कोरोना अपडेट: यी हुन् काठमाडौं महानगरमा धेरै संक्रमित देखिएका ६ स्थान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकभर हालसम्म कोरोना संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ संक्रमित थपिएका छन्।
देशभर थपिएका १ हजार ५१३ संक्रमितमध्ये काठमाडौं जिल्लामा मात्र ७४७ संक्रमित भेटिएका छन्। १३ असोजसम्ममा काठमाडौं जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार १५३ पुगेको छ।
काठमाडौं उपत्यकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार २७४ पुगेको छ। देशभर रहेका कोरोना सक्रिय संक्रमितको संख्या २० हजार ३९६ छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर रहेका कोरोना सक्रिय संक्रमितको संख्यामध्ये काठमाडौं उपत्यकामा मात्र ५५ प्रतिशत छन्।
कुल २० हजार ३९६ सक्रिय संक्रमितमध्ये वागमती प्रदेशमा सबैभन्दा उच्च अर्थात १२ हजार ९७९ सक्रिय संक्रमित छन्। कोरोनाका सक्रिय संक्रमित बढी भएको वागमती प्रदेशमा कोरोनाका सिकिस्त ११० जना बिरामी आईसीयूमा र २६ जना बिरामी भेन्टिलेटरको सहायतामा उपचाररत छन्।
महानगरका ६ वटा वडामा संक्रमणको दर धेरै
यसमध्ये काठमाडौं महानगरका ६ वटा वडामा कोरोना संक्रमण धेरै पाइएको छ। काठमाडौं महानगरपालिकाको १३ असोजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै वडा-१५ मा छ। यो वडामा १२ असोजमा मात्र ३१ नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८१२ पुगेको छ। वडा-१५ मा स्वम्यभुलगायत क्षेत्र पर्छन्।
महानगरका अनुसार १२ असोजमा बल्खु क्षेत्र पर्ने वडा-१४ मा २७ नयाँ कोरोना संक्रमित भेटिएपछि त्यहाँ कुल कोरोना संक्रमितको संख्या ४७१ पुगेको छ।
यस्तै, धुम्बाराहि क्षेत्र पर्ने वडा-४ मा सोमबार मात्र २५ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २७० पुगेको छ।
गौशाला क्षेत्र पर्ने वडा–९ मा २१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २८० र बागबजार क्षेत्र पर्ने वडा–२८ मा १६ संक्रमित थपिएपछि कोरोनाका कुल संक्रमितको संख्या ३९५ पुगेको छ।
काठमाडौं महानगरको वडा–२९ मा सोमबार १२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २५३ पुगेको छ।
महानगरले राखेको कुल संक्रमितको यो संख्यामा कोरोनाबाट निको भएका र मृत्यु भएकाहरूको संख्या समेत जोडिएको छ।