भारतका उपराष्ट्रपति नायडुलाई कोरोना संक्रमण
भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोनाभाइरस संक्रमण भएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार साँझ यसको जानकारी दिएको हो।
सचिवालयले ट्विट गर्दै उनलाई संक्रमण भए पनि लक्षण नदेखिएको जनाएको छ। ट्विटमा भनिएको छ, “भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोभिड-१९ जाँच भयो, जसमा नतिजा पोजिटिभ आएको छ। यद्यपि उनलाई कुनै लक्षण छैन र उनी स्वस्थ छन्।”
उनलाई घरैमा छुट्टै बस्न सल्लाह दिइएको छ। उनकी श्रीमती उषा नायडुको जाँच भने नेगेटिभ आएको छ। तर, उनी पनि ‘सेल्फ आइसोलेसन’ मा बसेको सचिवालयको ट्विटमा उल्लेख छ।