अयोध्याधाम बनाउन माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि १०० बिघा जग्गा छुट्याएको छ। प्रधानमन्त्री केपी ओलीले केही दिनअघि माडीका मेयरसहितका जनप्रतिनिधिलाई भेटेर धाम निर्माणको काम अघि बढाउन निर्देशन दिएपछि नगरपालिकाले जग्गा छुट्याएको हो।
मङ्गलबार बसेको कार्यपालिका बैठकले जमीनको टुङ्गो लगाएको छ। माडीका मेयर ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको जानकारी दिए।
मेयर ढकालले भने, “सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करीब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ।”
यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको उनले बताए। अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण छिट्टै अघि बढ्ने जनाए।
ढकालले भने, “प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ।” काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए।
माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गाहरु उपलब्ध गराउनसमेत स्थानीय तत्पर रहेको बताइन्। माडी–७ का केही स्थानीयवासीले धाम निर्माणका लागि करप्ब १५ बिघा जग्गा निःशुल्क दिने घोषणा गरिसकेका छन्। “अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित छन्”, उनले भनिन्।
अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताए। जमीनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्था अब नरहेको कारण केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने उनले बताए।
प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको बताएका थिए। त्यसपछि यो विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो। माडीका जनप्रतिनिधिलाई बालुवाटार नै बोलाएर ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिएका थिए।