सेवा प्रवाह सुधार र पूर्वाधारका लागि विश्व ब्यांकको रू. १८ अर्ब ऋण सहयोग
वासिङटन डीसीस्थित बहुपक्षीय ऋणदाता विश्व ब्यांकले नेपालको सरकारी सेवा प्रवाह तथा पूर्वाधार सम्बन्धी परियोजनाका लागि १५० मिलियन डलर (करीब रू. १७ अर्ब ७० करोड) ऋण सहायता स्वीकृत गरेको छ। विभिन्न शहरहरूमा सरकारी संयन्त्रको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा कोरोना भाइरसबाट संकटमा परेको अर्थतन्त्रको पुनरूत्थानका लागि यो रकम खर्च हुने विश्व ब्यांकले जनाएको छ।
परियोजना कार्यान्वयनको जिम्मेवारी विभिन्न नगरपालिकाको हुने भएकाले यो परियोजना यसअघिका भन्दा फरक तथा संघीय प्रणालीको सुदृढीकरणका लागि भएको पनि ब्यांकले उल्लेख गरेको छ।
यो सहयोग रकमले नगरपालिकाहरूको संस्थागत क्षमता सुधार, स्थानीय सुशासन र उत्तरदायित्व वृद्धि, तथा जोखिममा परेका समूहका लागि अल्पकालीन रोजगारी सिर्जना हुने बताइएको छ । “बढ्दो शहरीकरण, संघीयता तथा कोभिड–१९ को सन्दर्भमा स्थानीय सेवा प्रवाहको सुधारका लागि संस्थागत क्षमता अभिवृद्धि एवं जोखिममा परेका समूहलाई सहयोग गर्न यो सहयोग गरिएको हो,” विश्व ब्यांकका नेपालस्थित राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने।
यो परियोजना प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा प्रदेश ५ का छानिएका नगरपालिकाहरुमा सञ्चालन गरिनेछ । यी नगरपालिकामा विभिन्न शहरी पूर्वाधारको निर्माणका लागि पनि रकम खर्च हुनेछ । यसले करिब २० हजार जनालाई अल्कालीन रोजगारी पनि सिर्जना गर्ने बताइएको छ।