संकटका बेला नाफाको लोभ नराख्न ब्यांक सञ्चालकहरुलाई गभर्नरको सुझाव
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले निम्त्याएको संकटका बेला नाफामुखी नहुन ब्यांक तथा वित्तीय संस्थाका अध्यक्षहरूलाई सुझाव दिएका छन्।
ब्यांक तथा वित्तीय संस्थाका अध्यक्षहरूसँग मंगलबार भर्चुअल अन्तर्रक्रिया गर्दै गभर्नर अधिकारीले व्यवसायलाई टिकाउनेतर्फ मात्रै ध्यान केन्द्रित गरी धेरै नाफाको लोभ नराख्न सुझाव दिएका हुन्।
गभर्नर अधिकारीले कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिलाई सम्हाल्नु मुख्य प्राथमिकता भएको पनि बताएका थिए। उनले ब्यांकका अध्यक्षहरूबीच मर्जरका विषयमा छलफल गरी निष्कर्षमा पुग्न पनि सुझाव दिएका थिए। राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाबीच जबर्जस्ती मर्जर गराउने चर्चा चलिरहेका बेला गभर्नर अधिकारीले सञ्चालक समितिका अध्यक्षहरू आफैंले छलफल गरी मर्जरको कुरा टुंग्याउन सुझाव दिएका हुन्।
उनले अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले सो रकम अनुत्पादक क्षेत्रतर्फ जानसक्ने जोखिम रहेको भन्दै यसतर्फ गम्भीर हुन पनि सचेत गराएका थिए।
वेबिनारमा ब्यांक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानसहित विभिन्न ब्यांक तथा वित्तीय संस्थाका अध्यक्षहरू सहभागी भएका थिए।