हुरीबाट करीब दुई हजार चारसय घरमा क्षति, मृतकमध्ये चार भारतीय (अपडेट)
आइतबार आएको हावाहुरीबाट करीब दुई हजार चारसय घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांकले पुष्टि गरेको छ ।
१७ चैत साँझ चलेको हावाहुरीका कारण पर्सा र बारामा २८ जनाको ज्यान गयो भने करीब ५०० जना घाइते भए । घाइतेमध्ये केही उपचारपछि घर फर्किएका छन् ।
अन्यको कलैया अस्पताल बारा, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा र केहीको काठमाडाैंमा उपचार भइरहेको छ ।
मृत्यु भएका २७ जनामध्ये चारजना भारतीय नागरिक छन् भने ६ जना बालबालिका छन् ।
हावाहुरीले बाराको कलैया उपमहानगरपालिका, महागढीमाई र पचरौता नगरपालिका, फेटा, सुवर्ण, प्रसौनी, देवताल र परवानीपुर गाउँपालिका तथा पर्साको वीरगञ्ज आसपास ठूलो क्षति पुर्याएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको आँकडा अनुसार हुरीका कारण एकहजार ८९५ घरमा क्षति पुगेको छ । जसमध्ये ९४० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ९५५ मा आंशिक क्षति पुगेको छ ।
यसैगरी पर्सामा हावाहुरीले ३ सय ९ घरधुरीमा क्षति पु¥याएको प्रारम्भिक तथ्यांक छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार पर्सा जिल्लाका विभिन्न पालिकामा गरी ३०९ जनाको घरमा क्षति पुगेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–८ जगरनाथपुर र वडा नं २२
सुखचैनामा बढी भौतिक क्षति भएको छ । हावाहुरीले जगरनाथपुरमा २०९ र सुखचैनामा ११८ घरधुरीमा क्षति पु¥याएको छ ।
जसमध्ये १२२ वटा घर पूर्ण रूपमा क्षति भएका र ३८७ घरमा आंशिक क्षति भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । पर्सामा ५०९ घर प्रभावित भएको प्रारम्भिक तथ्यांक छ ।
पर्सामै हावाहुरीका कारण मानवीय क्षति भएको छैन । तर, बारामा भएको दुर्घटनामा परेर पर्साका तीनजनाको मृत्यु’ भएको जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १८ भवानीपुर बस्ने १८ वर्षीय सरोज रामको मृत्यु भएको छ । उनको बाराको परवानीपुर गाउँपालिका– ४ चैनपुरमा हावाहुरीका कारण भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।
बारामा इँटाभट्टामा काम गर्दै आएका एक माझी परिवारका दुई सदस्यको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नं ५ का हजुरबुवा रामजित माझी र उनका नाति सुरज माझीको बारामा मृत्यु भएको हो । उनीहरूका परिवारका ४ जना सदस्य पनि गम्भीर बिरामी भई थप उपचारका लागि काठमाडौं रिफर गरिएको वडा अध्यक्ष दारा सिंहले बताएका छन् ।
त्यसैगरी, हावाहुरीले नेपाल विद्युत प्राधिकरणको मात्रै रु. १५ करोड बराबराको भौतिक क्षति गरेको छ ।
(पर्साबाट पत्रकार सुरेश बिडारीको सहयोगबाट)
घटनाको तेस्रो दिन आज किरण नेपालले खिचेका तस्वीरहरुः