भित्ते चित्रबाट क्यानभासमा फैलिएकी रञ्जु : मिथिला चित्रकलाबाट फैलाउँदैछिन् सामाजिक चेतना
चित्रकार रञ्जु यादवले मिथिला चित्रकलामार्फत् तराईको समाजका विसंगति औंल्याउँदै परिवर्तनका लागि सन्देश दिंदै आएकी छिन्।
मिथिला क्षेत्रका घरहरूको विशेषता हो, भित्तामा परम्परागत चित्रकला। ढोका दायाँ–बायाँ बनाइने मोख चित्रका साथै भित्ता नै ढाक्ने गरी बनाइएको चित्रले विशेष आकर्षण थप्छ।
संस्कृति र साहित्यमा धनी मानिने मैथिली समाज चित्रकलामा झनै समृद्ध छ। मैथिल महिलाहरुले धार्मिक तथा सांस्कृतिक अवसरहरूमा आफ्नो कला भित्ता र आँगनमा बनाइने यस्ता चित्रमा खन्याउँछन्। चाडबाडमा मात्र होइन, विवाह जस्ता शुभ कार्यमा पनि यस्ता भुइँचित्र र भित्तेचित्र बनाउने परम्परा छ।
मिथिलाको यही परम्परागत चित्रकलालाई चित्रकार रञ्जु यादवले क्यानभासमा उतारिरहेकी छिन्। २०६८ सालबाट व्यावसायिक रुपमा चित्र बनाउन थालेकी उनले चित्र मार्फत महिला सशक्तीकरण, तराईमा हुने बालविवाह, दाइजो प्रथा, भ्रूणहत्या जस्ता सामाजिक कुरीतिको विषय उठाउने र सामाजिक सन्देश दिने गरेकी छिन्।
मैथिली चित्रकलामा विभिन्न सांस्कृतिक तथा धार्मिक कथा भनिएको हुन्छ। रञ्जुका अनुसार, ती चित्रकला मार्फत कृष्ण लीला, राम–सीताको कहानी भनिन्छ।
रञ्जुको चित्रकारिता यात्राको पृष्ठभूमिमा भित्ते चित्रकला नै जोडिएको छ। सप्तरी पटेरवाको थलाहामा जन्मेकी उनको घरमा हजुरआमा, आमा, काकीहरु चित्रले घर सजाउँथे। त्यसैले उनी पनि सानैदेखि त्यो काममा सहभागी भइन्।
बुवा बितेपछि काका–काकीसँग राजविराजमा बसेकी उनले त्यहाँ आफ्नो चित्रकला निखार्ने मौका पाइन्। किनभने चाडबाडमा चित्रकला बनाउने जिम्मा उनैले पाउँथिन्।
मैथिली समाजमा हरेक महिलाले झैं रञ्जुले पनि परम्परा धान्न चित्रकला सिकेकी थिइन्। परम्परागत चित्रकलालाई व्यावसायिक बनाउन सकिनेबारे उनले मेसो नै पाएकी थिइनन्। उनी जागिरको खोजीमा थिइन्।
स्नातक उत्तीर्ण गरेपछि लोकसेवा आयोगको परीक्षाको लागि तयारी थालिन्। २०६७ सालमा विवाह भयो। विवाहपछि एक पटक लोकसेवाको परीक्षा पनि दिइन्। तर, नाम निस्किएन।
विवाहपछि काठमाडौं आएकी उनको जीवनको बाटो मोडियो।
उनले घरको भित्ता, आँगनमा बाहेक कपडामा पनि विभिन्न बुट्टा भर्न सिकेकी थिइन्। उनले कपडामा थरीथरी बुट्टा भरेर कोठाका टेबल र पलङ सजाउँथिन्। कोठाका भित्ताहरु पनि मिथिला चित्रकलाले सजिएका हुन्थे।
त्यही बेला एक दिन रञ्जु दम्पतीको कोठामा मैथिली चित्रकार अजित साह आए। साहले रञ्जुको कला देखेपछि क्यानभासमा चित्र बनाउन र चित्रकारिता क्षेत्रलाई नै पेशा बनाउन सुझाव दिए। त्यही सुझाव र हौसलापछि मैथिली चित्रकलालाई क्यानभासमा उतार्न थालेको उनी सुनाउँछिन्। “मैथिली चित्रकलालाई पनि पेशा बनाउन सकिने रहेछ भनेर त्यतिबेला नै थाहा पाएकी थिएँ”, उनी भन्छिन्।
भुइँ र भित्तामा चित्र बनाउने गरेकी उनलाई क्यानभासमा ब्रस पोतेर आकार दिन शुरुआती समयमा सजिलो भएन। पहिलो चित्र बनाउँदाको क्षण सम्झन्छिन्, “धेरै वटा स्केचबूक सिध्याएँ, धेरै मिहिनेतपछि मात्रै पहिलो चित्र बनाएकी थिएँ।” पहिलो चित्रमै उनले दाइजो प्रथाले तराईमा पुरुषलाई वस्तु सरह किन्नुपर्ने अवस्था बनाएको सामाजिक विषय उठाएकी थिइन्।
रञ्जुले चित्रमा सामाजिक विषयसँगै राजनीतिक क्षेत्रका बेथिति र गलत प्रवृत्ति पनि उजागर गरेकी छिन्। उनले ‘डिजास्टर टुरिज्म’ शीर्षकमा एउटा चित्र बनाएकी छिन्, जसमा बाढी जस्ता प्राकृतिक प्रकोपले तराईलाई अस्तव्यस्त पार्दा मन्त्री तथा राजनीतिक व्यक्तिहरु पर्यटक जस्तै रमिता हेर्न जाने प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ।
फराकिलो यात्रा
२०६८ सालदेखि व्यावसायिक चित्रकारिता यात्रा शुरू गरेकी रञ्जुले आफ्नो बाटो फराकिलो पार्दै लगेकी छिन्। लोक कला मार्फत संस्कृति र परम्पराको संवर्धन गर्दै उनले यसबाट राम्रो आम्दानी पनि गर्दै आएकी छिन्।
उनका अनुसार, मिथिला चित्रकलाको विभिन्न देशमा माग हुने गरेको छ। उनका चित्र अमेरिका, चीन, जापान, अष्ट्रेलिया ब्राजिल, दुबई लगायत देशका कलाप्रेमीहरुले किनेका छन्। एउटा चित्र रु.१ लाखसम्ममा बेचेकाे उनी सुनाउँछिन्।
विदेशमा मिथिला चित्रकला रुचाइनुको कारण यसको फरकपन भएको उनको भनाइ छ। “मिथिला चित्रकलाको विशेषता भनेको नै युनिकनेस हो, जुन विशिष्टता विदेशीहरू मन पराउँछन्”, उनी भन्छिन्।
मिथिला चित्रकला आर्थिक स्रोतको राम्रो माध्यम मात्रै नभएर परम्परागत चित्रकलाको प्रवर्धन हुने रञ्जुको भनाइ छ। भन्छिन्, “परम्परागत चित्रकला मिथिला क्षेत्रका हरेक महिलाले जानेका हुन्छन्। घरको भित्ता र आँगनमा कोरिने कलालाई क्यानभासमा उतार्न सके आम्दानीको राम्रो स्रोत बन्ने मात्र होइन, परम्परागत कलाको संवर्धन र प्रवर्धन पनि हुन्छ।”
मिथिला क्षेत्र संस्कृति, साहित्यसँगै चित्रकलामा पनि धनी छ भनेर देखाउन लागिपरेको उनी बताउँछिन्।
मिथिला चित्रकला निकै मिहीन हुने भएकाले बनाउन धेरै मिहिनेत पर्छ। जसले गर्दा एउटा चित्र कोर्न डेढ महीनासम्म लाग्ने उनको अनुभव छ।
उनले काठमाडौंमा दुई पटक एकल प्रदर्शनी गरिसकेकी छिन्, नेपाल कला परिषद्मा र स्वीट्जरल्यान्डको दूतावासमा। बबरमहलस्थित परिषद्मा २०७५ चैतमा एक साता लामो प्रदर्शनी गरेकी थिइन्। उनको चित्र हेरेपछि प्रभावित भएका स्वीस राजदूतले २०७६ साउनमा दूतावासमा एकदिने प्रदर्शनीको आयोजना गर्ने व्यवस्था मिलाएका थिए।
सामाजिक सन्देश चित्र बनाउँदा आनन्द लाग्ने उनी बताउँछिन्। भन्छिन्, “आफ्नो क्षेत्रबाट कम्तीमा एक जनालाई पनि यी कुराले हाम्रो समाज दुर्गन्धित भइरहेको छ, सचेत हुनपर्छ भनेर बुझाउन सके मात्रै पनि मेरो लागि ठूलो उपलब्धि हो।”
२०७६ साल वैशाखमा ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रदर्शनीमा रञ्जुले लोक कलातर्फ राष्ट्रिय पुरस्कार पाएकी छिन्। साथै, विभिन्न अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा भाग लिइसकेकी छिन्।
महामारीले बिथोले योजना
कलामा एउटा उपलब्धि हासिल गरे पनि अरु थुप्रै घुम्ती र शिखरको चुनौती बाँकी नै रहन्छ। रञ्जुले चित्रकारिताको आयाम थप फैलाउने गरी यो वर्षका लागि केही योजना र कार्यक्रम तय गरेकी थिइन्। तर, विश्वव्यापी कोरोनाभाइरस महाव्याधिले ती योजना बिथोलिदिएको उनको गुनासो छ।
वैशाखमा तय भएको युरोप भ्रमण, २५ जेठदेखि एक साता नेपाल आर्ट काउन्सिलमा गर्ने भनिएको चित्र प्रदर्शनी स्थगित भयो। यस्तै, प्रदेश २ का विभिन्न विद्यालयमा मिथिला चित्रकला र त्यसबाट दिन सकिने सामाजिक सन्देशबारे जानकारी दिने कार्यक्रम गर्ने योजना पनि बन्दाबन्दीका कारण स्थगित भएको उनले बताइन्।
मिथिला कलामा रुचि राख्नेको संख्या बढेको देखेपछि ललितपुरको झम्सीखेलमा मिथिला कला सम्बन्धी प्रशिक्षण केन्द्र खोल्ने तयारी गरेकी थिइन्। त्यो पनि महामारीले अलपत्र परेको छ। उनी भन्छिन् “मेरा धेरै योजना र सपनालाई यो महामारीले विफल बनाएको छ।”
ती काम अगाडि बढाउने तयारीका क्रममा उनी गर्भमा दोस्रो बच्चा थियो। गर्भवती भएको साढे आठ महीनासम्म उनी सक्रिय भएकी थिइन्। बच्चा जन्मिएपछि भने यो महामारीले सन्तानसँग रहने अवसर जुराइदिए जस्तै भएको छ। “योजना विफल भएको सम्झेर दुःखी हुनुको अर्थ छैन, छोरासँग रमाउन पाएकोमा खुशी छु”, उनी भन्छिन्।
गल्तीले क्यानभासमा पर्न गएको एउटा धब्बा जस्तै अन्ततः यो धमिलो परिस्थिति पनि सङ्लिने नै छ, र नियमित काम र थाती रहेका योजना अगाडि बढ्नेछन्।