वामदेव गौतमको मुद्दामा आज बहस सकिएन, शुक्रबार फेरि सुनुवाइ हुने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि गरिएको मनोनयनविरुद्ध परेको रिटमा बुधबार सर्वोच्च अदालतमा बहस नसकिँदा शुक्रबार फेरि सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार सुनुवाइ भएकोमा वकीलहरूको बहस नसकिएका कारण मुद्दालाई शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।
मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट हालेका थिए।
सर्वोच्च अदालतले ७ असोजमा सुनुवाइ गर्दै अहिलेलाई गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन र गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।
त्यसैअनुरूप बुधबार संवैधानिक इजलासमा सुनुवाइ भए पनि बहस नसकिएकाले शुक्रबार थप बहस हुने भएको हो।