आइजीपी भन्छन्- 'निर्मला पन्त हत्या केसमा छिटै निष्कर्षमा पुग्नेगरी काम भइरहेको छ'
प्रहरी महानिरीक्षेक शैलेन्द्र थापा क्षत्रीले निर्मला पन्तको बलात्कारको घटनामा छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको बताएका छन्। संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा क्षत्रीले निर्मलाको बलात्कारको घटनामा अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको बताए।
उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटिएको बताए।
पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफूहरू सचेत रहेको बताए। "निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको छ। प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौँ। घटनाको अहिले रिभ्यू भइरहेको छ", उनले भने, "त्यो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ। त्यो सफाइले अलिकति तत्कालीन अवस्थामा हामीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्ने भयो। त्यसलाई छिट्टै टुंगोमा पुर्याने गरी काम भइरहेको छ।"
उनले पछिल्लो समय बालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढिरहेको बताएका छन्। बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उनले बताए। बोहराले गत साउनमा पनि बलात्कार गरेको घटना बाहिर आएकाले अहिले दुईवटा बलात्कार र एउटा कर्तव्य ज्यान अभियोगमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको उनले बताए।
पहिलेको घटनालाई मिलापत्र गराउनेहरूलाई समेत प्रतिवादीको रुपमा लैजाने तयारी भइरहेको उनले बताए। "सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्विकारेको अवस्था छ। पहिलेको मिलापत्र गरेकालाई पनि प्रतिवादी बनाउने गरी मुद्दामा लैजाने तयारी गरेका छौँ। मिलापत्रमा पीडितको दाजु पनि बसेको हुनाले अहिलेको अवस्थामा जाहेरवाला हुने र पछि प्रतिवादीको रुपमा लैजाने गरी अगाडी बढ्दै छौँ", उनले भने।
सप्तरीको घटनामा पनि पञ्चायती गरेर पीडितलाई सजाय गरेको अवस्था रहेको देखिएको र पीडतले सहन नसकेर त्महत्या गरेको भन्ने प्रहरी अनुसन्धानले देखाएको उनले बताए।
रोकथामका लागि प्रहरीले आफ्नो तर्फबाट कार्यक्रम गरिरहेको उनले बताए। समाजले फौजदारी अभियोगमा मिलपत्र गर्ने पराम्पराले यस्ता घटनाहरूलाई मलजल गरेको बुझाइ प्रहरीको रहेको उनको भनाइ छ।