बलात्कारका घटनाबारे गृहमन्त्री थापा भन्छन्- 'अन्य देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक छैन'
गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन्। संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले निर्मलाको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताए।
थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको बताए। सम्झानाको ७ असोजमा बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको जानकारी थापाले दिए।
थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढीरहेको भएपनि विश्वका अन्य देशहरूको तुलनामा अवस्था चिन्ताजनक नभएको बताए। विश्वका २ सय भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडी रहेको उनको तर्क छ।
"झण्ढै सवा २०० देशहरूको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन। सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरू भएका छन् र हाम्रो स्थान पछाडिबाट हेर्दा सवा दुई सयभित्र हामी टप १५ मा छौं", उनले भने, "अमेरिका पनि टप १० भित्र पर्छ। त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने गर्छन्। तर पनि हामीले हाम्रो अवस्था बदल्न जरुरी रहेको छ। यस्ता घटना रोक्न सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ।"
मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६/७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताए। पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानूलाई अझ कडाई गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताए।
"झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन्, यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं। कानूनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ। हामीले बनाएका कानू पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ", उनले भने।