बलात्कार तथा हत्याकाे घटनाबारे दुई संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
महिला तथा बालिका बलात्कारको घटना बढ्दै गएको भन्दै संसदीय समितिहरूले चासो देखाएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन र महिला तथा सामाजिक समितिले बझाङलगायत मुलुकका विभिन्न जिल्लामा महिला र विशेष गरी बालिका बलात्कार तथा हत्याको घटनाको बारेमा छलफल गर्न लागेका हुन्।
अहिले केहीबेरमा शुरू हुने बैठकमा दुवै समितिले गृहमन्त्री, गृहसचिव तथा प्रहरी प्रमुखलाई बोलाएका छन्। राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर छलफल गर्न लागेको जनाएको छ।
यस्तै, महिला तथा सामाजिक समितिले गृह, महिला तथा बालबालिका मन्त्री, ती मन्त्रालयका सचिव, महिला आयोग तथा तथा विभिन्न संसदीय समितिका सभापतिहरूलाई बोलाएको छ।
समितिमा महिलाविरुद्ध हुने हिंसा, हत्या, बलात्कार सम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल गर्न लागिएको समिति सदस्य थममाया थापाले जानकारी दिइन्।
यस्तै, दीगो विकास तथा सुशासन समितिले संवैधानिक आयोगहरूमा नियुक्तिको विषयमा छलफल गर्न बुधबार नै बैठक बोलाएको छ।