घूस खुवाएर त्रिविको गोल्ड मेडल लिएका कोइरालालाई १४ महीना कैद हुने फैसला
घूस खुवाएर त्रिभुवन विश्वविद्यालयको स्नातकाेत्तर तहकाे परीक्षामा उत्कृष्ट नम्बर पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई विशेष अदालतले कैद र जरिवाना गर्ने फैसला गरेको छ। विशेष अदालतले त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई एक वर्ष दुई महीना कैद र चार लाख ५७ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
विशेषका न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले त्यस्तो फैसला गरेको हो। विशेष अदालतका सूचना अधिकारी इन्द्रकुमार खड्काका अनुसार कोइरालालाई प्रश्नपत्रको गोपनीयता भंग गरेको अभियोगमा ६ महीना कैद र सात हजार जरिवाना तथा घूस खुवाएको अभियोगमा ८ महीना कैद र चार लाख ५० हजार जरिवाना भएको हो।
कोइरालाले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय मानविकी संकायतर्फको एमए गोप्य शाखाका शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई एक लाख ५० हजार घुस दिएर आफ्नो प्राप्तांक बढाउन लगाएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एमए इकोनोमिक्समा गोल्ड मेडल ल्याउने उद्देश्यले अन्य विद्यार्थीको भन्दा बढी अंक हुने गरी अंक थप गराई प्रथम श्रेणीमा उत्तीर्ण गरेको अभियोग लगाएको थियो।
कोइरालाले एमए ग्रामीण विकासको परीक्षामा पनि त्यसैगरी नम्बर थप्न लगाएर प्रथम श्रेणी प्राप्त गरेका थिए भने एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित हुँदाहुँदै पनि उत्तीर्ण भएका थिए। कोइरालाले एमएमा अर्थशास्त्र, ग्रामीण विकास र समाजशास्त्र संकायका १५ वटा विषयमा ३ नम्बरदेखि ५० नम्बरसम्म थप गर्न लगाएर कुल २२४ अंक थप गराएका थिए।
त्यसका लागि कर्माचार्यलाई एक लाख ५० हजार घूस खुवाएका थिए, त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत कर्माचार्यले त्रिभुवन विश्वविद्यालयको मर्यादा विपरीत गोपनीयता भङ्ग गरी आफ्नो ओहोदा र पदको दुरूपयोग गरी परीक्षाको परिणाम फेरबदल गरेको भन्दै अख्तियारले उनी विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
कर्माचार्यले केदार भट्टराईबाट पनि तीन लाख घूस लिएर उनको एमए अर्थशास्त्र संकायको पाँच वटा विषयमा १०/१० नम्बरको दरले ५० अंक थप गरिदिएका थिए। त्यसपछि भट्टराई पनि प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए। अख्तियारले चार लाख ५० हजार बिगो कायम गरी अदालतमा यी तीनै जनाविरुद्ध मुद्दा चलाएको थियो। विशेष अदालतले केदार भट्टराईलाई ११ महीना कैद र तीन लाख ५ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
सूचना अधिकारी खड्काका अनुसार त्रिविको मर्यादा विपरीत प्रश्नपत्रको गोपनीयता भंग गरेकोमा भट्टराईलाई चार महीना कैद र पाँच हजार रूपैयाँ जरिवाना तथा घूस दिएकोमा सात महीना कैद र तीन लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको हो।
त्यस्तै, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई ११ महीना कैद र १ लाख ५५ हजार रूपैयाँ जरिवाना हुने फैसला भएको छ।