मलेशियामा नेपाली कामदारलाई बन्धक बनाएर यसरी असुलिन्छ रकम
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मलेशियामा नेपाली कामदार बन्धक बनाएर रकम असुल्ने काममा संलग्न भएको आरोपमा डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ (४४) लाई पक्राउ गरेको छ। तेह्रथुमको साविक सोल्मा-८ का श्रेष्ठले मलेशियाको सबैभन्दा ठूलो पन्जा उत्पादक कम्पनी, टप ग्लोभमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्दै आइरहेका छन्।
उनको क्यान्टिनमा टप ग्लोभमा कार्यरत नेपाली कामदार खाना खाने गर्छन्। मलेशियामा बसेर नेपाली कामदारलाई बन्धक बनाउने र अपहरण गर्ने काममा संलग्न रहेको भन्दै श्रेष्ठलाई नेपाल आएको बेला सीआईबीले पक्राउ गरेको हो। उनी काठमाडाैंको बाँसबारीबाट पानीपोखरीतर्फ जाँदै गरेको अवस्थामा १३ असोजमा पक्राउ परे। उनी तेह्रथुम-मलेशिया सम्पर्क मञ्चको प्रमुख सल्लाहकार समेत हुन्।
यसरी भयो अपहरण
दुर्गाबहादुर श्रेष्ठको योजनामा उनकी श्रीमती धनमाया श्रेष्ठ र दुर्गाबहादुरका सवारी चालक श्याम नेपालीले टप ग्लोभमा काम गर्ने दाङ पहरुवाका मध्म रैदासलाई अपहरण गरेर सात दिनसम्म बन्धक बनाएका थिए। श्रेष्ठ मलेशियामा भएका बेला मलेशियामा नै रहेका उनकी श्रीमती र चालकको संलग्नतामा रैदासलाई अपहरण गरिएको सीआईबीले जनाएको छ।
घटनाबारे अनुसन्धान गरिरहेका सीआईबीका डीएसपी अनिलकुमार घिमिरेका अनुसार रैदासलाई अपहरण गरेर कहिले चालकको कोठामा त कहिले डेभिडको होटलमा लगेर राखिएको अनुसन्धानबाट खुलेको छ। रैदासलाई गएको ११ असार साँझ काम गरिरहेको टप ग्लोभ कम्पनीबाट अपहरण गरिएको थियो। उनीहरूले रैदासकी नेपालमा रहेकी श्रीमतीलाई मलेशियाका विभिन्न नम्बरबाट फोन गरी श्रेष्ठको हिमालयन ब्यांकमा रहेको खातामा १५ लाख ९२ हजार जम्मा गरिदिए मात्र अपहरणमुक्त गर्ने बताएका थिए।
त्यसक्रममा उनीहरूले उक्त रकम नदिए रैदासलाई मारिदिने धम्की दिएका थिए। उनीहरूको धम्कीपछि रैदासकी श्रीमतीले दुर्गाबहादुरको हिमालयन ब्यांकको खातामा १५ लाख ९२ हजार रकम जम्मा गरिदिएपछि मात्र उनी अपहरणमुक्त भएका थिए। रैदासलाई अपहरण गरेको र उनको राहदानी कब्जामा लिएर उनलाई नेपाल आउन समेत नदिई बन्धक बनाएको भन्दै उनकी श्रीमतीले सीआईबीमा उजुरी गरेकी थिइन्।
उजुरीपछि सीआईबीले थप अनुसन्धान गर्ने क्रममा दुर्गाबहादुर नेपाल आएको भन्ने सूचनाका आधारमा उनको खोजतलास गर्दा उनी बाँसबारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा पक्राउ परेका हुन्। दुर्गाबहादुर गएको १७ सेप्टेम्बरमा मलेशियाबाट नेपाल आएका थिए। सीआईबीका अनुसार बन्धक बनाइएका रैदासलाई नेपाल झिकाउने तयारी भइरहेको छ।
सीआईबीका डीएसपी अनिलकुमार घिमिरे दुर्गाबहादुरले मलेशियामा अरु थप नेपाली कामदारलाई पनि बन्धक बनाएको भन्ने विषयमा उजुरी आइरहेको र त्यसबारे आफूहरूले अनुसन्धान गरिरहेको बताउँछन्। सीआईबीको अनुसन्धानबाट डेभिडको लगानीमा मलेशियाका विभिन्न स्थानमा पाँच वटा होटल रहेको खुलेको छ।