ९ जनालाई हतियारसहित पक्राउ गरेपछि त्यसक्षेत्रमा भइरहेको जातीय हिंसा समेत नियन्त्रणमा आएको निर्देशनालयले विज्ञप्तिमा उल्लेख गरेको छ।
फोर्स कमाण्डरद्वारा प्रदान गरिएको उच्च प्रशंसासहितको कदर-पत्र