काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९०२ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६९७ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष तथा ललितपुरमा ४६ महिला र ६६ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने १५५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार ८९१ जना छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १००८७ र होम आइसोलेसजमा १०८०४ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १०५७ जना निको भएका छन्। निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ।
हाल क्वारेन्टिनमा ५४२८ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा १२ हजार २०५ वटा नमूनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ४९८ संक्रमितको मृत्यु भएको छ।
२०१ जनाको आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।