मन्त्रिपरिषद् पुनर्गठनबारे ओली र दाहाल आ–आफ्नै अडानमा, आज पनि जुटेन सहमति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे मंगलबार पनि सहमति जुट्न सकेन। प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहाल आ–आफ्नै अडानमा अडिग रहेपछि मन्त्रिपरिषद् पुनगर्ठनको विषय पेचिलो बन्दै गएको छ।
दुई अध्यक्षबीच दैनिकजसो छलफल हुने गरेपनि कुनै सहमति जुट्न सकेको छैन। ६ असोजको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेयता उनीहरूबीच छलफल हुँदै आएको छ।
उनीहरूबीच, बिहीबार, शुक्रबार, आइतबार र सोमबार पनि लगातार छलफल भएको थियो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टा भएको छलफल पनि बिनानिश्कर्ष टुंगिएको छ।
“आजको छलफलमा पनि कुनै सहमित भएन, दुवैजना आआफ्नै अडानमा हुनुहुन्छ”, दाहालनिकट स्रोतले भन्यो, “छलफललाई निरन्तरता दिने भन्ने भएको छ।”
केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा ओली–दाहालबीच सहमति बन्न नसकेको बताइन्छ।
प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रीमण्डमा समेट्नुपर्ने पक्षमा छन्।
पुराना कोही राख्नैपर्ने भएबाहेक सबै मन्त्री फेर्नुपर्ने दाहालको माग छ। तर, प्रधानमन्त्री ओली भने कार्यक्षमताका आधारमा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने पक्षमा छन्।