‘कोरोना लाग्दैन भनेर नमात्तिऊँ, लागेपछि नआत्तिऊँ’
सञ्चारकर्मी तथा रन्जना लिपि अभियन्ता सुनिता डंगोलसहित उनको परिवारका पाँच जनालाई गत महीना कोरोनाभाइरस संक्रमण भयो। ५३ वर्षीय आमा, दुई वर्षको भदै, दाजु र दिदीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले सबैजना संक्रमणमुक्त भइसकेका छन्। तर, अझै केही समय घरमा नै आराम गर्ने उनी बताउँछिन्। उनी र उनको परिवारले कोरोनामुक्त हुन गरेको प्रयासबारे हिमालखबरलाई सुनाएकी छिन्:
बुवाको मुख हेर्ने दिन आफन्तहरूसँग खानपिन भयो। त्यस बेला एक जना भाइले स्वाब परीक्षणका लागि दिएको कुरा लुकाएका रहेछन्। उनको रिपोर्ट पोजिटिभ आएपछि हाम्रो परिवार पनि ट्रेसिङमा पर्यो। हामी क्वारेन्टिनमा बस्यौँ। त्यसको ६ दिनपछि स्वाब परीक्षण गर्दा मेरो भाउजूबाहेक परिवारका पाँचै जना संक्रमित भएको पुष्टि भयो।
त्यसपछि हामी होम आइसोलेसनमा बस्यौं। म र दिदी एउटा कोठामा फरक फरक बेडमा सुत्यौँ। दाइ र आमा एउटा कोठामा फरक बेडमा सुत्नुभयो। दुई वर्षको बच्चा आमाले सुताउनुभयो।
संक्रमण पुष्टि नहुँदै दाइको शरीर दुख्न थाल्यो। तर, कोरोनाभाइरसले भन्दा पनि व्यायाम गर्दा नमिलेर होला भन्ने भयो। दिदीलाई पनि खोकी लाग्न थाल्यो। दिदीलाई कफ सिरप खान दियौं। संक्रमण भएको पुष्टि भएपछि मलाई पनि शरीर दुख्न थाल्यो। कमजोरी महसूस भयो।
आफ्नोभन्दा पनि हामीलाई आमा र बच्चाको बढी चिन्ता भयो। तर, आमालाई केही लक्षण देखा परेन। बच्चालाई ज्वरोलगायत अन्न कुनै लक्षण देखिएन। दाइ र मलाई बास्ना नआउने, खानाको स्वाद नआउने पनि भयो।
हामीलाई संक्रमण पुष्टि भएपछि भाउजू तल्लो तलाको कोठामा छुट्टै बस्नुभयो। आमाले बाबु हेर्नुभयो। मैले र दिदीले खाना बनाउने र घरको सरसफाइ गर्ने गर्यौं। दाइले हामीलाई सघाउनुभयो।
त्योभन्दा बाहेकको समय गीत बजाएर नाच्ने गर्यौँ। मरीच, गुर्जो, बेसार, कागती हालेको तातोपानी नियमित पियौँ। दिदीलाई कागतीले खोकी लाग्न थालेपछि भिटामिन सीको ट्याब्लेट पनि लियौं।
मेरो चाहिं अन्तिम समयतिर आएर शरीर एकदम दुख्यो। कमजोरी अनुभव भयो। सामान्य व्यायाम नियमित गर्यौं। कोरोनाभाइरसले शरीर एकदम कमजोर बनाउने रहेछ। त्यसैले प्रोटिनयुक्त खाना, गेडागुडीको झोल खाइरह्यौँ। दुई छाक नै खाना खायौं।
सामान्यतया म दैनिक १६ घन्टा काम गर्छु। त्यत्ति गर्दा पनि थकाइ लागेको महसूस हुँदैनथ्याे। तर, आजभोलि एकदम धेरै थकाइको अनुभव हुन्छ।
हामी घरबाहिर निस्किएनौँ। हाम्रा छिमेकीलाई समेत हामी संक्रमित भएको थाहा भएन। परिवारमा बसेर डर भगाउने हरसम्भव प्रयास गर्यौं। आमा र बाबु संक्रमित भएकाले मानसिक तनाव भने भयो। त्यसमाथि संक्रमितको मृत्यु भएका समाचारहरूले झन् तनाव हुन्थ्यो। त्यसपछि हामीले त्यस्ता समाचार हेर्नै छोड्यौं।
मनको डर एकअर्कालाई देखाएनौं। सबै हाँस्ने, नाच्ने गरेर निको हुन सफल भयौं। रिपोर्ट पोजिटिभ आएको १९ दिनमा जाँच गर्दा आमाको चाहिं फेरि पोजिटिभ नै देखायो। २१ दिनमा पुन: परीक्षण गर्दा नेगेटिभ आयो। अहिले सबै संक्रमणमुक्त भएका छौं।
आजभोलि पनि कतिपयले भनेको सुन्छु, ‘कोरोना केही होइन, मलाई केही भएन।’ सामाजिक सञ्जालमा पनि यस्तो लेख्छन्। तर, त्यस्तो नलेख्न अनुरोध गर्छु। त्यसले भ्रम फैलिन सघाउँछ।
‘कोरोनाभाइरस छैन’ वा ‘मलाई केही भएन, केही हुँदैन’ भनेर लेख्दा/बोल्दा संक्रमण भएर गम्भीर बिरामी परेका र मृत्यु भएकाको परिवारलाई दु:खी तुल्याउँछ। ‘कोरोना छैन’ भनेर मात्तिएर भीडभाडमा जाने, भीडभाड बनाउन सघाउ पुग्ने नगरौं।
यदि संक्रमण भइहाल्यो भने मानसिक रूपमा बलियो बनौं। नआत्तिऊँ। संयम भएर स्वास्थ्यप्रति ख्याल गरौं। हाम्रो दिमागले शरीरलाई चलायमान बनाउने भएकाले मानसिक रूपमा बलियो भयौं भने शारीरिक कमजोरी जित्न सकिन्छ।
प्रस्तुतिः नुनुता राई