‘दैनिक खर्च चलाउन पैसा सकिए मोबाइलबाटै ऋण सुविधा पाइन्छ’
नबिल ब्याङ्कले नेपालमा पहिलोपटक सबै सेवालाई ‘डिजिटल’ बनाउने गरी डीजी ब्याङ्कको संरचना तयार गरेको छ। ब्याङ्कले प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राखेको जनाएको छ। तीन वर्षभित्रै सबै सेवालाई डिजिटल गर्ने रणनीति बनाएको नबिल डीजी ब्याङ्कका प्रमुख विनयकुमार रेग्मीसँग राजु बास्कोटाले गरेको कुराकानीः
नबिल आफैंमा स्थापित ब्राण्ड हुँदाहुँदै डीजी ब्याङ्कको संरचना किन आवश्यक भयो?
नबिल डीजी ब्याङ्क भनेको अलग्गै सेवा होइन्। संस्थाभित्रैकै आन्तरिक संरचना हो। जति पनि ‘डिजिटाइजेशन’का काम फरकफरक क्षेत्रमा भइरहेको थियो, त्यसैलाई एउटै छाताभित्र ल्याएर सेवा दिइएको हो। ब्याङ्कभित्र धेरैवटा ब्याङ्किङ कार्यहरू हुन्छन्। जसलाई जुन सेवा चाहिएको छ त्यसलाई सम्बन्धित विभाग वा इकाइबाट दिइने अहिलेको संरचनालाई डिजिटल गर्न संरचना थप गरिएको हो। ब्याङ्कमा हुने सबै काम एउटै छाताबाट होस् भन्ने हाम्रो उद्देश्य छ। ग्राहकले इच्छाएको सेवा/सुविधा चाहेकै स्थान र समयमा छिटो तथा छरितो रूपमा दिइएको मात्रै हो। यो सुविधा सबै सेवालाई डिजिटल बनाउने गरी स्थापना भएको संरचना अर्थात ब्याङ्कभित्रको ब्याङ्क हो।
डीजी ब्याङ्कको संरचनाले ग्राहकलाई के फरक पर्छ ?
ब्याङ्कका जति पनि ग्राहक छन्, सबैले पूर्ण व्याङ्किङ सुविधा आफैँ अर्थात ‘सेल्फ सर्भिस’ लिन सक्छन्। ग्राहकले ब्याङ्कको सेवा चाहेको स्थान, समय र डिभाइसबाट पाउन सकुन् भन्ने उद्देश्यले शुरु गरेको सेवाका लागि यो संरचना बनाइएको हो। ग्राहकले पाउने यस्तो सेवा विना झन्झट जुनसुकै समय र स्थानमा बसेर लिन सक्ने गरी विकास गरिएको प्रविधि नै डिजिटल ब्याङ्क हो। ग्राहकले माग गरेका सेवालाई तत्कालै ‘प्रोसेसिङ’ गरेर सम्बोधन गर्नुपर्ने हुन्छ। कुनै ग्राहकले ऋण माग्यो भने उसले गरेको आग्रहलाई स्वीकार गरेर अटोमेसिनमार्फत तुरुन्तै सम्बोधन हुन्छ। यो काम फन्ड ट्रान्सफर गरिएजस्तै तुरुन्तै हुन्छ। डिजिटल सेवा लिने भनेपछि कार्यालय समय कुर्नु पर्दैन। समय र स्थान कहाँ छ भन्ने पनि मतलब हुँदैन।
ग्राहकलाई प्रविधिको प्रयोग गर्न लगाउने र अप्लाई गर्नासाथ रेस्पोन्स गराउने सुविधा ब्यांकले थप गरेको हो?
ग्राहकलाई सुविधा दिन ल्याएकोले केही प्रोडक्ड तत्कालै हुन्छ त केही हुँदै जान्छन्। ग्राहकलाई विश्वसनीय सेवा दिंदै जाने हिसाबले एउटा नयाँ प्रडक्टको शुरुआत चाहिं भएको हो। हामीले डिजिटलमा जाने भनेपछि पहिलो पटक ‘नबिल फोन लोन’ नामको नयाँ प्रडक्ट सार्वजनिक गरेका छौं। एक साता अगाडिबाट सुरुआत नै भइसकेको यो प्रडक्ट ग्राहकको रुचि र आवश्यकतामा परेको छ।
‘फोन लोन’ कस्तो प्रकारको सेवा हो?
मोबाइलबाटै आवेदन दिने सुविधा हो, फोन लोन। ग्राहकले नबिल ब्याङ्कको एप प्रयोग गरेर यो सेवा लिन सक्छन्। लोनका लागि आवेदन गरेको केही मिनेटमै ग्राहकले आफ्नो खातामा पैसा पाउने सुविधा छ। यो सेवा पूर्ण डिजिटल प्रविधिको हो।
कस्ता ग्राहकले यो सुविधा लिन सक्छन्?
यसको शुरुआत तलबी खाताबाट गरिएको छ। यसको लागि पूर्वस्वीकृति भने भएको हुनुपर्छ। ऋण पाउन योग्य हुने ग्राहकलाई मोबाइलबाटै ‘नोटिफिकेशन’ पठाउँछौँ। ऋण पाउने समय नभएका र तोकिएको आन्तरिक मापदण्ड पूरा नभएका ग्राहकले यो सुविधा पाउँदैनन्। कति चाहिएको, कहिले तिर्ने, नियमित तलब आएको वा नआएको भन्ने विवरणका आधारमा ‘फोन लोन’ पाइन्छ। ग्राहकले यस्तो लोन न्यूनतम रु.१० हजारदेखि रु.१ लाखसम्म पाउँछन्। कारोबारको अवस्था, ब्याङ्कमा रहेको बचत, नियमित आम्दानीको आधार, ब्याङ्कबाट ऋण लिएर यसअघि समयमा नै चुक्ता गरे वा नगरेकोसहित मापदण्डलाई फोन लोन दिने आधार मानिएको छ। यो मापदण्ड पूरा गर्ने आधार निकै सहज र सरल छन्। सोही आधारमा योग्य मानेर ब्याङ्कले नै सम्बन्धित ग्राहकको मोबाइलमा नोटिफिकेशन पठाउँछ । नोटिफिकेशन पाउने सबैले फोन लोन लिन पाउँछन्।
फोन लोनको लक्षित ग्राहक पनि छन् ?
विशेष गरी यो लोन तलबी खाता हुनेहरूकै लागि हो। मासिक तलब आउने ग्राहकले पैसा खर्च गर्दै जाँदा महीनाको आधाआधी वा अन्तिम सातामा सकिन सक्छ। त्यो अवस्थामा थप पैसा चाहिन सक्छ। यस्तो वेला आफन्त वा साथीभाइसँग मागेर काम चलाउने र तलब आएपछि तिर्ने गरिन्छ। अब चाहिं बढीमा ३० दिनको लागि ऋण लिन सकिन्छ। ऋण लिने र पैसा हुने बित्तिकै तिर्न सकिने गरी दिइएको सुविधा हो। यो सेवा भर्चुअल कार्ड अन्तर्गत राखिएको र यस्तो ऋणको ब्याज पनि कार्ड लिएसरहकै हुने भएकोले न्यूनतम शुल्कमा पाइन्छ।
डिजिटलाइज गर्दैै जाने क्रममा अन्य के–के सेवा थपिएका छन्?
डीजी ब्यांक स्थापना भइसकेपछि चार–पाँच वटा नयाँ सेवा सार्वजनिक भइसकेको छ। पहिलो सेवा त फोन लोन नै हो। त्यसका साथै काउन्टरमा आएका ग्राहकले ‘क्युआर’ मार्फत कारोबार गर्न सक्ने क्युआर क्यास, ग्राहक आफैंले एटीएमबाट पिन राख्न सक्ने गरी ग्रीन पिनसहतिको सुविधा दिइएको छ। ग्राहकलाई सहजीकरणको लागि डिजिटलको फिचर थप्ने कामसँगै नयाँ सेवा पनि आइरहेको छ। एटीएम पिन, मोबाइल ब्याङ्किङको पिन आफैं रिसेट गर्न सकिने गरी सहजीकरण गरिएको सुविधा पनि हो।
डीजी ब्यांकको रुपमा छुट्टै संरचना बनाएपछि ग्राहकलाई स्वतः त्यसमा जाने सुविधा दिएको छ?
पहिलो उद्देश्य नै ग्राहकको सबै आवश्यकताका सेवालाई डिजिटल बनाउने हो। ग्राहकलाई सजिलो बनाउने, आफ्नो घर वा अफिसबाट काम गर्न सक्ने, समयको सीमा हटाउने हो। सार्वजनिक विदा, घर विदा वा अन्य कुनै पनि कारणले समस्या नहुने गरी २४ सै घण्टा ग्राहकले जुनसुकै ठाउँबाट पनि सेवा लिन सक्ने प्रणालीको विकास नै डीजी ब्याङ्कको काम हो।
त्यसो भए अब सेवा लिन ग्राहक स्वयम् ब्याङ्कमा उपस्थित हुनुपर्दैन ?
ग्राहक उपस्थित हुने अवस्था अझै सबैजसो सेवाको लागि छ। त्यसलाई हटाउन प्रयासरत छौँ। तर, कतिपय अवस्थमा ग्राहक उपस्थित हुनुपर्ने पनि हुनसक्छ। डिजिटलको उद्देश्य मान्छेको अनिवार्य उपस्थिति कम गर्ने भन्ने हो। ऋण लिन ग्राहकले आवेदन पेश गरेको १५/२० दिन लाग्ने थियो भने अब दुई /तीन दिनमै हुन्छ।
एपमार्फत सेवा दिने र ग्राहकलाई सहजीकरण गर्ने काम अन्य ब्याङ्कले पनि गर्न थालेका छन्। नबिलको डीजी ब्याङ्क किन फरक छ?
हामी योजनाबद्ध तरिकाले अगाडि बढिरहेका छौं। तत्काल के दिने, तीन महीना, छ महीना, एक वर्षमा के दिने भनेर तीन वर्षसम्मको योजना बनाएका छौं। तीन वर्षभित्रमा यो ब्याङ्क पूर्ण डिजिटल बनाउने योजना र लक्ष्यअनुसार अगाडि बढिरहेका छौं।
नबिलका ग्राहकले तीन वर्षपछि नेपालको पहिलो डिजिटल ब्याङ्कको रुपमा उपयोग गर्न पाउँछन्?
ब्याङ्कको सबै सेवा पूर्ण डिजिटल हुन चाहिं तीन वर्ष पर्खनुपर्छ। अहिलेदेखि नै डिजिटलको सुविधा पाउँदै जान थालेका छन। प्रविधि र उपकरण ल्याएर जडान गर्दै जाने तथा सेवा र सुविधा थप हुँदै जाने हो। तीन वर्षपछि नेपालको धेरै डिजिटल सेवा दिने ब्याङ्क नबिल हुन्छ। ग्राहकले ‘वाह् ! नबिलको डिजिटल ब्याङ्क’ भन्ने बनाउँछौँ।
डिजिटलमा फड्को मार्न एकपछि अर्को सेवा ल्याइरहँदा ग्राहकको पहिलो आवश्यकता के पाउनुभयो?
समय। ग्राहकको सबैभन्दा महत्वपूर्ण आवश्यकता र महत्वपूर्ण पाटो नै समय हो। उहाँहरूको समयलाई जतिसक्दो कम खर्च गर्ने र सेवा दिने भन्ने नै डिजिटलको काम हो। ब्याङ्किङ सेवामा चाहिं केही फरक हुँदैन। सेवा दिने र लिने तरिका मात्रै फरक हो।
ब्याङ्कले एपमार्फत युटिलिटीका सेवा दिन थालेको छन्। त्यही कामको लागि वालेटहरू आइरहेका छन्। वालेटको काम ब्याङ्कले गरेको कि ब्याङ्कको काम वालेटले?
दुवैको सेवा एकअर्काका परिपूरक हुन्। जनतालाई डिजिटलमा लैजान ब्याङ्क र वालेटले आ–आफ्नो क्षेत्रबाट काम गरिरहेका छन्। वालेट एक्लै काम गर्न सक्दैन। ब्याङ्कसँग कुनै न कुनै रूपमा जोडिनुपर्छ। बजार विकास गर्ने पाटोमा दुवै एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्। सबै काम ब्याङ्कले मात्रै गर्न सक्दैनन्। डिजिटल पेमेन्ट गर्न वालेटले सहयोग गरिरहेका छन्। भविष्यमा सबै नेपालीको ब्यांक खाता भएको अवस्थामा चाहिं वालेटको के काम भनेर प्रश्न उठ्न सक्ला। तर, वालेटले गरिरहेको काम र खोजिंदै गएको वैकल्पिक सेवाले गर्दा यसको महत्व भने देखिन्छ।
विदेशबाट भने जति रकम पनि वालेटमा पठाउन पाइन्छ । पैसा वालेटमा आइसकेपछि रु.२५ हजारभन्दा बढी भएको अवस्थामा सीधै खातामा जाने व्यवस्था राष्ट्र ब्याङ्कले गराएको छ।
ब्याङ्क खाता सबैले जहाँ पायो त्यहीं प्रयोग गर्दैनन्। सुरक्षित पनि राख्नुपर्ने हुँदा सानोतिनोे भुक्तानीलाई वालेट प्रयोग गर्छन्, यसमा जोखिम कम हुन्छ भनिन्छ नि?
त्यही भएर होला नेपाल राष्ट्र ब्याङ्कले वालेटको कारोबारमा सीमा तोकेको छ। वालेटमा राखिने रकम रु.२५ हजारभन्दा बढी भयो भने ब्याङ्कमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। यसका निम्ति वालेट अटोमेटिक रूपमा ब्यांक खातासँग आबद्ध हुनुपर्छ। विदेशबाट भने जति रकम पनि वालेटमा पठाउन पाइन्छ। पैसा वालेटमा आइसकेपछि रु.२५ हजारभन्दा बढी भएको अवस्थामा सीधै खातामा जाने व्यवस्था राष्ट्र ब्याङ्कले गराएको छ।
केन्द्रीय ब्याङ्कले एउटा ब्याङ्कको एटीएम प्रयोग गरेर जुनसुकै ब्याङ्क तथा वित्तीय संस्थाले निःशुल्क कारोबार गर्न पाउने व्यवस्था गराएको छ। यो अवस्थामा नगदलार्ई नै प्रोत्साहन गरेको जस्तो देखिन्छ नि?
राष्ट्र ब्याङ्कले गरेको व्यवस्था सबै ब्याङ्कहरूले मान्नैपर्ने हुन्छ। जुनसुकै एटीएम प्रयोग गर्नुलाई पनि ‘डिजिटल ट्रान्जेसन’कै रूपमा हेरिएको छ। एउटा एटीएमबाट अर्कोमा पुग्न ग्राहकले पाउने दुःखको हिसाबले पनि धेरैलाई लाभ भएको छ।
डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न तत्काललाई निःशुल्क सेवा दिन सकिंदैन ?
ग्राहकको समयको बचत गरिने र सुविधा दिने काम डिजिटलबाट भएको छ। नगदरहितलाई नै प्रवर्धन गर्नुपर्ने पक्कै पनि हो। राष्ट्र ब्याङ्कले पनि त्यही अनुसार निर्देशन ल्याउन सक्छ। हामीहरू नगदरहितलाई नै प्रवर्धन गर्न लागिपरेका छौं। नगदरहितमा लिइने अहिलेको शुल्क एकदमै न्यून हो। ग्राहक ब्याङ्कसम्म पुग्न लाग्ने समय र खर्चका हिसाबले साह्रै न्यून शुल्क छ।
नेपालमा डिजिटल ब्याङ्कको अवस्था कस्तो छ?
कोरोनाभाइरस महामारीको संक्रमण रोक्न गरिएको बन्दाबन्दीपछि नेपालमा डिजिटल ब्याङ्कको कारोबार बढेको छ। उत्साहजनक रूपमा हरेक महीना डिजिटल कारोबार बढ्दै गएकोले डिजिटल ब्याङ्कको उपस्थितिलाई सकारात्मक रूपमा लिन सकिन्छ। नगदरहितबाट कारोबार तथा सञ्चालन खर्च पनि घट्दै गएको छ। जसको लाभ ब्याङ्क मात्रै नभएर ग्राहकले पनि पाएका छन्।
नगदरहित कारोबार गर्न अपेक्षाअनुसारको सहजता र अन्य क्षेत्रले पनि सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेका छैनन् नि?
अन्य क्षेत्रको भूमिका पक्कै पनि आवश्यक हुन्छ। डिजिटलको लागि इन्टरनेटको सहजता चाहिन्छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले गाउँसम्म ब्रोडव्याण्ड इन्टरनेट पुर्याइरहेको छ। डिजिटल ब्याङ्किङलाई मोबाइल डाटाबाटै गर्न सकिन्छ। तर, पनि हामीले तीन वर्षभित्रको लक्ष्य राखेकाले त्यो समयमा सबै गाउँमा इन्टरनेट पुगिसक्यो भने थप सहज हुन्छ।
नेपालीको अहिलेसम्मको नगदको विश्वासलाई नगदरहितमा जान पक्कै चुनौती छ। नियामक निकायबाट पनि थप सहजीकरणको आवश्यकता पर्ला नि?
नियामक निकायले सहयोग गरेको छ। ग्राहकले आफैं उपस्थित भएर भर्नुपर्ने ग्राहक पहिचान (केवाईसी) विवरण डिजिटलबाट गर्न सकिने भइसकेको छ। अन्य काममा पनि नियामक निकायले सहजीकरण गरिरहेको छ। यसमा ब्याङ्कको तर्फबाट गुनासो हुनेगरी काम भएको छैन। केही समस्या भए केन्द्रीय ब्याङ्कलाई भनेर नै बाधा फुकाउने गरिएको छ।