महामारीको मारमा रंगमञ्च, के गर्दैछन् कलाकार ?
देशभरका ६१ वटा नाट्य संस्थाहरुको प्रतिनिधित्व गर्दै थिएटर हबले केही दिनअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ज्ञापन-पत्र बुझाएर रंगमञ्चलाई बचाइराख्न आग्रह गरेको छ।
कोरोनाभाइरस संक्रमणको महामारीका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्ये रंगमञ्च पनि हो। तर, अप्ठ्यारो अवस्थामा सरकारले कुनै पनि किसिमबाट समस्याको सम्बोधन नगरेको रंगकर्मीहरुको गुनासो छ।
रंगकर्मीहरुले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानलाई केही दिनअघि बुझाएको ज्ञापन-पत्रमा लामो समय नाटकघर बन्द हुँदा मारमा परेको भन्दै भर्चुअल कार्यशाला गर्न माग गरेका छन्। लामो समय नाटकघर बन्द हुँदा कलाकार तथा रंगमञ्च सम्बन्धित व्यक्तिहरुको दैनिकी कठिन भइरहेको रंगकर्मी विजय बराल बताउँछन्।
उनी भन्छन्, “हामीले देशैभरका रंगकर्मीहरुसँग जुम मिटिङ गरेर प्रतिष्ठानमा भर्चुअल कार्यशाला संचालन गर्न माग गर्दै ज्ञापन-पत्र बुझाएका छौं। तालिम गरेबापत प्रशिक्षक तथा विद्यार्थीलाई दैनिकी सहज बनाउन न्यूनतम आर्थिक सहयोगका लागि पनि प्रतिष्ठानसँग अनुरोध गरेका छौं।”
प्रतिष्ठानले छलफल गरेर टुङ्गोमा पुग्ने जानकारी दिएको उनको भनाइ छ। तत्काल नाटकघर खुल्ने अवस्था नभएकाले कलाकारहरु कामविहीन छन्। केही कलाकार भने शर्ट फिल्म निर्माणमा लागेका छन्। यस्तो अवस्थामा नाट्य प्रतिष्ठानले पनि विकल्प दिनुपर्ने कलाकारहरु बताउँछन्।
सर्वनाम थिएटरका संस्थापक अध्यक्ष अशेष मल्ल अहिले समाजप्रतिको दायित्वको कारण रंगमञ्च शुरु गर्न नसक्ने बताउँछन्। उनी भन्छन्, “बाहिरको माहाेल हेर्दा सामान्य बन्दै गए जस्तो देखिन्छ। तर, सामान्य बनाउनुपर्ने बाध्यताका कारण बजार खुलेको हो। संक्रमितको संख्या दैनिक बढिरहेको अवस्थामा भीड जम्मा गर्न सकिंदैन।”
आफ्ना विद्यार्थी तथा कलाकारहरुलाई सिर्जनात्मक कार्यमा व्यस्त हुन सुझाव दिएको मल्ल बताउँछन्। अहिले केही कलाकार तथा विद्यार्थीहरु स्क्रिप्ट लेख्न र शर्ट फिल्म बनाउन व्यस्त भएको उनको भनाइ छ।
कौशी थिएटरले बन्दाबन्दीदेखि गर्दै आएको ‘प्लेब्याक’ अहिले पनि जारी छ। जसअन्तर्गत हरेक बुधबार अनलाइनबाट दर्शकको भावना वा कथा सुनेर कलाकारले प्रस्तुति दिन्छन्। महामारीले दर्शक र नाट्यकर्मीबीच कोरिदिएको दूरी छोट्याउने प्रयासस्वरूप कथा घेरामार्फत यो कार्यक्रम चलाइरहेको जनाइएको छ।
यसबाहेक अहिले शर्ट फिल्म बनाउने तयारी थालेको कौशी थिएटरको ‘कथा घेरा’ का संस्थापक अध्यक्ष तथा निर्देशक आकांक्षा कार्की बताउँछिन्। उनी भन्छिन्, “हामी अहिले ‘आई लभ थिएटर’ लेखेको मास्क पनि बिक्री गरिरहेका छौं, यसले रंगमञ्चको प्रचार प्रसार हुनुको साथै थोरै सहयोग पनि मिलेको छ।” रंगमञ्चलाई जगाइराख्न यस्ता वैकल्पिक उपाय थालेको उनी बताउँछिन्।
व्यापार व्यवसाय क्षेत्रमा चहलपहल बढे पनि रंगमञ्च अन्योलकै अवस्थामा रहेको मण्डला नाटकघरकी अध्यक्ष सिर्जना सुब्बा बताउँछिन्। मण्डलाले तिहारपछि सातै प्रदेशमा ‘नाट्य–यात्रा’ गर्ने निर्णय गरेको थियो। तर, परिस्थितिमा सुधार नआएकाले अन्योल बढ्दै गएको सुब्बा बताउँछिन्।
उनी भन्छिन्, “पहिलो चरणको बन्दाबन्दी खुल्दा अब सामान्य हुँदै जान्छ भनेर निर्णय गरेका थियौं। तर, अहिले यात्रामा निस्कने सम्भावना छैन।” अब परिस्थिति अनुसार विकल्प रोज्दै अघि बढ्न छलफल चलिरहेको उनको भनाइ छ।
शैली थिएटरकी संयोजक सरस्वती अधिकारी विषम परिस्थितिमा रंगमञ्चहरुलाई टिक्न नै चुनौती भएको बताउँछिन्। शैलीले बन्दाबन्दीमा निबन्ध प्रतियोगिता, अनलाइन ‘शैली संवाद’ सञ्चालन गरेको थियो। यो वर्ष हुने राष्ट्रिय बाल महोत्सवको १२ औं संस्करण पनि अनलाइनमार्फत गर्न छलफल भइरहेको उनी बताउँछिन्।
नाटक घर खोल्नुभन्दा पनि वैकल्पिक माध्यम अपनाएर अघि बढ्नुपर्ने अधिकारीको भनाइ छ। उनी भन्छिन्, “संक्रमणबाट दैनिक मृतकको संख्या पनि बढ्दो छ। यस्तो वेला जोखिम मोल्नु ठीक होइन भनेर वैकल्पिक माध्यमको प्रयोगबाट कार्यक्रमहरु गर्ने तयारी छ।”
तालिम दिने तयारीमा नाट्य प्रतिष्ठान
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञपरिषद् सदस्य निशा शर्मा अहिले नाटक घर सञ्चालन जोखिमपूर्ण हुने बताउँछिन् । प्रतिष्ठानले हरेक वर्ष दिंदै आएको नाटक सम्बन्धी तालिम भने भौतिक दूरी कायम राखेर सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्। उनी भन्छिन्, “तालिममा भौतिक दूरी कायम राख्न सम्भव भएकाले आयोजना गर्न लागेका हौं। सहभागी संख्या घटाएर खुला हलमा राखेर भए पनि तालिम सम्पन्न गर्छौं।”
तालिमको लागि हल र प्रशिक्षक छनोट गर्ने क्रम चलिरहेको छ। असोजको तेस्रो सातादेखि तालिम दिने तयारी गरिरहेको शर्मा बताउँछिन्। यो वर्ष विभिन्न पाँच वटा प्रदेशमा तालिम दिने तयारी प्रतिष्ठानको छ। नाटक सम्बन्धी पढाइ अनलाइनमार्फत गर्दा प्रभावकारी नहुने हुँदा भौतिक रुपमा नै गर्न लागिएको उनले बताइन्।