मृत भेटिएकी पत्रकार निर्मलाकी आमा भन्छिन्– ‘मेरी छोरीलाई लखेटी लखेटी मारे’
गएको २ असोजमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएकी कैलालीकी पत्रकार निर्मला पहराईको मृत्युको घटनाबारे हालसम्म कुनै तथ्य पत्ता लाग्न सकेको छैन।
पोष्टमार्टमको रिपोर्ट नआएकाले उनले आत्महत्या गरेकी हुन् वा हत्या भएको हो भन्ने खुल्न नसकेको कैलाली प्रहरीले जनाएको छ। सुखडस्थित कैलाली एफएममा काम गर्ने २३ वर्षीया निर्मला त्यहीं कोठा लिएर बस्दै आएकी थिइन्। २८ भदौमा बुवाको श्राद्ध गर्न घोडाघोडी नगरपालिका–४ स्थित घर आएकोमा त्यसको भोलिपल्ट रेडियोको कामले गएपछि फर्केर आइनन्।
“पापीले मेरी छोरीको हत्या गरी रुखमा झुन्डयाइदिए। घाँटीमा खुकुलो गरी बाँधिएको छ। शरीरभरि रगत र नीलडाम देखिएको छ। तर प्रहरीले उल्टै हामीसँग प्रमाण खोजिरहेको छ। यो कहाँको न्याय हो?” - निर्मलाकी आमा
९ असोजमा कैलालीका पत्रकार महिलाहरू निर्मलालाई श्रद्धाञ्जली अर्पण गर्न उनको घर पुगे। ७० वर्षीया आमा बाटुली पहराई सिढीको डिलमा टोलाइरहेकी थिइन्। निर्मलाको रहस्यमय मृत्युको विषयमा सोध्न नपाउँदै आमाले गहभरि आँसु पार्दै भनिन्, “मेरी छोरी आफैं मरेकी होइन, मारिएकी हो। लखेटी लखेटी मारे। चप्पलमा अलिकति पनि हिलो लागेको छैन, तर शरीरभरि माटो छ।”
उनले थप भनिन्, “पापीले मेरी छोरीको हत्या गरी रुखमा झुन्डयाइदिए। घाँटीमा खुकुलो गरी बाँधिएको छ। शरीरभरि रगत र नीलडाम देखिएको छ। तर प्रहरीले उल्टै हामीसँग प्रमाण खोजिरहेको छ। यो कहाँको न्याय हो?”
निर्मलाकी आमाले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखिन्। पाँच दाइ र चार दिदी रहेकी निर्मला १०औं अर्थात् सबैभन्दा कान्छो सन्तान थिइन्। सबै जना विवाह गरेर अलग भइसकेको कारण आमाको हेरचाह उनैले गर्दै आएकी थिइन्। उनको बुवाको धेरै वर्षअघि मृत्यु भइसकेको छ।
‘विवाहको विषयमा विवाद’
आफन्तका अनुसार, ३१ भदौमा निर्मला रेडियो कैलालीमा बिहानको समाचार पढेर घोडाघोडी नगरपालिका–५ पहलमानपुरका ललित जाग्रीलाई भेट्न दिउँसो कोठाबाट निस्किएकी थिइन्। साँझसम्म पनि नफर्केपछि परिवारले सुखडस्थित इलाका प्रहरी कार्यालयमा छोरी हराएको भन्दै खोजीका लागि उजुरी दिए।
२ असोजमा रुखमा झुण्डिएको अवस्थामा निर्मलाको शव फेला पर्यो। त्यसै दिन प्रहरीले जाग्रीलाई पक्राउ गरेको थियो। आफन्तले जाग्री र साउद थरकी एक किशोरीमाथि ५ असोजमा किटानी जाहेरी दिंदै घटनाबारे छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरे। जाहेरी दिएकै दिन किशोरी पनि पक्राउ परेकी थिइन्।
प्रहरीको प्राम्भिक अनुसन्धानबाट ३१ भदौमा निर्मला, ललित जाग्री र साउद थरकी किशोरीबीच कुरा भएको खुलेको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले भने, “३१ गते केटा र केटीको कुरा भएको बुझिएको छ। ३० गते विवाहको विषयमा उनीहरुको विवाद भएको देखिन्छ।”
निर्मलाका साथीहरूका अनुसार, निर्मला र जाग्रीबीच प्रेम सम्बन्ध थियो। उनले आफूले अन्तरजातीय विवाह गर्न लागेको भन्दै साथीहरूलाई सुनाउने गरेकी थिइन्।
प्रहरी स्रोतका अनुसार, त्रिकोणात्मक प्रेम सम्बन्धका कारण उनीहरूबीच विवाद भएको देखिन्छ। पक्राउ परेकी किशोरीले बयान दिंदा निर्मलाले फोन गर्दा वादविवाद भएको र आफूले भेट्न बोलाएको तर नगएको बताएकी छिन्। यस्तै, जाग्रीले भने निर्मलासँग प्रेम सम्बन्ध नै नरहेको बताएको प्रहरी स्रोत बताउँछ। पक्राउ परेका दुवैले निर्मलाको मृत्युको घटनामा आफ्नो संलग्नता स्वीकारेका छैनन्।
डीएसपी बोहरा अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिपोर्ट पनि नआएकाले हत्या हो कि आत्महत्या भनेर अहिले नै भन्न नसकिने बताउँछन्। “पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान गरेर दोषी पत्ता लगाउनेछौं”, उनले भने।
प्रहरीले अहिलेसम्म मृतक निर्मलाको मोबाइल फोन भेट्न सकेको छैन।