राष्ट्रिय ध्वजावाहकलाई कमजोर पारेर निजी वायुसेवालाई ग्राउन्ड ह्याण्डलिङ सेवा नदिन नेवानिको आग्रह
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) ले अहिलेसम्मकाे लगानी र निगमको आम्दानी खोस्ने गरी निजी वायुसेवालाई ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रवन्ध सेवा) मा प्रवेश गर्न नदिन आग्रह गरेको छ।
हिमालय एअरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ सेवा दिएर सरकारको ठूलो लगानी रहेको भूमिस्थ प्रवन्ध सेवाको आम्दानीमा पूर्णविराम लगाउने कार्यको शुरुआत गर्न खेजिएको आरोप निगमको छ।
विश्वका अधिकांश विमानस्थलहरूमा त्यहाँको राष्ट्रिय ध्वजावाहकबाट नै विमानस्थलको भूमिस्थ सेवा संचालन गर्न दिइने र नेपालमा पनि सोही अध्यास भइरहेकोले यसलाई नखोस्न निगमले आग्रह गरेको हो।
हिमालयलाई ग्राउन्ड ह्याडलिङमा प्रवेश गराउने ४ असोजको नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयमा आधिकारिक धारणा सार्वजनिक गर्दै नेवानिले यो सेवाका लागि अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदानका निम्ति इक्युपमेन्ट र जनशक्ति विकासमा गरेको अर्बाैंकाे सरकारी लगानी जोखिममा नपार्न पनि सरकारसमक्ष आग्रह गरेको छ।
निगमले प्रदान गरेको सेवाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको, निगमले यो वर्ष मात्रै चार वटा र्याम्प बस र अन्य सामग्रीमा लगानी गरेको जनाएको छ। वास्तविक तथ्यलाई आधार बनाएर ग्राउन्ड ह्याण्डलिङ सेवाको दायरा खुम्च्याउन नहुने माग नेवानिले गरेको छ।
भूमिस्थ सेवा प्रदान गर्दा विमानस्थमा ठाउँ अभाव रहेको र पटकपटक माग गर्दा आवश्यक सामग्री राख्ने स्थान उपलब्ध गराएको अवस्थामा थप कम्पनी आउँदा ग्राउन्ड ह्याडलिङका सामाग्रीको व्यवस्थापन तथा भण्डारण अभावमा विमानस्थल कवाडी खाना जस्तो हुने दाबीसमेत निगमको छ।
त्यो अवस्था आएमा 'वर्किङ प्लेस सेफ्टि'को समस्या आउने र सोही कारण युरोपेली युनियन (ईयू)को नेपाली वायुसेवामाथिको कालोसूची लम्बिन सक्ने बुझाइ निगमको छ।
एअर इन्डिया र थाई एअरलाइन्सले ३५ देखि ४० वर्ष पहिले पाएको सुविधा र त्यतिबेला विमानस्थलमा कुनै समस्या नभएको अवस्थासँग नयाँ वायुसेवाले पाउने सुविधासँग दाँज्न नमिल्ने निगमको तर्क छ।
निगमले ६२ वर्षदेखि पुर्याउँदै आएको सुविधालाई खोस्न नहुने, विमानस्थल कार्यालयले स्थान अभावमा थप नयाँ वायुसेवालाई ग्राउन्ड ह्याण्डलिङ सेवा दिन नसकिने हुँदा सोही आधारमा निर्णय गराउन सक्ने निगमको भनाइ छ।
निगमले नागरिक उड्ययन प्राधिकरणले हिमालय एअरलाइन्सलाई दिने निर्णय भएको सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा खारेज गर्न पनि माग गरेको छ।