देशका आठ स्थानमा अहिलेसम्मकै धेरै वर्षा, यसअघिको रेकर्ड तोडियो
यस वर्षको मनसुनमा देशका आठ स्थानमा अहिलेसम्मकै सबभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दुमकौली, धनकुटा, स्यागजा, रामपुर, बाग्लुङ, पोखरा, लमजुङ खुदीबजार र कुस्मा पर्वतमा यसअघिको रेर्कड तोडिएको छ।
विभागका अनुसार १९ जेठदेखि ११ असोजसम्म नवलपरासीको दुम्कौलीमा ३ हजार ३३५.२४ मिलिमिटर वर्षा भएको छ। सन २००३ मा भएको २ हजार ८६५ मिलिमिटर वर्षा अहिलेसम्मकै उच्च थियो। उक्त स्थानमा सरदर वर्षाको स्थिती १ हजार ९६४.४ मिलिमिटर हो।
त्यसैगरी धनकुटामा सरदर वर्षाको स्थिती ७१२.२ मिलिमिटर भएकोमा यसवर्ष १ हजार १३३.८६ मिलिमिटर भएको छ। यसअघि सन् १९८७ मा १ हजार ६०.६ मिलिमिटर वर्षा भएको थियो।
रामपुर चितवनमा २ हजार ६८३.३ मिलिमिटर वर्षा भएको छ। सन् २००७ मा रामपुरमा २ हजार २५८ मिलिमिटर वर्षा भएको थियो।रामपुरको सरदर वर्षाको स्थिती १ हजार ७०४.५ मिलिमिटर हो।
स्याङजामा ३ हजार ५२०.२मिलिमिटर वर्षा भएको छ। उक्त स्थानमा सन् २००२ मा ३ हजार १३०. ७ मिलिमिटिर वर्षा भएको थियो।
बाग्लुङमा पनि यसअघिको रेकर्ड तोकिएको छ। सन् २००० मा २ हजार ५२.४ मिलिमिटर वर्षा भएकोमा यसपाली २ हजार ४४९.७१ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै कास्कीमा यसपालीको मनसुनमा भएको वर्षाले अहिलेसम्मकै रेर्कड तोडिएको छ। कास्कीमा यसवर्ष ४ हजार ५१९.३५ मिलमिटर वर्षा भएको छ। कास्कीमा सन् १९९५ मा ४ हजार ६८.९ मिलमिटर वर्षा भएको थियो।
त्यस्तै खुदीबजार लमजुङमा ४ हजार ५१९.३५ मिलिमिटर वर्षा भएको छ। सन् १९९६ मा उक्त स्थानमा ३ हजार ८१९.१ मिलिमिटर वर्षा भएको थियो।
पर्वत कुश्मामा पनि अहिलेसम्मकै रेर्कड तोडिएको छ। सन् २००० मा २ हजार ६९०.८ मिलिमिटर वर्षा भएकोमा यसवर्ष कुश्मामा २ हजार ८९५.१ मिलमिटर वर्षा भएको छ।