फोहोर सदुपयोग गर्दै उद्यम: कागज संकलन गरेर डेढ करोडको उद्योग सञ्चालन
प्रयोग भइसकेका कागज, कार्टुनहरूबाट अण्डा राख्ने क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन्। खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरू राम्रो आम्दानी गरिरहेका छन्।
नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्राली नामको कम्पनी स्थापना गरेर महिलाहरू फोहोरका रुपमा फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन्।
स्थानीय ३ जना महिलाहरूले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याएका छन्। जिल्लामा कुखुरा पालन गर्ने फर्महरू बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको कम्पनीका प्रवन्ध निर्देशक लेखनाथ शर्माले बताए। उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिहरहेको र उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, वाग्लुङ, लम्जुङसम्म विक्री हुने गरेका छन्।
ग्रामिण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चा पदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्था समेत आफैले गर्नुपरेको उनले बताए।
कागज, किताव, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ। पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्यारेट तयार पार्दछ र करिब ५ घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ। कम्पनीले फालिने कागजहरू घरघर मै गएर किन्ने गरेको छ। प्रयोगमा आएका कागजजन्य बस्तुहरू फाल्न फोहोरको ट्याक्टर कुर्नेहरू अहिले त्यही कागज विक्री गर्ने गरिएको स्थानीय व्यवसायीहरू बताउँछन्।
कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैंयासम्म खरिद गरिरहेको छ। फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोनाकालमा पनि ११ महिला सहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन्।
तस्वीरहरू